
माया
मैले त उनीलाई
अब कहिले भेट्दिन होला भन्थेँ
तर होइन पो रहेछ
उनी त मेरो ओठभित्र
लामो सुस्केरा बनेर बसिछन्
उनी त मेरो परेलीभित्र
आँसु बनेर बसिछन्
उनी त मेरो छाया बनेर
पछ्याउँदै पो आइछन्
उनी त मेरो माया बनेर
हृदयभित्र पो बसिछन्
बिछोड कसलाई मन पर्छ र मिलन मन पर्नेलाई
बगर कसलाई मन पर्छ र हरियाली मन पर्नेलाई
मभित्र उनको माया कसरी बसेछ
उनको मायाको धड्कन
मभित्र अझै छामिरहेछु !
सपना
मैले मिठो कल्पना गरेको बेला
आँखामा सुन्दर सपना आइदिन्छ
विपनाको बेला
मेरो सुन्दर सपना
भागीभागी हिँड्छ
यही कारण हो
म सुन्दर सपना नदेखूँ भन्छु

किनकि,
मलाई मेरो सुन्दर सपना
विपना भएको मात्र
देख्न मन लाग्छ !
(भर्जिनिया, अमेरिका)