
काठमाडौं । महोत्तरीको बेङ्खडी युवा क्लबलाई फाइनलमा ३–० ले पराजित गर्दै पर्साको वीरगञ्ज युनाइटेडले चन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि जितेको छ । रौतहटको चन्द्रपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा सम्पन्न फाइनलमा वीरगञ्जलाई च्याम्पियन बनाउन कृपा चौधरीले दुई र विवेक चौधरीले एक गोल गरे ।
खेलको ३१औँ मिनेटमा कृपाले गरेको गोलबाट वीरगञ्जले अग्रता बनाएको थियो । ६३औँ मिनेटमा विवेकले गोल गर्दै वीरगञ्जको अग्रता दोब्बर पारे । यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कृपाले टिमको लागि तेस्रो गोल गर्दै वीरगञ्जको सहज जित निश्चित गरे ।
उपाधिसँगै वीरगञ्जले ट्रफीसहित दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको बेङ्खडीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगितामा वीरगञ्जका प्रमिजय गच्छदार उत्कृष्ट गोलकिपर चुनिए । यस्तै, वीरगञ्जकै शिषस थापा उत्कृष्ट रक्षक, अनिश चौधरी उत्कृष्ट मिडफिल्डर, कृपा चौधरी उत्कृष्ट फरवार्ड र सुलभ जंगराना उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले समान १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बेङ्खडीका नीरबहादुर आले चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । चन्द्रपुर नगरपालिकाको सहयोगमा रौतहट जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता थियो ।