
काठमाडौं । पछिल्ला महिनाहरूमा विश्वभर विभिन्न प्रविधि क्षेत्रका कम्पनीहरूले हजारौँको संख्यामा कर्मचारी कटौती गरेका छन्, यो प्रक्रिया अझै जारी पनि छ ।
कोभिड–१९ को महामारीपछि सुरु भएको कर्मचारी कटौतीको लहरले सन् २०२३ मा पनि चलिरहेको छ । यसवर्ष गुगल, अमेजन, माइक्रोसफ्ट, याहु र अमेजनजस्ता ठूला एवं चर्चित कम्पनीहरुले हजारौँको संख्यामा कर्मचारी कटौती गरेका छन् ।
यी ठूला कम्पनी मात्रै हैन, स्टार्टअपहरुले समेत आर्थिक वातावरण अनुकूल नभएको र नाफा घटेको भन्दै कर्मचारी कटौती गरिरहेका छन् ।
यसरी भइरहेको कर्मचारी कटौतीले इन्नोभेसनका क्षेत्रमा पर्ने प्रभाव र प्रविधि क्षेत्रका कम्पनीहरुको प्रोफाइलमाथि प्रश्न भने, उठाएको छ । कर्मचारी कटौतीको विषयले अर्थतन्त्रको स्थितिबारे समेत चिन्तित बनाएको छ ।
२०२३ मा मात्रै एक लाख ३९ हजार कर्मचारी कटौती

विभिन्न कम्पनीहरुको कर्मचारी कटौतीको विवरण राख्ने वेबसाइट लेअफ्सडटएफवाईआई (layoffs.fyi) ले राखेको सन् २०२३ मा मार्च १८ सम्मको तथ्यांकअनुसार ५०१ प्रविधि कम्पनीले एक लाख ३९ हजार ६५ कर्मचारी कटौती गरेका छन् ।
सन् २०२२ मा एक हजार ५१ कम्पनीले एक लाख ६१ हजार ४११ कर्मचारी कटौती गरेको तथ्यांक यो वेबसाइटसँग छ । कोभिड–१९ को महामारीपछि विभिन्न कम्पनीहरुको कर्मचारी कटौतीको तथ्यांक राख्न यो स्टार्टअप सुरु भएको थियो ।
सबैभन्दा धेरै कटौती प्रमुख टेक कम्पनीमा
माइक्रोसफ्टले गत जनवरी १८ मा १० हजार कर्मचारी हटाउने घोषणा गरेको थियो ।
फेसबुकको मुख्य कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले मार्च १४ मा कम्पनीले १० हजार कर्मचारी कटौती गर्ने हल्लाको पुष्टि गरेका थिए । त्यसअघि, गत वर्षको नोभेम्बरमा फेसबुकले १० हजार कर्मचारी कटौती गरेको थियो ।
विश्वकै ठूलो ई–कमर्स कम्पनीमध्येको अमेजनले पनि गत वर्षको नोभेम्बरदेखि १८ हजार बढी कर्मचारी कटौती गरिसकेको छ ।
फेब्रुअरीमा २६ मा थप २०० कर्मचारी हटाएको ट्विटर एलन मस्कले खरिद गरेपछि कूल कर्मचारीको संख्या ७० प्रतिशतले घटेको छ । गत नोभेम्बरमा ट्विटरले तीन हजार ७०० कर्मचारी हटाएको थियो ।
एरिक्सनले पनि फेब्रुअरी २४ मा आठ हजार ५०० कर्मचारी कटौतीको घोषणा गरेको थियो ।
गिटहबले फेब्रुअरी ९ मा तीन हजार कर्मचारी कटौतीको घोषणा गरेको थियो भने याहुले फेब्रुअरीमै एक हजार ६०० कर्मचारी घटाएको थियो ।
जुमले फेब्रुअरी ७ मा एक हजार ३०० र डेलले फेब्रुअरी ६ मा ६ हजार ६५० कर्मचारीलाई बिदा गर्ने बताएको थियो ।
पिनट्रेस्टले पनि दुई हजार १५० कर्मचारी कटौती गरेको छ । जनवरी ३० मा पेपलले दुई हजार कर्मचारी हटाउने बताएको थियो ।
स्पोटीफाईले जनवरी २३ मा ६०० कर्मचारी कटौती गर्ने सार्वजनिक गरेको थियो । जनवरी २१ मा गुगलको अभिभावक कम्पनी अल्फाबेटले १२ हजार कम्पनी कटौती गर्ने घोषणा गरेको थियो ।
सेल्सफोर्सले जनवरी ४ मा सात हजार कर्मचारी कटौती गर्ने बताएको थियो । एचपीले गत वर्षको नोभेम्बरमा कूल कर्मचारीको १२ प्रतिशत ६ हजार कर्मचारी कटौती गरेको थियो ।
भारतमा पनि लहर
भारतको बहुराष्ट्रिय एजुकेसनल वेबसाइट एवं एप बाइजुजले गत वर्ष दुई हजार ५०० कर्मचारी हटाएको थियो भने, अर्काे अनएकेडेमीले एक हजार कर्मचारी कटौती गरेको थियो ।
यस्तै, खाना डेलिभर गर्ने कम्पनी जोमाटोले पनि गत वर्ष तीन प्रतिशत कर्मचारी कटौती गरेको थियो ।
के यो मन्दीको संकेत हो ?
विश्वका प्रमुख कम्पनीहरुले यसरी ठूलो संख्यामा कर्मचारी कटौती गर्नु अर्थतन्त्रका लागि नकारात्मक सन्देश हो कि भन्ने चिन्ता स्वभाविक हो । यसरी रोजगारी कटौती हुनु व्यक्तिका लागि यो नकारात्मक र तनावपूर्ण भए पनि यो मन्दीको संकेत गर्ने रोजगारी कटौतीको लहर भने नभएको अर्थशास्त्रीहरुको भनाइ छ ।
एडीपी अनुसन्धान संस्थानकी प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले सीएनबीसीलाई भनेकी छन्, “हामी अझै मन्दीमा छैनौँ र यो (मन्दी) नसकिएसम्म मन्दीमा भएको थाहा नहुन सक्छ ।”
अमेरिका, चीन, भारतलगायतका देशहरुको बढ्दो जीडीपी, न्यून वा नबढेको बेरोजगारी दरलगायतले पनि मन्दीको संकेत नगरेको अर्थशास्त्रीहरुको भनाइ छ ।
माइक्रोसफ्टले ओपन एआईको च्याटजीपीटीमा १० अर्ब डलर लगानी गरेको विषयलाई उद्धृत गर्दै एडीपी अनुसन्धान संस्थानकी प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले कम्पनीहरुले कर्मचारी कटौती गरिरहे पनि नयाँ प्रविधि एवं इन्नोभेसनका क्षेत्रमा ठूलो लगानी गरिरहेको बताएकी छन् ।
तर, उत्पादनमुलक क्षेत्रमा कर्मचारी कटौती बढ्यो भने मन्दीको संकेत हुनसक्ने विज्ञहरुको भनाइ छ ।
अमेरिकी अनुसन्धान फर्म क्रिएटिभ स्ट्राटेजिजकी उपभोक्ता प्रविधि विश्लेषक क्यारोलिना मिलानेसीले भनेकी छन्, “यी कुनै पनि कम्पनीहरु अहिले डुब्नेवाला छैनन् । तर, उनीहरुले भविष्यको तयारी गरिरहेका हुनसक्छन् ।”
रोजगारी गुमाएकालाई न्यून चुनौती
यसरी रोजगारी गुमाएकाहरुमध्ये केहीले नयाँ स्टार्टअप सञ्चालन गरिरहेका छन् भने बढीजसोले सजिलै नयाँ रोजगारी पाइरहेका छन् ।
अमेरिकी कम्पनी जिपरिक्रुटरडटकमले गरेको एक सर्वेक्षणले डिसेम्बर र जनवरीमा रोजगारी गुमाएका ५५ प्रतिशतले नयाँ रोजगारी पाइसकेका छन् । धेरैले नयाँ झन् राम्रो रोजगारीको अफर पाइरहेका छन् ।
बढी जसो रोजगारी गुमाएका व्यक्तिहरुले करिब चार महिनासम्म रोजगारीबिना नै पनि बस्न सक्ने गरी भुक्तानी पाएका छन् ।
सन् २०२२ मा कर्मचारी कटौतीको समाचारहरु निकै धेरै आए पनि यो वर्ष अमेरिकामा भने एतिहासिक रुपमा सबैभन्दा कम कर्मचारी कटौती भएको तथ्यांक छ ।
कर्मचारी कटौतीको समाचारहरु निकै धेरै आए पनि अमेरिकी श्रमिक तथ्यांक ब्युरोको विवरणअनुसार विवरण राख्न थालेको सन् २००० देखिकै सबैभन्दा कम कर्मचारी कटौती २०२२ मा भएको छ । अमेरिकामा बेरोजगारी दर ५० वर्षयताकै कम ३.४ प्रतिशत रहेको छ । सबैभन्दा धेरै कर्मचारी कटौती सन् २०२० मा कोभिड–१९ को महामारीका बेला भएको थियो ।