काठमाडौं । रूस–युक्रेनबीचको युद्धमा पूर्वी युक्रेनमा रूसी आक्रमण कमजोर देखिएको बेला भाडाको सेना वाग्नरले भने डोनेट्सको बाख्मुट सहरमा आफ्नो लडाइँ झनै बलियो बनाएको छ ।
युक्रेनी कर्नल ओलेक्सी दिमित्रास्किभस्कीले अघिल्लो हप्ताको तुलनामा रूसले भूमिमा गरिरहेको आक्रमण घटेको बताएका छन् ।
पछिल्लो हप्ता रूसी आक्रमण प्रतिदिन एकसयबाट घटेर ३० को हाराहारीमा पुगेको र रातिको समय हुने आक्रमण दुईदेखि नौँको बीचमा रहेको उनले बताएका छन् । यसबाट रूसी पक्षले महत्वपूर्ण सैन्य बल र हतियार गुमाएको अनुमान दिमित्रास्किभस्कीको छ ।
वासिंगटनस्थित थिंक ट्यांक, युद्ध अध्ययन संस्थान (आईएसडब्ल्यू)ले पनि डोनेट्स्कको छिमेकी लुहान्स्क क्षेत्रमा रूसी आक्रमण कमजोर हुँदै गएको जनाएको अलजजिराले लेखेको छ ।
आईएसडब्ल्यूले रूसी बलले लुहान्स्क ओब्लास्ट क्षेत्रमा पछिल्लो साता निकै थोरै मात्रै प्रगति हासिल गरेको बरु युक्रेनी पक्षले बलियो काउन्टर अट्याक गरेको जनाएको छ ।

बेलायती रक्षा मन्त्रालयले आफ्नो पछिल्लो इन्टेलिजेन्सी अपडेटमा डोनेट्स्क क्षेत्रको वुहलेदार वरपरको लडाइँमा पनि सुस्त भएको र बाख्मुट क्षेत्रमा मात्रै रूसी पक्षको सफलता देखिएको बताएको छ ।
युद्ध अध्ययन संस्थान आईएसडब्ल्यूले रूसले अहिलेको पूरै युद्धमा खासै धेरै सफलता हात नपारेको भनेको छ । युद्धमोर्चामा अपरेसन सुस्त हुँदा युक्रेनी बलले गुमाएको भूमि फिर्ता ल्याउन सक्ने सम्भावना बढेको देखिन्छ, आईएसडब्ल्यूले भनेको छ ।
तर, रूस र युक्रेन दुवै पक्षले अत्यधिक सेना र अन्य स्रोत लगानी गरेको डोनेट्स्कको बाख्मुट सहरमा भने लडाइँ तीव्र हुँदै गएको छ ।
क्षेत्रीय ट्रान्सपोर्ट र लजिस्टिक हबका रुपमा रहेको बाख्मुट सहर रूसले कब्जा गर्याे भने यो मास्कोका लागि ठूलो सफलता हुनेछ । यतिमात्रै नभएर अर्का दुई ठूला सहर क्रामास्टोस्र्क र स्लोभियान्स्कतर्फ आक्रमण गर्नका लागि पनि रूसका लागि यो महत्वपूर्ण जित हुनेछ ।
तर, युक्रेनी पक्षले बाख्मुटको पतन हुँन नदिन रूसविरुद्ध चर्काे लडाइँ जारी राखेको छ ।