site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रेमको रङ

तिम्रो प्रेमको रङ रातो 
मेरो मायाको रङ गुलाबी 
मेरो मायामा रङ कहाँ चढ्छ र 
तिम्रो प्रेमको रङ नलागी

म वेग हानी हामफाल्ने झरना 
तिमी शान्त तलाउ स्नेहको 
म नदी यात्रारत आतुर तिमीमा समाहित हुन 
तिमी समुद्र मेरो गन्तव्यको

तिम्रो स्नेहको रङ हरियो 
मेरो चञ्चलताको रङ बैजनी 
मेरो चञ्चलताको रङ फिका 
तिम्रो स्नेहको रङ नबनी

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म सुस्ताउँछु, तिमी झक्झक्याउँछौ 
म थाके कतै भने तिमी डोर्‍याउँछौ
रोमरोम ममा प्रेमप्रेम बनी बसेका छौ तिमी 
सम्पूर्ण ममा बस् तिमी नै तिमी मुस्कुराउँछौ

तिम्रो प्रोत्साहनको रङ पहेँलो 
मेरो प्रगतिको रङ हरियो 
मेरो प्रगतिले कहाँ रङ लिन्छ र  
तिम्रो प्रोत्साहनको रङ नमिली 
जीवनमा खुसीका रङ तिमीले भर्‍यौ 
रंगीचंगी आशाले हरपल सजायौ
मेरा हर सपना तिमीले आफ्नो बनायौ 
कुनै रहेनन् अधुरा सब साकार गरायौ

तिम्रो साथको रङ खैरो 
मेरो विश्वासको रङ नीलो 
मेरो विश्वास कहाँ गाढा हुन्छ र 
तिम्रो साथको रङ नमिली

तिमीसँग जीवन हरपलमा खास भो 
हर रङले सजिएको मेरो हर दिन फागु हो 
मेरा हर सासमा माया भरिदियौ तिमीले 
तिमी अनि तिम्रो साथ सधैँ मेरो लागि पर्व हो

तिम्रो सहनशीलताको रङ चाँदनी 
मेरो त्यागको रङ केशरी 
मेरो त्यागको रङ कहाँ खुल्छ र 
तिम्रो सहनशीलताको छायाँ नबनी
तिमीबिना म अधुरो हुन्छु साथी
मेरा सब रङ अधुरा तिम्रो रङमा नघुली

तिमीले दिएका हर रङमा सजिएर 
बनेकी म तिम्रै बेहुली 
तिम्रो संरक्षणको रङ कालो 
मेरो समर्पणको रङ सेतो 
मेरो समर्पणमा रङ चढ्छ तिम्रो संरक्षणको
अनि जीवन बन्छ तृप्ति क्षणक्षणको

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्