आठ मार्चका दिन संसारभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाइन्छ । यस दिवसलाई संयुक्त राष्ट्रसंघ महिला नामक संस्थाले आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धि र समस्यामा छलफल गरी मनाउँदै आइरहेको छ । महिला दिवसको यस वर्षको नारा लैंगिक समानताका लागि प्रविधि र नवीनता रहेको छ ।
अर्कातिर, यस्ता दिवसले समग्र उत्पीडित महिला विषेशगरी गरिब मुुलुकका महिलाको अवस्थामा अपेक्षित उपलब्धि हासिल हुनसकेको छैन भन्ने मत राख्ने अभियानकर्ताको उपस्थिति पनि बाक्लै देखिन्छ ।
यस्ता दिवसहरु मनाइरँहदा पनि अल्प विकसित मुलकका, विशेषगरी अश्वेत, अफ्र्रिकी र दक्षिण एसियाका दलित महिलाको अवस्था किन अत्यन्त निरीह छ भन्ने ठूलो प्रश्न उठिरहेकै छ । किन यी महिलाहरुको शिक्षा, स्वास्थ्य, आम्दानीजस्तै व्यक्तिगत जीवन अन्य महिलाभन्दा कमजोर छ ? किन उनीहरुको सार्वजनिक जीवन हेलोहोचो, उत्पीडन, हिंसा, बलत्कारबाट गुज्रिरहेको छ ? भन्नेजस्ता अनेक सबालहरु देखिन्छन् । जसरी संसारमा विविधता रहेको छ र विभेदमा पनि विभिन्नता देखिन्छ ।
त्यसैगरी महिलाहरुबीच पनि विविधता रहेको छ । सबै प्रकारका महिलाहरु लंैगिक हिंसाबाट उत्पीडित रहे पनि यो उत्पीडनको क्षेत्र र मात्रा फरक हुन्छ । सोहीअनुसार यस्ता दिवसहरुले अभियान सञ्चालन गर्नुपर्छ भन्ने उनीहरुको बुझाइ छ ।
महिलामाथि हुने उत्पीडन र शोषणविरुद्ध संसारमा महिलाहरुले सदियौँदेखि आआफ्नै प्रकारले प्रतिरोध गर्दै आइरहेका छन् । महिला आन्दोलनको सुरुआत भएको लगभग ४५० वर्ष भयो । संसारमा हाल उदारवादी, माक्र्सवादी, क्रान्तिकारी, समाजवादी महिला मुक्त्ति आन्दोलन चलिरहेका छन् ।
यी धारणप्रति थुपै प्रकारका प्रश्न र आरोपहरु प्नि छन् । पहिलो आरोप के छ भने यी सिद्धान्तहरुमा महिलाको परिभाषा अपूूर्ण रहेको छ । यसले सबै महिला समान छन् भन्ने मान्यता राख्छन् । परन्तु, महिलाभित्र पनि श्वेत/अश्वेत, पश्चिमा/पूर्वीय, उत्तर/दक्षिण, धनी/गरिब महिला हुन्छन् ।
यी सिद्धान्तहरुले किन एउटी महिलाले रंग, जातीयता, वर्ग, ठाउँ आदिका आधारमा अर्की आफूजस्तै महिलालाई उत्पीडन गर्छिन् र यिनीहरुबीचमै किन असमानता रहेको छ भन्ने विश्लेषण गर्दैन ।
यी सिद्धान्तहरु अमेरिका र युरोपका गोरी मध्यमवर्गीय महिलालाई ध्यानमा राखेर प्रतिपादन गरिएका हुन् भन्ने आरोप पनि छन् । त्यसैेले अमेरिकाको महिला आन्दोलनले गोरी भए पनि गरिब, आप्रवासी, अश्वेत महिलाको समस्यालाई यस्ता दिवसहरुले सम्बोधन गर्न सकेनन् भनिन्छ ।
त्यसैगरी, यी सिद्धान्तहरुले उत्पीडकहरुको परिभाषा पनि स्पष्टरुपमा गरेका छैनन् भनिन्छ । पुरुष उत्पीडक हो, पुँजीवादी पुरुष उत्पीडक हो, यिनले प्रभुत्व जमाएको संस्था उत्पीडक हो भनियो तर कस्तो रंगको, कस्तो ठाउँको, कस्का लागि, कस्तो प्रकारको पुरुष उत्पीडक हो भनेर विश्लेषण गरिएन । यिनै कमजोरीलाई सम्बोधन गर्न अमेरिकाबाट फरकधार महिलावादी आन्दोलन बाहिर आएको दखिन्छ ।
उनीहरुका अनुसार समाजमा साधन र स्रोतहरु वर्ग, रंग, जातीयताका आधारमा असमानरुपले वितरण भएको हुन्छ ।
जस्तै श्वेतहरु साधन सम्पन्न हुन्छन् । त्यसैले श्वेत र अश्वेत महिलाबीच असमानता हुन्छ । धनी र गरिब महिलाबीच खाडल निर्माण हुन्छ र महिला महिलाबीच विभेद र उत्पीडन उत्पन्न गर्छ भनिन्छ ।
यस अवधारणका अभियन्ताहरुले किन र कसरी एक गोरी महिलाले अर्की महिलाप्रति उत्पीडन, विभेद गर्छिन् भनी विश्लेषण गर्छन् ।
यिनीहरुले महिला र पुरुषबीचको सम्बन्धमात्र नहेरी, असमानता, विभेद, उत्पीडनका सबै पाटालाई विश्लेषण गर्छन् । समाजका कमजोर महिला जस्तै गरिब अश्वेत महिलामाथि पुँजीपति, शक्तिशाली श्वेत पुरुष किन र कसरी निर्दयी हुुन्छ र अत्याचार गर्छ भन्ने मिहिन पक्ष पनि विश्लेषण गर्नुपर्छ र यस्ता दिवसका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ भन्ने यी अभियन्ताको धारणा देखिन्छ ।
अश्वेत अमेरिकी महिला अधिकारकर्मीले सञ्चालन गरेको फरकधारका महिला आन्दोलनबाट सिक्दै भारतीय मूलधारका महिला आन्दोलनलाई नकार्दै भारतबाट दलित, आदिवासी, बहुजन फेमिनिज्म पनि सुरु भएको पाइन्छ ।
यसमा पनि केही अभियन्ताले अफ्रिकी–अमेरिकी महिला र यी महिलाहरुले समान खालको ऐतिहासिक विभेद भोगेको हुनाले त्यसका सिकाइहरु लागु गर्नुपर्छ भनेका छन् भने धेरै महिला अधिकारकर्मीले यी महिलाका समस्या रंगका आधारमा नभई जातिका आधारमा भएको र हिन्दु धर्मसँग जोडिएका हुनाले फरक ढंगले जानुपर्छ भन्ने मान्यता राख्छन् ।
यस्ता अभियान वा आन्दोलन स्वाभाविकरुपमा महिलामाथि हुने उत्पीडन र हिंसाविरुद्ध सदीयौंदेखि चल्दै आएका छन् । यसले लैंगिक विभेदविरुद्ध आवाज उठाइरहेको पनि छ । तर, के लैंगिक उत्पीडनविरुद्ध आवाज उठाउनु नै महिला आन्दोलनका लागि पर्याप्त छ ?
यो महिला आन्दोलनका लागि महत्त्वपूर्ण र गंभीर प्रश्न हो । यसपछि जातीय विभेदविरुद्ध, रंगका आधारमा हुने उत्पीडन, क्षेत्रीय शोषण, आर्थिक शोषण, शैक्षिक असमानताविरुद्ध पनि समान रुपमा आवाज उठाउनु पर्छ कि पर्दैन भन्ने प्रश्न पनि खडा हुन्छ ।
नेपालमा पनि महिला आन्दोलनको संगठित प्रयासले एक शताब्दी नाघेको छ । विसं. १९७३ सालमा योगमाया न्यौपानेको नेतृत्वमा गठित महिला समिति नामक संस्था नै नेपालमा पहिलो र संस्थागत संगठन हो ।
नेपालको महिला आन्दोलनले सुरुदेखि नै विविधतालाई सम्बोधन गर्ने प्रयास गरेको थियो र यसले समग्र महिलाको सशक्तीकरणका सन्दर्भमा अत्यन्त सकारात्मक भूमिका खेलेको देखिन्छ । योगमाया बहुविवाह, बालविवाह तथा अनमेलविवाहविरुद्ध थिइन् ।
उनले समाजमा रहेको जातीय तथा महिलामाथि हुने विभेदको विरोध गरेकी थिइन् । नेपालमा त्यतिबेलासम्म पनि कायम रहेकोसती प्रथाको पनि उनले खुलेरै विरोध गरेकी थिइन् ।
नेपालमा यो अन्तर्राष्ट्रिय महिला दिवसलाई ०४६ सालको आन्दोलनपछि महिला दिवसको रुपमा मनाउन थालिए पनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि आयोगकै तर्फबाट श्रमिक महिला दिवस नाम दिई मनाइएको पाइन्छ ।
त्यसपछि २०७४ सालमा श्रम कानुन निर्माणपछि यो दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाइँदै आएको छ। नेपालमा मनाइने यस्ता दिवसहरु महिलाभित्रका विविधतालाई सम्बोधन गरी सञ्चालन गर्नुपर्छ र वास्तविक श्रमिक महिलालाई केन्द्रमा राख्नुपर्छ भन्ने माग व्यापकरुपमा उठेको छ ।
नेपाल बहुजातीय, बहुभाषिक र भौगोलिक विविधता भएको देश हो । यसैले महिलाहरुबीच पनि विविधता छ । यहाँ ब्राम्हण क्षेत्री, खस महिला, दलित महिला, जनजाति महिला, मुस्लिम महिला, अपाङ्गता भएका महिला तथा दुर्गम क्षेत्रका महिला छन् ।
यी महिलाहरुबीचै पनि थुप्रै प्रकारका असमानता छन् । यी महिलाहरुमाथि हुने उत्पीडनका स्वरुप र दायरा पनि फरकफरक छन् । यी महिलाहरुका माग, आवश्यकता, प्राथमिकता पनि फरकफरक छन् । यस्ता दिवसहरुमा सञ्चालन गरिने अभियानहरु यी समग्र महिलाहरुको चासो, समस्या र प्राथमिकतालाई ध्यानमा राखेर गरिनुपर्छ ।
उनीहरुमाथि हुने लैंगिक हिंसाको विविधतालाई एकै ठाउँमा सोलोडोलोमा राख्दा स्वाभाविकरुपमा सहरीया, सभ्रान्त, उच्च जातका पहाडी मूलका महिलामात्र लाभान्वित हुने र अरु महिला पीडित हुने कुरालाई अस्वीकार गर्न सकिँदैन ।
महिलाभित्र पनि एक महिलाले अर्की महिलालाई गर्ने भाषागत, जातीय, धार्मिक विभेद, छुवाछुत उत्पीडन आदिलाई विश्लेषण गरेर सोहीअनुसार अभियान सञ्चालन गर्दा लाभदायक हुन्छ ।
नेपालमा २००८ सालमा महिला संघ र अखिल नेपाल महिला संघको स्थापनापश्चात् संस्थागतरुपमै महिला आन्दोलन सुरु भएको पाइन्छ ।
यस अवधिमा महिला मुक्तिका लागि भन्दै थुप्रै संघसंस्था र संगठनहरु निर्माण भएका छन् र कैयौं आन्दोलन पनि भएका छन् ।
यी सबै संरचना, नीतिनियम र आन्दोलनहरुले दलित महिला, वादी महिला, मधेसी महिला, मुस्लिम महिला, जनजाति महिला, गरिब महिला, कर्णाली क्षेत्रका महिलाहरुका निर्दिष्ट माग, आवश्यकता र प्राथमिकता, प्रतिनिधित्वका सवाललाई कसरी सम्बोधन गरेको छ ?
छुवाछुत तथा जातीय विभेद, जातीय अत्याचार र हिंसाविरुद्ध आवाज उठायो कि उठाएन? दलित महिला भएकै कारण हुने यौन शोषण, बलात्कार र अन्तरजातीय प्रेम तथा विवाहका नाममा गरिने हत्याविरुद्ध कस्ता प्रयासहरु गरिए ? कहाँ कमजोरी रहे भन्नेजस्ता पक्षको विश्लेषण गरेर यस्ता अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ ।
नेपालमा दलित महिला सबैभन्दा बढी हिंसा सहन बाध्य समूह हो । उनीहरु नै नेपालका वास्तविक श्रमिक महिलाहरु हुन् । अधिकांश दलित महिलाहरु शारीरिक श्रमको काममा रहेका छन् ।
अधिकांश ग्रामीण इलाकामा दलित महिलाहरु कृषि मजदुरकै रुपमा रोजगारमा रहेका छन् । अधिकांश पुरुषहरु भारतमा रोजगारमा जाने र कुनै विकल्प नभएपछि महिलाहरु गाउँकै जमिनदारको खेतमा रोपाइँ गर्ने, मल बोक्ने, बाली काट्नेजस्ता काम गर्छन् ।
सहरीकरण भइरहेको ठाउँमा उनीहरु घर तथा बाटो निर्माणमा मजदुुरका रुपमा काम गर्छन् । बालुवा बोक्ने, बालुवा चाल्ने, ढुंगागिटी कुट्ने, इँटा बोक्ने, सिमेन्ट बोक्ने, सिमेन्ट बनाउने, घर रंगाउनेजस्ता काममा अधिकांश दलित महिला रहेका हुन्छन् ।
यसैगरी दलित महिलाहरु निम्न स्तरको प्रदूषणयुक्त काममा पनि रहेका हुन्छन् । बाटो र नाली सफा गर्ने, शौचालय सफा गर्नेजस्ता सरसफाइका काममा रहेका छन् । दलित महिलाको शिक्षित रोजगारदर पनि बिस्तारै बढ्दै भने गएको छ ।
नेपालको मूलधारको महिला अभियानले महिलामाथि हुने उत्पीडनमध्ये घरेलु लैङ्गिक हिंसालाई बढी महत्त्व दिएको पाइन्छ । तर, दलित महिलाहरुले बढी उत्पीडन भने सार्वजनिक स्थल वा घरबाहिर भोग्नुपर्छ ।
मूलधारको महिला आन्दोलनको प्राथमिकता समान मौका, समान ज्यालाजस्ता सबालमा बढी केन्द्रित देखिन्छ । तर, दलित महिलाका समस्या भने मानसिक अत्याचार, यौन उत्पीडन, बलात्कार, प्रणालीगत वेश्यावृत्ति सबैभन्दा जटिल हुन् ।
मूलधारको महिला आन्दोलनले महिला उत्पीडनको जातीय कारण विश्लेषण गरेको पाइँदैन । उदाहरणका लागि कतिपय रोजगार जस्तै खाना पकाउने वा भात पकाउने काममा जातीयताकै कारणले गर्दा दलित महिलाले काम पाउँदैनन् । दलित महिलाले चिया पसल, होटेल खोले भने पनि सफल हुँदैन ।
यसैले यस्ता अभियानहरु दलित महिला केन्द्रित हुनु आवश्यक देखिन्छ । अधिकांश दलित महिला गरिब, सर्वहारा वर्ग, श्रमिक वर्ग भएकोले उनीहरुको जीविकोपार्जनमा सुधार हुने अभियान सञ्चालन हुनसकेमात्र समग्र महिलाहरुको सशक्तीकरण हुन सक्छ ।
औपचारिक शिक्षामा पहुँच कम भए पनि दलित महिलाहरु सीप, कला, कौशलका धनी हुन्छन् । यसैले यस्ता सीपको विकास र प्रयोग बढाउन राज्यले कस्तो खालको नीति अपनाउनु पर्छ भन्ने बहस हुनसके श्रमिक महिला दिवस मनाउनुको महत्त्व पनि बढ्नेथियो ।