
समाजका हरेकजसो क्षेत्र अहिले संकटमा देखिन्छन् । उद्योगी व्यवसायीलाई ब्याजको चिन्ता, त्यसले पारेको असर त छँदैछ मुलुकमा वैदेशिक लगानी शून्यजस्तै अवस्थामा छ ।
सेयर बजार लगातार ओरालो अवस्थामा छ, झट्ट हेर्दा मुलुकमा विकराल अवस्था देखिन्छ । धेरैजसोका समस्या बैंकसँगै जोडिएको अनौपचारिक कुराकानीमा बताउँछन् ।
बैंकको ब्याजदरको विषय सदनदेखि सडकसम्म उठेको छ । बैंकको ब्याजदरमा भएको वृद्धिले व्यवसाय बिग्रेको धेरै व्यवसायीले बताएका छन् ।
अहिले बैंकको ब्याज नै नतिर्नेसम्मको धम्की आउन थालेको छ, सडक आन्दोलन नै सुरु भएको छ ।
बैंकसँग जोडिएका समस्या के के छन् त ? सबैतिर समस्या भइरहेको अवस्थामा पैसा कहाँ छ त ? लगायतका विषयमा बाह्रखरीका आशीष ज्ञवालीले नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीसँग प्रश्न राखेका छन् । प्रस्तुत छ, केसीसँग गरिएको कुराकानीको सम्पादित अंश –
बजारमा चौतर्फी पैसाकै समस्या देखिन्छ, साँच्चिकै पैसा हराएको हो ? होइन भने यो अहिले देखिएको समस्या के हो ?
बजारमा पैसा हराएको होइन । कोभिडको समयमा नेपाल राष्ट्र बैंकले पुनरकर्जाको सुविधा ल्यायो । त्यसबेला आयात भएको थिएन । रेमिट्यान्स आएको थियो ।
जसले गर्दा बजारमा तरलता बढेको स्थिति देखिएको थियो । यसले पैसा बढेको जस्तो थियो । कोभिडपछि नेपालको अर्थतन्त्रमा माग बढ्यो । माग बढेपछि आयात बढ्ने नै भयो । त्यही बेला रुस र युक्रेनको युद्ध सुरु भयो ।
युद्धको असर नेपालमा पनि देखियो । नेपाल आउने वस्तुको मूल्य बढ्न थाल्यो । यसले गर्दा विश्वमा नै फरक खाले समस्या देखियो । आयात गर्ने वस्तुको मूल्य बढ्यो ।
त्यहीबेला रेमिट्यान्स घट्न गएपछि गत आर्थिक वर्षको अन्त्यसम्म शोधानान्तर घाटा निकै बढ्यो । यो सबै कारणले नेपालमा तरलता अभावको समस्या देखिएको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकले आयात एक खालको सहज अवस्थामा आएको छ । शोधनान्तर बचतमा जान थालेको छ ।
बैंकहरुको कर्जा निक्षेप अनुपात ८६ प्रतिशतमा आएको छ । यसले ऋण तिर्न अब सहज हुँदै गएको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने ६ खर्बजति पैसा बजारमा छ । यो भनेको जीडीपीको आकारमा १० प्रतिशतको हाराहारीमा हो ।
जुन अरु देशको अवस्थामा सामान्य अवस्था छ ।
धेरैको बुझाई अहिले अर्थतन्त्रमा बैंकको ब्याजदर बढेको कारण समस्या आयो भन्ने छ । बैंकको ब्याजदरले नै समस्या ल्याएको हो ?
अर्थतन्त्रमा अहिले समस्या आउनुको पछाडि बाह्य कारण हो ।
विदेशमा समेत केन्द्रीय बैंकहरुले ब्याजदर बढाएका छन् । अमेरिकाको फेडरल रिजर्ब होस् या बेलायतको बैंक अफ इंगल्यान्डदेखि लिएर छिमेकी देश भारतमा रिजर्ब बैंक अफ इन्डियालेसमेत ब्याजदर बढाएका छन् ।
त्यो सबैको प्रभाव नेपालमा परेको छ । जसले मूल्यवृद्धिसमेत बढायो । बाह्य कारणले नेपालमा ब्याजदर बढेको हो ।
तर ब्याजदरको कारणले मात्र अर्थतन्त्र समस्यामा गएको होइन । गतवर्ष जुन तरिकाले आयात बढ्यो तथा रेमिट्यान्स घट्यो त्यसले समस्या ल्याएको हो ।
ब्याजदरकै कुरा गर्दा कोभिड अगाडि र अहिले तुलना गर्दा एक प्रतिशत विन्दुले मात्र ब्याजदर बढेको हो । त्यो बेलाको मुल्यवृद्धि तथा तरलता तुलना गर्दा ब्याजदर त अझै माथि हुनपर्ने थियो ।
बजारको कारणले ब्याजदर बढेको हो । बैंकले ब्याजदर आफुखुसी बढाएका होइनन् । ब्याजदरको कारण अर्थतन्त्रमा केही समस्या आयो होला । तर प्रमुख कारण त ब्याजदर होइन ।
कुनै पनि व्यवसायमा ब्याजदरले पार्ने प्रभाव २५ प्रतिशत हुन्छ । बाँकी त अरु कारणले पारेको हुन्छ । कच्चा पदार्थको मूल्य बढेको छ । अरु कुरा पनि व्यवसाय गर्न समस्या भयो । बैंकको ब्याजमात्र आधार होइन ।
८ प्रतिशतमा दिएको ब्याजदर १६ प्रतिशत पुगेको छ । औसत हेर्दा पनि ४० प्रतिशत ब्याजदर बढेको देखिन्छ । कोही व्यक्तिको आम्दानी त्यसरी नबढ्दा ब्याज तिर्न समस्या हुँदैन ?
८ प्रतिशत ब्याजदर कुनै अवस्थामा पाएको हो । कोभिडको समयमा तरलता बढी भएको बेला ८ प्रतिशत ब्याजदरमा बैंकले ऋण दिएको हो ।
त्यो बेला केन्द्रीय बैंकले नै डेढ खर्ब तरलता बजारमा पठाएको थियो । आजको दिनमा पनि कुनै ऋण हामीले ८ प्रतिशत ब्याजदरमा नै दिएको पनि छौँ ।
कुनैको १६ प्रतिशत पुगेको पनि होला । ऋण दिने बेला बैंकले एउटा परिवर्तन हुने र अर्को परिवर्तन नहुने ब्याजदरमा ऋण दिएका हुन्छौँ ।
त्यो बेला हामीले परिवर्तन नहुने अन्तर्गत दिएका ऋणहरु अहिले पनि ८ देखि ९ प्रतिशत ब्याजदरमा नै छन् । त्यसरी नै दिएका छौँ । त्यो रिटेल होस् या जलविद्युत् क्षेत्रमा गएका ऋण नै किन नहोस् ।
जुन ऋण परिवर्तन हुने अन्तर्गत गएका थिए, त्यसको ब्याजदर बढेको हो । बेसरेट बढेपछि स्वाभाविक रुपले ब्याजदर बढ्छ ।
औसतमा हेर्दा ब्याजदर त्यतिधेरै बढेको अवस्था होइन । साना तथा कृषि कर्जामा राष्ट्र बैंकको निर्देशनअनुसार बेसरेटमा २ प्रतिशतमात्र प्रिमियम लिएर ऋण दिएका छौँ ।
व्यापार शीर्षक अन्तर्गत दिएका ऋणको ब्याजदर बढेको होला । औसत रुपमा २०७५ सालतिर पनि अहिलेकै जस्तो स्थितिमा ब्याजदर थियो ।
१३ प्रतिशतसम्म निक्षेपको ब्याजदर विगतमा पुगेकै थियो । त्यो बैंकले चाहेर पुर्याउने भन्ने होइन । अहिले अमेरिकामा पनि २ प्रतिशत ब्याजदरमा पाएको ऋणको ब्याजदर ८ प्रतिशतसम्म पुगेको छ ।
नेपालमा डराउनुपर्ने खालको तरिकाले ब्याजदर बढेको होइन ।
ब्याजदर बढेको कारण समस्या आएको होइन भन्नुभयो, सडकदेखि सदनसम्म यही कुरा किन उठेको छ ?
ब्याजदर बजारले निर्धारण गर्ने हो । बजारको माग र आपूर्तिले निर्धारण गर्ने कुरालाई सडकबाट गर्न खोजियो भने साच्चिकै दुर्भाग्य हुन जान्छ ।
अहिले धेरै सूचकहरु सुधार हुन थालेका छन् । यस्ता कुराले झन जटिलता आउन सक्छन् । यसले कसैलाई पनि फाइदा हुँदैन । अहिले देखिएको समस्यालाई केसअनुसार समाधान गर्नुपर्छ ।
जसरी अहिले बैंकलाई गाली गर्ने तथा सडकमा नै आन्दोलन गर्ने कुरा आएको छ । विश्वमा यो कहीँ पनि हुँदैन । यसले ठिक हुन खोजेको सकारात्मक रुपमा जान खोजेको विषयवस्तुलाई बिगार्ने कोसिस भएको देखिएको छ । यो राम्रो होइन ।
बैंकको ब्याजदरको विषयलाई लिएर केही अराजकतासमेत बढेको छ । बैंकको ब्याजदर नै नतिर्ने खालका कुरा आएका छन् । यसले बैंकिङ क्षेत्रलाई कतातर्फ लैजाला ?
यसले पक्कै पनि राम्रो काम गर्दैन । बैंकिङ व्यक्तिगत बिजनेश होइन । बैंकको व्यवसाय जनताले पैसा राखेको कारण चलेको हुन्छ ।
बैंकको पुँजी ६ खर्ब ७० अर्बको हाराहारीमा मात्र छ । तर जनताको ५३ खर्बभन्दा बढी पैसा छ, त्यतिधेरै पैसा जनताले राखेको हो ।
जनताले राखेको पैसा सुरक्षित हुनुपर्छ, के होला भन्ने अवस्था आउनुहुँदैन । तर यो कुरा भन्दा ऋण लिनेलाई असजिलो पार्नुपर्छ भन्ने होइन, त्यसरी पनि नबुझियोस् ।
१८ लाखको संख्यामा बैंकबाट ऋण लिनेहरु छन् ।
निक्षेपकर्ताको योगदानलाई हामीले कमजोर बनायौं तथा निक्षेपकर्तालाई कम ब्याजदर दिने नीति लिन खोज्यौँ भने बैंकदेखि व्यवसाय कसैलाई राम्रो गर्दैन ।
नेपालमा सम्भवतः व्यावसायिक ढंगले चलेको धेरै पारदर्शीता तरिकाले चलेका बैंकलाई प्रभाव पार्न थालियो भने समस्या हुन्छ, यो कुरा सबैले सोचौँ ।
आजको दिनमा ५० हजार जनाले यो क्षेत्रमा रोजगारी पाएका छन् । हामी सबै जिम्मेवार भएर सडकबाट होइन बजार अर्थतन्त्रबाट नै यसको समाधान खोजिदिनुपर्छ ।
बैंकले पैसामात्रै कमाए । व्यापारी घाटामा बैंक जहिले नाफामा भन्ने गुनासो सुनिन्छ । के बैंकले नाफामात्रै गरेका हुन् ?
बैंकको नाफा १० वर्ष अगाडि हुने नाफाबाट २४ प्रतिशतसम्म पुँजीमा प्रतिफल (आरओई) थियो । आजको दिनमा हेर्नुपर्छ ६ खर्ब ७० अर्ब चुक्ता पुँजी हो ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकले कमाएको ३० अर्ब रुपैयाँ नाफा हो । यसलाई अबको ६ महिनामा त्यति नै नाफा हुन्छ भनेर मान्दा ६० अर्ब नाफा कमाउने हो ।
६० अर्बको नाफा गर्दा १० प्रतिशतको पनि प्रतिफल नहुने स्थिति छ । जुन आजभन्दा १० वर्ष अगाडि २४ प्रतिशतसम्म थियो ।
बैंकले हरेक त्रैमासमा आफ्नो वित्तीय विवरण निकाल्छ । यसबाट व्यवसायको अवस्था थाहा भयो । उद्योगकै कुरा गर्दा केही कम्पनीले पनि ३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्छन् ।
१२ सय प्रतिशतसम्म प्रतिफल तथा आरओई ६० प्रतिशतसम्म भएका उद्योग पनि त छन् । भनेपछि बैंकको नाफा त बढी छैन । जसको जानकारी त्यतिधेरै हुँदैन ।
मैले यसो भन्दै गर्दा उद्योगले कमाउनै हुँदैन भनेको होइन । उद्योग व्यवसायले कमाएपछि नै बैंकले कमाउने हो । सबै मिलेर यो संकटलाई पार लगाउनुपर्छ ।
एक अर्कालाई दोष लगाएरमात्रै समाधान हुँदैन । सुनको अण्डा दिने कुखुरा छ भने कुखुरा नै पहिला काटेजस्तो बैंकलाई बिगार्ने काम नगरौं ।
आजको दिनमा बैंकका लगानीकर्ताले भन्दा अरु क्षेत्रका लगानीकर्ताले बढी प्रतिफल पाएका देखिन्छन् । बैंकले धेरै नाफा गरेको भन्ने कुरा सत्य होइन ।
अर्थतन्त्रको आकारअनुसार बैंकिङ क्षेत्रले ऋण दिएको छ । बैंकले ऋणमाथि ऋण थप्ने र जग्गामा लगानी गर्ने उत्पादनमुलक क्षेत्रमा नदिएको कारण पनि अहिलेको समस्या देखिएको हो कि ? अन्य पनि कारण होलान् ?
अहिले अर्थतन्त्रमा बाह्य कारणले समस्या आएको हो । त्यसको कुरा अगाडि पनि भइसक्यो । हामी अहिले पनि दक्षिण एसियाको कुरा गर्दा सुरक्षित स्थितिमा छौँ ।
तर समस्यामा नै छैनौँ भनेको होइन । आयात घटेको छ । शोधनान्तर बचतमा गएको छ । चालु खाता घट्दो क्रममा छ ।
तर बजेट घाटाको अवस्था अहिले पनि छ । सबै तथ्य हेर्दा ऋणको कारण समस्या आएको होइन । भूकम्प पछाडि नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशतको हाराहारीमा भएको थियो ।
त्यो बेला बैंकको ऋण २० प्रतिशतको दरले बढेको हो । आजको दिनमा ७५२ वटा स्थानीय निकायमा बैंकका शाखा पुगेका छन् ।
त्यो लेभलमा वित्तीय पहुँच तथा समावेशिता बढाएका छौं । आजको दिनमा नेपाल ऊर्जा क्षेत्रमा निर्यात गर्ने अवस्थामा पुग्यौं ।
सिमेन्ट निर्यात भएको छ । नेपालको बैंकिङ क्षेत्रले अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने काम गरेको छ । हाइड्रोमामात्र २ खर्ब ५० अर्बभन्दा बढी लगानी भएको छ । आज त्यसको फल सबैले पाएका छौँ ।
अर्थतन्त्रमा उतार चढाव आइरहेको हुन्छ । अहिले विश्वभर नै एक प्रकारको संकट आएको छ । यसलाई सुधार गर्नुपर्ने कामहरु बाँकी छन् ।
ऋणहरु उत्पादनमुलक क्षेत्रमा जानुपर्ने छ । नेपालको अर्थतन्त्रमा सुधार गर्नुपर्ने धेरै कुरा छन् । तर हामीले गरेको सकारात्मक कामको चर्चा नै नहुने स्थिति छ ।
अहिले पनि पर्यटन, कृषिमा ठूलो सम्भावना छ । त्यहाँ लगानी गर्न तयार छौँ ।
बैंकले सुधार गर्नुपर्ने केही कुरा नै छैनन् त ?
बैंकले सुधार गर्नुपर्ने धेरै कुरा छन् । बैंकहरु अझै डिजिटलमा जानुपर्ने छ । अझै असजिलो स्थितिमा बैंक पुगेको छ । एनपीएल बढ्ने अवस्था देखिएको छ ।
नेपालको अहिले संरचनात्मक समस्या छ । आयात बढ्दा विदेशी सञ्चिति घट्ने र राजस्व बढ्ने तथा विदेशी सञ्चिति बढाउने नीति लिएको बेला राजस्व घट्ने अवस्था छ ।
यो कुरामासमेत सुधार हुनुपर्ने छ । विदेशी मुद्राको सञ्चितिको जोखिम जहिले पनि हुने स्थिति छ । नेपाललाई भित्रै आफ्नो उत्पादन बढाउनुपर्ने काममा बैंकले धेरै काम गर्नुपर्छ ।
गर्नुपर्ने धेरै काम छन् । बैंकको इतिहास पुरानो भए पनि निजी क्षेत्रको बैंकहरु आएको धेरै भएको छैन । बैंकमा धेरै परिवर्तन आएको छ । करको मात्र कुरा गर्दा ३० अर्बभन्दा बढी कर बैंकले मात्र तिरेका छन् ।
राम्रो पक्षसँगै सुधार गर्नुपर्ने धेरै कुरा छन् । त्यसलाई विस्तारै समयअनुसार गर्दै जाने हो । आजको दिनमा देखिएको समस्या सबै मिलेर समाधान गर्नुपर्छ ।
बैंकको ब्याजदरमा स्थिरता कहिले आउला तथा अब कर्जाको ब्याजदर कहिले घट्छ ?
बैंकको ब्याजदरको स्थिरता दीर्घकालीन खालको उपकरण चाहिने हुन्छ । बाहिरबाटसमेत यसको लागि पैसा ल्याउनुपर्ने छ ।
विदेशी लगानी भित्र्याउनुपर्ने हुन्छ । विदेशी लगानी आउन सकेको छैन । लगानी बढाएपछि त्यसपछि स्थिरता होला ।
ब्याजदर घट्ने कुरा बजारले निर्धारण गर्ने हो । निक्षेपको ब्याजदर माघदेखि लागु हुने गरेर घटेको छ । त्यसको प्रभाव देखिन केही समय लाग्छ ।
बेसरेट घटेपछि कर्जाको ब्याजदर घट्छ । कहिलेदेखि घट्छ भनेर त ठ्याक्कै भन्न सकिने अवस्था छैन । सूचकहरु सुधारको क्रममा रहेको हुँदा ब्याजदर घट्ने क्रममा छ । कर्जाको ब्याजदर घट्नेतर्फ देखिएको छ ।
बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि नियम विपरीत बढाएको प्रिमियमदरको पैसा फिर्ता गरेनन् भन्ने छ । अहिलेसम्म किने पैसा फिर्ता नगरेको ?
राष्ट्र बैंकको निर्देशनलाई हामीले पालना गरेका छौ । केही केस छुट भएको हुन सक्छ । त्यसलाई सम्बोधन गर्न बैंक तयार छन् ।
बैंकका सेवाहरु डिजिटल बन्दैछन् । कारोबार पनि डिजिटल बन्दै छ । यसमा ठगीका गुनासा बढी छन् । डिजिटल कारोबारमा कसरी सुरक्षित गर्ने हो ?
सबैभन्दा पहिला डिजिटलमा जाँदा यसको सुरक्षाको बारेमा धेरै प्रश्न छन् । यसको लागि बैंकले अन्य सरोकारवालासँग मिलेर काम गर्नुपर्ने धेरै काम छन् ।
कोभिडको समयमा नेपालमा डिजिटल कारोबार निकै बढेको छ । यसको जनचेतना बढाउनुपर्नेछ । सुरक्षाको बारेमा हामीले सर्वसाधारणलाई सिकाउनुपर्ने छ । अहिलेसम्म हाम्रो प्रविधि सुरक्षित छ ।
यसलाई समयअनुसार बैंकले प्रविधिमा लगानी बढाउनुपर्छ । हामीभन्दा विकसित देशमा पनि डिजिटल कारोबारमा ठगीका घटना हुन्छन् । यसलाई जिरो बनाउन सम्भव नभए पनि न्यूनीकरण गर्ने प्रयास गर्नुपर्छ ।