site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
बधाई टिम नेपाल 

पछिल्लो एक महिना उत्साहजनक प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टोलीले बिहीवार घरेलु मैदानमा युनाइटेड अरब इमिरेट्सलाई ‘डकवर्थ लुइस‘ पद्धतिमा हराउँदै आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहन सफल भएको छ । यस जितसँगै नेपालले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाएको छ । 

एक महिनाअघिको नेपाली क्रिकेटको अवस्था हेर्दा नेपालले शीर्ष तीन होइन, आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि जोगाउन सक्दैन कि जस्तो लाग्थ्यो । तर, भारतीय प्रशिक्षक मोन्टी देसाईले नेपालको प्रशिक्षण सम्हालेपछि टिमको प्रदर्शनमा नाटकीय परिवर्तन आयो । 

क्यानडाका पूर्वमुख्यप्रशिक्षक तथा वेष्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक देसाईले ३८ दिनअघि नेपाली टोलीको जिम्मेवारी सम्हालेपछि खेलेका १२ मध्ये ११ खेल नेपालले जितेको छ । त्यही सफलताबाट नेपालले आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता त जोगायो नै आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहेर जिम्बाब्वेको यात्रा पनि पक्का गर्यो । यस प्रतियोगिताबाट स्कटल्यान्ड र ओमानले यसअघि नै विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेका छन् । 

नामिबिया, पपुवा न्युगिनी (पीएनजी), अमेरिका र यूएईले अब नामिबियामा २४ मार्चदेखी ४ अप्रिलसम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । जहाँ आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिगबाट क्यानडा र जर्सी थपिनेछन् । ६ टिमले प्रतिस्पर्धा गर्ने प्लेअफबाट शीर्ष दुई टिम पनि जिम्बाब्वेमा हुने छनोट प्रतियोगितामा समावेश हुनेछन् । 

जिम्बाब्वेमा हुने उक्त आईसीसी विश्वकप छनोट प्रतियोगितामा क्रिकेट विश्वकप सुपर लिगको पुछारमा रहने पाँच टिम पनि हुनेछन् । सुपर लिगमा आईसीसी १२ पूर्ण सदस्य र आईसीसी क्रिकेट विश्वकप लिग च्याम्पियन बनेको नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसबाट जिम्बाब्वे र नेदरल्यान्ड्स तल झर्ने पक्का छ । अन्य टिमको टुंगो लाग्न बाँकी छ । 

विश्वकप छनोट प्रतियोगिताबाट शीर्ष दुई टिमले भारतमा आगामी अक्टोबर नोभेम्बरमा हुने एकदिवसीय विश्वकपमा स्थान पक्का गर्नेछन् । 

नेपाल पछिल्लो १२ मध्ये एक खेलमा मात्र पराजित भयो । उक्त एक हार २ मार्चमा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न यूएईविरुद्ध ६८ को हार थियो । त्यसबाहेक नेपाल सबै खेलमा विजयी रह्यो । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेको थियो । टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । ३११ रनको लक्ष्य नेपालका लागि सहज थिएन । त्यसमाथि नेपालले सुरुमै तीन विकेट गुमायो । आसिफ शेख, कुशल मल्ल र कप्तान रोहितकुमार पौडेलले लामो इनिङ्स खेल्न सकेनन् । 

रोहित ६.५ ओभरमा आउट हुँदा नेपाल ३७÷३ को स्थितिमा थियो । त्यहाँबाट कुशल भुर्तेल र भीम सार्कीले नेपालको इनिङ्स सम्हाले । दुईले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । कुशल ५० रन बनाएर आउट भएपछि युवा खेलाडी भीमले महत्त्वपूर्ण इनिङ्स खेले । उनले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ८३ रनको साझेदारी गरे । भीम आफैँ ६७ रन बनाएर पवेलियन फर्किए । 

त्यसपछि आरिफले गुल्सन झासँग ४४ रनको साझेदारी गरे । आरिफ ५२ रन बनाएर पवेलियन फर्किए । दिन ढल्कदै थियो । वर्षाको सम्भावना पनि बढ्दो थियो । त्यस्तो अवस्थामा खेलको नतिजा डकवर्थ लुइस पद्धतिबाट आउने पक्का थियो । डकवर्थ लुइस पद्धतिमा गए नतिजा नेपालको पक्षमा थिएन । क्रिजमा गुल्सन र दीपेन्द्रसिंह ऐरी थिए । 

गुल्सनले ४२औं ओभरको तेस्रो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन बलमा चौका हानेपछि नेपालको दबाब कम भयो । डकवर्थ लुइस पद्धतिमा गए पनि नेपालको जित पक्का भयो । त्यस हिसाबमा गुल्सन आजको खेलमा नायक बने । ४४ ओभर सकिँदा खेल खेल्न सम्भव भएन । डर्कवर्थ लुइस पद्धतिमा नेपाल ९ रनले विजयी भयो । 

खेल सम्भव नभए पनि यूएईका खेलाडीले अझै खेल्नुपर्ने माग गरेका थिए । उनीहरूलाई नतिजा आफ्नो पक्षमा ल्याउने आशा थियो । तर, अम्पायरले खेल सम्भव नभएको सुनाएपछि यूएईका खेलाडी निराश भएका थिए । उनीहरूले त्यसमा आक्रोश पनि पोखे । 

अन्तिम क्षणजस्तो बने पनि नतिजा नेपालको पक्षमा आइसकेको थियो । नेपालको जिम्बाब्वे यात्रा तय भइसकेको थियो । नेपालको यो यात्रामा अनेक संयोग हुन सक्छन् । तर, यसको पहिलो श्रेय मुख्य प्रशिक्षक देसाईलाई जान्छ । जसले टिमलाई एकजुट र एकताबद्ध बनाई खेलाडीको मनोबल उच्च बनाए । अनि खेल जिताए । 

देसाई सारथी थिए । मैदानमा उत्रेका खेलाडीको प्रदर्शनविना सबै असम्भव थियो । त्यसकारण यो ऐतिहासिक यात्राको नायक खेलाडी हुन् । उनीहरू लाखौं समर्थकको अनुहारमा खुसी ल्याउने मुख्य पात्र हुन् । बधाई छ सबै नेपाली खेलाडीलाई । आगामी खेलको शुभकामना ।

राजनीतिक अन्योल र आर्थिक निराशाका बीचमा नेपाली जनताले खुसी हुने मौका पाए । यसका लागि खेलाडी र मुख्यप्रशिक्षकलगायत सम्बद्ध सबै धन्यवादका पात्र भएका छन् । यसले पुनः क्रिकेटलगायत सम्भावना भएका खेलमा राज्यले लगानी र सुविधा बढाउनु उचित हुने पुष्टि भएको छ । खेलाडीको मनोबल उकास्न उपयुक्त उपायहरु अपनाउन सरकार पनि अगाडि सरोस् ।  
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २१:०२