गुम्स्याइभित्रै स्वर फुट्छ । आतङ्क । भित्रको अस्तव्यस्त ऊ पहिल्याउन सके–सकेजस्तो हुन थाल्छ । त्याग्छ एउटा विकटता । निःसन्देह नै यो उसको सधैँको सुरुआत हो जो विस्तार पाउँदैन । अलमल्याइ त्यसमा ऊ अभ्यस्त छ । यसो भएर पनि लाग्छ, कता–कता एउटा विकटता ऊसित सधैँ टाँसिएको छ । बस दगुरी नै राख्छ ।
बीच–बीचका कतिका स्टपहरूमा पनि ऊ ओर्लने हेक्का लिँदैन, बसभित्र धेरै मान्छेहरू ऊसितै दगुरिरहन्छन् । मान्छे सबै निरुद्देश्य नै रहेछन् । मान्छे र निरुद्देश्यता एउटा पटाक्षेप अर्को सापेक्षित जिन्दगीको कुराइमा ! लामो कुराइ र आलस्यको हाई यसैको बीच लाग्छ, बस सर्भिसको निरन्तरतासित उसले एकछिन आफ्नो निर्वाहको बहाना पाएको हुन्छ ।
बस, विसङ्गति–सङ्गति अनि ऊ अनुभव गर्छ, सङ्गति एउटा उद्देश्यविहीन स्थितिमा पनि मिल्न सक्छ । ऊ एउटा अवाक् मान्छे । यस्तो मौन स्थितिमा कुनै किसिमको तारतम्य नखोज्नु या कुनै अल्टिमेटमको जोगाड नगर्नु अवश्यै सङ्गति हो । ऊ यस्तोको भुक्तभोगी हो । विकारशून्य तथा प्रतिक्रियाशून्य घडीमा कतिबाट ऊ निकम्मा, बौलाहा हुन पुगेको छ ।
सधैँ–सधैँ फ्रिजबाट निकालेको ककटेलको गिलाससित ऊ चिसिइरहन्छ र सायदै त्यसलाई ऊ कहिल्यै हात लगाउँछ । ‘हुतीहारा’ अनि ऊ टेबुलवरिपरिकाको रिमार्क बन्न पुग्छ । लाग्छ, यो फेरि विस्फोट हो । गुम्स्याइभित्रै ऊ अरू अन्यमनस्क हुन थाल्छ, ऊ त आफैं एउटा शून्य अन्तरिक्ष भइसकेको छ जहाँ परमाणुहरू स्वयम् निकम्मा हुन्छन् ।
छुट र निषेधका साँधहरूमा उसका जिन्दगीका सम्भावना र भवितव्यहरूले आत्महत्या गरिसकेका हुन्छन् । आत्महत्याको स्तब्ध क्षणसित उसले सहजता ग्रहण गरेको हुन्छ । ग्रहणको विस्तारमा ऊ रातदिन यस्तै अन्त्यहीन हिँडाइ हिँड्छ जो सम्पूर्णतः उद्देश्यहीन नै हुन्छ । उसका हिँडाइका बाटाहरू, पाइलाहरू र ऊ स्वयम् गुज्रेका भीडहरू विकटतासित सन्धि गरिदिन्छन् ।
बरफका चपरी–चपरीमा एस्किमोका ढ्याब्रे पाइतालासित जमेको ऊ अर्को पाइताला मरुभूमिको ऊ अर्को तडप । स्लेजका जंगली कुकुरहरूलाई ऊ खुकुलो गरिदिन्छ । उँटहरूलाई ऊ कस्छ, हिँडाइलाई दुर्गमता र सुगमतासित ऊ नाप्दैन । वसन्ती आकाशमुनि ऊ पुग्छ ।
एउटा अग्लो फिरोजी चट्टानमा ऊ उक्लेको हुन्छ । करोडौँ जीवाणुहरू यसै चट्टानमा रेखा कोर्दै घिस्रेका हुन्छन् — ऊ अर्को रेखा । स्लेजका जंगली कुकुर र मरुभूमिका उँटहरू बेतोड दगुर्छन्, कसिन्छन् । वसन्ती र फिरोजी रङमा डुबेर ऊ बेग्लै एब्स्ट्रयाक्ट रङको अपेक्षा गर्छ । स्लेजका कुकुर र उँटहरू आदिम इतिहासलाई अन्धाधुन्ध दगुराउँदै लैजान्छन् ।
चट्टानका ताजा रेखाहरू फेरि–फेरि फोसिल बन्ने उपक्रम लिन्छन् । नेपथ्यमा पस्रेको उसको अँजुली भरिँदैन । रङहरूको एब्सटर्याक्ट मिश्रण र उसले भोगेको अधकल्चो र अधमरो संस्कृति — युगौँ लामो विश्वासपछि पनि ऊ त्यताबाट लावारिस बन्न पुग्छ । स्खलित आस्था र भीषण रङरूपमा ऊ फिरोजी भएर फोसिल र चट्टानहरूबाट सर्छ ।
सधैँको केही न केही उपक्रम उसको एक प्रकारको यस्तै सुरुआत हुन्छ । सुरुआत — मान्छेको एउटा मौकाले फाँसी पाएको सुरुआत र सानो मोजाभित्र निसास्सिँदा पलायन स्वीकृतिको मृत्युदण्डको विकट सुरुआत जसमा उसले आफ्नो वर्गको इतिहासलाई अभ्यस्त बनाएको छ । स्लेजका कुकुर र मरुभूमिका उँटहरूलाई लिएर ऊ टेबुलसम्म पुग्छ । रङ्गिन साँझ । कतै–कतै ऊसित बाँकी भएका सहजताका केही शृङ्खलाहरू पनि टुट्दै गएजस्ता हुन्छन् ।
विशाल टेबुलसामुन्ने ऊ झन् मूर्ख र अवाक् देखिन्छ । सतर्क हुने क्षण पनि ऊ खोज्दैन । एउटा अपूर्व कुरा यसैबीच हुन्छ । सायद ऊ कुनै चुम्बकीय तत्त्व हो र वरिपरिका मूकताहरू ऊसित आएर मिल्छन् । ऊ अनुभव गर्छ, यी रिमार्क दिनेहरूलाई एस्किमोका ढ्याङ्ग्रे पाइताला र फिरोजी चट्टानप्रति स्वीकृति छ । फोसिल र रेखाहरूमा विग्रह देखिँदैन ।
यो विग्रहशून्यता ऊ अड्न सक्ने आदिम प्रवृत्ति हो, तथापि एक ठाउँमा ऊ सङ्गतिको नयाँ जोगाड गर्छ । इतिहासको आयतनसित ऊ बाँच्दैन । ऊ घमन्डी मान्छे । अनेकौँ बाट एउटा एउटा आयतन थपिएको इतिहास । त्यसमा अर्को आयतन टालेर एउटा चिरको झुत्रोलाई जस्तै उसले त्यसलाई नाङ्गो आकाश–लिङ्गमा बेरिदिएको छ ।
को मान्छे त्यति फोहोरी, अश्लील र नपुंसक हुन्छ ? तर सामर्थ्य र श्लीलताको हत्या गर्न ऊ बाध्य हुन्छ । नभन्दै जोगाड र सुरुआतमा कति चोटि ऊ आफूसित अपराधी घोषित भइसकेको छ, तर पनि ऊ यस अर्थमा अहङ्कारी हो कि स्लेजका जंगली कुकुरहरूलाई ऊ अन्धाधुन्ध हाँक्न सक्छ ।
फिरोजी चट्टानदेखि वसन्ती आकाशको बीचसम्मको एब्स्टर्याक्ट रङविधानलाई ऊ भुल्न सक्दैन । उसको टेबुलमाथि ककटेलका आत्महत्याहरू थुप्रन्छन् । फ्रिजभित्रका ती लाससित संशयका अझ केही रातहरू कठ्याङ्ग्र्रिएरै बितेका हुन्छन् । ऊ पनि बित्छ रातहरूसित र आफ्ना बेनामी अस्तित्वका भुरभुराउँदा राँकाहरूसित ।
एक रात फ्रिजको ठिहिरÞ्याइमा एउटा सिङ्गो भूभाग करोडौँ मान्छेको एउटा सिङ्गो मुठो र तिनका एकाइहरू अनि स्वयम् ऊ मानवीय रूढिदेखि छुट्टिन्छन् । असम्बद्धताले सम्पूर्ण उसलाई एकातिर ओगट्छ । असम्बद्धता – एउटा आत्महत्याको खण्ड । असम्बद्धता – एउटा सहज निर्वाहको स्थिति ।
पिलपिलाउँदो मानवीयता – एउटा नाइटनेरजत्तिकै त्यसप्रति ऊ सम्भ्रम हुन्छ । असम्बद्धता, मृत्युखण्ड र निर्वाहका प्रत्येक एकाइमा ऊ छरिन्छ । स्लेजका जङ्गली कुकुरहरूलाई ऊ हाँक्दै लान्छ फिरोजी चट्टान र एस्किमोका पाइलादेखि माथि वसन्ती आकाशतिर ।
फ्रिज र ककटेलका लासले मृत्युबोध र सीमा निश्चित गर्छ — जीवन अर्को नयाँ सेटिङ । एब्स्ट्र्याक्ट रङका अतिरेक अब्सेसनहरूमा ऊ आत्मरत हुन्छ । सङ्गति=टुट्नु । अब ऊ विकटता नजिकै हुन्छ ।
उसको सहजता केवल अब्सेसज र आत्मरति । एउटा मोडमा ऊ झट्का खान्छ । बसमा ऊ एक्लै पर्छ र ओर्लेकाहरूको चिपचिपे हाईसित अभ्यस्त हुन थाल्छ । उसलाई साँच्चै कतै पनि त ओर्लनु छैन । बसभित्रको चिपचिपे हाई र काखीको दुर्गन्धमा एउटा नाइटनेर अझै खप्न यो सक्छ ।
फिरोजी चट्टानदेखि पर यतीका पाइतालाहरू ऊ अझै नाप्न सक्छ । मोड्न सक्छ । ऊ फेरि बाह्रसिङेहरूलाई बटुल्छ । अनकन्टारतिर हाँक्छ ।
(शाहको कथाकृति ‘पहेँलो गुलाफ’बाट)