
काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)का आयोजकले सरकारले चलचित्र महोत्सवहरूलाई सहयोग नगर्ने गरेको गुनासो गरेको छ । निफका अध्यक्ष केपी पाठकले चलचित्र महोत्सव सञ्चालन गर्न कठिन हुने गरेको बताए ।
“फिल्म फेष्टिभललाई सरकारसँग जोडेर कुरा गर्दा सधैँ एउटै कुरा दोहोर्याउनु पर्छ,” अध्यक्ष पाठक भन्छन् । नेपाली कला, संस्कृति, भाषालाई अन्तर्राष्ट्रियकरण गर्ने फिल्म फेष्टिभललाई सरकारले नजरअन्दाज गर्दै आएको उनको गुनासो छ ।
भोलि चैत २ देखि ६ गतेसम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै छ । यसको सम्पूर्ण तयारी पूरा भएको निफले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने निफमा ५५ देशबाट आएका ५०० भन्दा बढी चलचित्रबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट गरिएको छ । यी सम्पूर्ण चलचित्र प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित सिनेमा हलहरूमा देखाइनेछ ।
“काठमाडौंको सिभिल मल र छाया सेन्टर, पुलचोकको लविङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा चलचित्र प्रदर्शन गरिनेछ ।
छैटौं निफको ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ ( अप्रतियोगी) प्रदर्शन हुनेछ ।
विगतमा झैँ यस पटक पनि सात विधामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश छन् ।
यस पटकको निफमा रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइएको छ । फेष्टिभलमा मास्टर क्लासका साथै विभिन्न प्यानल डिस्कसन हुनेछ ।
निफका प्रमुख सल्लाहकार नीर शाहले फेष्टिभलले दूरगामी प्रभाव पार्नेमा ढुक्क रहन आग्रह गरे । उनले पनि सरकारले महोत्सवमा सहयोग नगरेको गुनासो गरे । महोत्सवमा देखाइने चलचित्र विश्वका सिनेमा अध्ययन गर्ने ठूलो पाठ्यक्रम सरह भएको भन्दै उनले चलचित्रको प्रदर्शनमा धेरैको सहभागिता हुने अपेक्षा गरे । उनले सिनेमा मेकरलाई विदेशी चलचित्रकर्मीसँग सहकार्य गरेर काम गर्न आग्रह पनि गरे ।
अध्यक्ष पाठकले महोत्सवमा ५० भन्दा धेरै इन्टरनेसनल फिल्म मेकर विदेशबाट आउने जानकारी दिए ।