site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बलात्कार
Ghorahi CementGhorahi Cement

हेर्दाहेर्दै त्यो भयो त्यो । आँखा च्यातिएको च्यातियै त्यो हेर्न कर परेको थियो । दुई शण्डमुशण्ड मान्छेको पाखुराको कापमा कुच्रिएर उसले त्यो हेर्नुपरेको थियो । उसले त्यो हेर्नुपरेको थियो आफ्नी स्वास्नीमाथिको बलात्कार ।

साँझपख ऊ स्वास्नीसँग रूखको फेदमा अडेस लगाएर बसेको थियो । यताउति झाडी थियो र ठाउँ सुनसान थियो । ऊ स्वास्नीको चुरासँग खेलिरहेको थियो । साँझपख केही रमाइलो थियो ।

अचानक कसैले उसलाई समाएर तान्यो । बल गरेर फुत्कन खोज्दाखोज्दै पनि एक झट्कामा ऊ पर पुगिसगेको थियो र दुई जना मानिसको पाखुराको कापमा परेर ऊ निसास्सिरहेको थियो ।

Agni Group

उसले त्यो हेर्नुपरेको थियो त्यो आफ्नी स्वास्नीमाथिको बलात्कार ।

ऊ रामेश्वरमान अहिले कोठामा छ, आफ्नो कोठामा । उसले चिम्लेको आँखा खोल्यो । यो उसको कोठा । ऊ कोठैमा छ । यो उसको कोठा । त्यहाँ झ्याल छ, त्यहाँ ढोका छ । त्यहाँ बाकस छ । त्यहाँ सानो दराज छ । त्यहाँ एउटा भाँचिन लागेको मेच पनि छ ।

Global Ime bank

हो, सबै त्यही छ, केही फरक छैन । ऊ यहीँ आफ्नै बिछ्यौनामा बसेको छ । अनि उसको आँखा कुनामा कुच्रिएर, डल्लिएर बसेकी स्वास्नीमाथि पर्यो । त्यो उसकी स्वास्नी लिली ।

कति असहाय रामेश्वरमान ! कति कमजोर रामेश्वरमान ! कति पुरुषत्वहीन रामेश्वरमान ! कुच्रिएर, डल्लिएर बसेकी लिली केही चली । घुम्लुङ्ग ओढ्नेले छोपिएको अनुहारको छेस्को देखियो । कति असहाय, कति निरीह उसकी स्वास्नी लिली ।

लिली अहिले झस्केर बिउँझी । तिरमिराएको आँखाले कोठाको उज्यालोलाई एकछिन हेरिरही मानौँ ठम्याउन खोजिरहेकी थिई यो उज्यालो के साँच्चिकै उज्यालो हो ।

ऊ उठेर बसी । कोठाको चारैतिर हेरी । उसले आफ्नो लोग्नेलाई आफूतिर हेरिरहेको देखी । उसले झट्ट आँखा ओराली । फेरि कुच्रिएर लिली डल्लिएर सुन्न खोजिरहेकी थिई ।

रामेश्वरमान अहिले बोल्यो, “भो, अब उठ ।”

लिली सुनेको नसुन्यै गरी कुच्रिएर, डल्लिएर सुतिहाली ।

रामेश्वरमान बोल्न खोजिरहेको थियो, ‘जे, भो भो ! त्यो सब बिर्स ।’ तर ऊ बोल्न सकेन र त्यस्तै असहाय किसिमले आफ्नी स्वास्नीको डल्लिएको आकारलाई हेरिरह्यो ।

यो घरको यो डेरामा रामेश्वरमानको लिलीबाहेक को छ र आफन्त भन्ने ! त्यस्तै लिलीको निम्ति पनि लोग्नेबाहेक अर्को को छ र यो डेरामा आफन्त ! जिउनैपर्छ, जीवननिर्वाह गर्नैपर्छ । अरू के चारा छ ! मर्नु भएन ।

दुवैले दुवैलाई हेर्थे केही आँखा उघारेर, केही आँखा झुकाएर ।

रामेश्वरमान दाल–चामल किनेर ल्याउँथ्यो अघिजस्तै । लिली स्टोभमा भात पकाउँथी अघिजस्तै । लिली भात पस्कन्थी अघिजस्तै, रामेश्वरमान भात खान्थ्यो अघिजस्तै ।

फरक यति थियो लिली लोग्नेले थालमा भात मुछेको हेरिरहेकी हुन्थी र लोग्ने लिलीलाई हेर्न नखोजेर गाँस चपाइरहेको हुन्थ्यो । दुवै आपसमा कुरा गर्दागर्दै परपर पुगेजस्तै हुन्थे । दुवै त्यो डेरामा जिएर बसिरहेका थिए । फरक यति मात्रै थियो लिलीलाई सबै कुरा बिटुलो–बिटुलो लागिरहेको थियो र रामेश्वरमान असहाय भएर लिलीको त्यो सदा बिटुलो–बिटुलो पन्छाएको हातलाई हेरिरहन्थ्यो ।

रामेश्वरमान खटियामा सुत्थ्यो । लिली अलि पर ढोकानिर सुत्थी । दुवै आपसमा छोइएला भनेर हच्कीहच्की हिँड्थे र हच्कीहच्की बस्थे । सँगै टाँसिएर सुत्ने कुरै भएन ।

रामेश्वरमान शरीरले पनि यति कमजोर, शक्तिहीन भएको थियो कि ऊ पुरुषत्वहीन भएर स्वास्नीलाई हेरि मात्रै रहेको हुन्थ्यो ।

तर धेरै दिनपछि आज रामेश्वरमानमा केही उत्साहको स्फुरण भएको थियो । युगौंयुगपछि आज उसले मिटठूलाई देखेको थियो, भेटेको थियो । मिट्ठूले उसलाई चिनी र बोली ।

मिट्ठूको पति पनि यही सहरमा बस्छ र एउटा ठूलो व्यापारी । धेरै दिनपहिले रामेश्वरमान मिट्ठूको सौन्दर्यप्रति आकर्षित भएको थियो र उसलाई त्यो अनुहार सधैँ हेरिरहूँ लाग्थ्यो । मिट्ठूले उसलाई वास्ता गरेकी छ, छैन त्यो उसलाई कहिल्यै थाहा भएन ।

आज मिट्ठूले उसलाई चिनी र बोली । त्यसपछि ऊ केही हल्का भएर अफिसमा गएको थियो । अफिसमा पनि हाकिमले उसलाई मात्र माया गरेर हेरेको लाग्यो र केही बढी माया गरेर बोलेको लाग्यो ।

आज उसलाई आफ्नो दयनीय अनुहार दयनीय लागेन । आज ऊ उत्साहित भएर घरभित्र पसेको थियो । त्यस्तै उत्साहित भएर उसले जुत्ता फुकाल्यो, खटियामा बस्यो र लिली पहिलेजस्तै हच्कीहच्की केही पर भैँमा चिया राख्न खोजेको देखेर उसले साहसपूर्वक अर्हायो, “खोइ, यता हातैमा देऊ न ।”

लिलीले चकित भएर लोग्नेलाई हेरी, तर ऊ चिया त्यहीँ पर भैँमा राखेर कोठाबाहिर निस्की ।

हिजोअस्तिझैँ साँझ पर्यो । कोठामा बत्ती बल्यो, लिलीले भात पकाई र भात पस्किदिई । रामेश्वरमान भात खाइरहेको थियो । उसभित्र स्फुरण भएको उत्साह अझै मरेको थिएन ।

उसले आफ्नो भात मुछिरहेको हातलाई एकनाससँग हेरिरहेकी लिलीलाई पुलुक्क हेर्यो । दुवैको आँखा जुध्यो । लिलीको आँखा अझै चकित थियो । आज उसले लोग्नेको आँखामा अपूर्व भाव नाचेको देखी ।

सुत्ने बेला भयो हिजोअस्तिजस्तै रामेश्वरमान सुत्न भनेर खाटमा बस्यो । त्यस्तै लिली सुत्ने तरखरमा आफ्नो ठाउँ ढोकानिर भँैमा बसी । रामेश्वरमान अझै सुतेन, बसिरह्यो र सुत्ने तरखर गरेकी आफ्नी स्वास्नीलाई हेरिरह्यो ।

लिलीले धेरैबेरसम्म लोग्ने नपल्टेको चाल पाएर चकित भएर उसतिर हेरी । दुवैको आँखा जुध्यो । लिलीको आँखा चकितको चकितै थियो तर रामेश्वरमानको आँखा हिजोअस्तिजस्तो थिएन अर्कै थियो । अर्कै, एकदम भिन्न ।

हो, रामेश्वरमानले आफ्नी स्वास्नीलाई मानौँ भर्खर देखेको हो, हेरिरह्यो । मानौँ उसले लिलीलाई भर्खर देखेको हो हेरिरह्यो । त्यसै बखत अचानक मिट्ठूको सौन्दर्य बिजुलीझैँ उसको आँखामा चम्क्यो । तर उसले लिलीलाई हेरिरह्यो । एकदम निसास्सिएको मौनता छायो ।

अचानक बिजुली चम्केझैँ उसले आफ्नी स्वास्नी बलात्कृत भएको देख्यो । उसको विस्फारित नेत्रले हेरेको (त्यो मान्छे) लिलीमाथि हुन खोजेको त्यो दृश्य देख्यो । रामेश्वरमान जुरुक्क खटियाबाट उठ्यो । एकदम उत्तेजित भएर ऊ स्वास्नी लिलीनिर पुग्यो र त्यस्तै मदोन्मत्त भावले स्वास्नी लिलीलाई समाउन पुग्यो ।

लिली आतङ्कित भएर जुरुक्क उठी र एकै निमेषमा लोग्नेको कब्जाबाट उम्की तर लोग्ने ऊनिर पुगिसेकको थियो र उसलाई समाइसकेको थियो । मानौँ लिली फेरि बलात्कृत हुँदै छ ।

उसले लोग्नेको हात टोकी, नाडी टोकी र त्यही वेगमा आफ्नो कपाल आफैँ लुछी । ऊ मानौँ लोग्नेको कब्जाबाट फेरि फुत्की । उसले वेगमा आफ्नो कपाल आफैँ लुछी । मानौँ ऊ अट्टहास गरेर चिच्च्याउन चाहन्छे ।

उसले आफ्नो झाँक्रो फिँजाई, भैँमा खुट्टा बजारी र दुवै हातको मुड्कीले लोग्नेको छातीमा चिच्च्याई चिच्च्याई ठोकी । युगौँयुगदेखि सञ्चित पुरुषको पौरखप्रतिको निरीह नारीको घृणा र आक्रोश एकैचोटि फुटेर बाहिर निस्केको थियो ।

मानौँ पृथ्वी कम्पायमान गरेर प्रलय गर्न चाहन्छे, उसले भैँमा खुट्टा बजारेको बजार्यै लोग्नेको छातीमा मुड्की बजारिरही, बजारिरही ।

(‘गोठाले’को ‘बाह्र कथा’ बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC