site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनीमा आइतबारभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, को बन्दै छन् मन्त्री ?

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी आइतबारभित्र मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार गिरीले आइतबारभित्र सरकार विस्तार गर्ने र त्यही दिन शपथको तयारी गरिरहेका छन् । 

अहिले सबै दलबाट मन्त्री बन्नेहरूको नाम संकलन भइरहेको छ । 

२७ पुसमा लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका गिरीले करिब डेढ महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिलेसम्म उनीसँगै मन्त्रीको शपथ लिएका दुई मन्त्रीले जिम्मेवारीसमेत पाएका छैनन् । एमालेबाट चेतनारायण आचार्य र नेकपा (माओवादी केन्द्र)बाट कृष्णा केसी विना विभागीय मन्त्री नियुक्त भएका थिए । 

Dabur Nepal
NIC Asia

मन्त्रिपरिषद् विस्तारका लागि एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको नाम टुंगो लगाएका छन् । 

भौतिक संरचनाको अभाव, मन्त्रालय व्यवस्थापन, मन्त्री निवासको अभावलगायत कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सरकारका प्रवक्ता एवं विनाविभागीय मन्त्री चेतनारायण आचार्य बताए । रूपन्देहीको बुटवलस्थित अस्थायी मुकामबाट दाङको देउखुरीस्थित स्थायी राजधानीमा स्थानान्तरण हुँदा भौतिक पूर्वाधार अभावले मन्त्रालय व्यवस्थापनमा ढिलाइ भएको उनको भनाइ छ ।

माओवादीबाट यी बन्दैछन् मन्त्री
माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदार जोखबहादुर महरा अर्थमन्त्री बन्दै छन् । महरानिकट स्रोतका अनुसार लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत रहेका महरालाई माओवादीले अर्थमा पठाउने निर्णय गरिसकेको छ ।

माओवादी केन्द्रले तीन मन्त्रालय पाएको छ । जसमा विनाविभागीय मन्त्री कृष्णा केसी आन्तरिक मामिलामन्त्री र इन्द्रजित थारू भौतिक योजना मन्त्री बन्दै छन् । 

यस्तै, एमालेले चार मन्त्रालय पाएकोमा विनाविभागीय मन्त्री चेतनारायण आचार्य सहरी विकास मन्त्री बन्दै छन् ।  अन्य राप्रपा, जनमत, नागरिक उन्मुक्ति र जसपाले एक/एक मन्त्रालय पाउने भएका छन् ।

साना दलको असन्तुष्टि
लुम्बिनी प्रदेश सरकारले १३ मन्त्रालयबाट घटाएर १० बनाउने निर्णय गरेको छ । १० मध्ये एमालेले मुख्यमन्त्रीसहित चार‚ माओवादी केन्द्रले अर्थसहित चार, राप्रपा, नागरिक उन्मुक्ति र जनमत पार्टीले एक–एक मन्त्रालय लिने सहमति भए पनि नागरिक उन्मुक्ति यसमा सहमत छैन ।

नागरिक उन्मुक्तिले दुई मन्त्री दाबी गर्दै आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको बराबर हैसियत छ । राप्रपाले उपसभामुखसहित एक मन्त्री पाएकाले आफूहरूले दुई मन्त्री पाउनुपर्ने नागरिक उन्मुक्तिका प्रमुख सचेतक राजकुमार चौधरीले बताए ।

"सरकारलाई समर्थन गरिसकेपछि बाहिर बस्ने कुरा हुँदैन‚" उनी भन्छन्‚ "हामीले भौतिक पूर्वाधार विकास मन्त्रालयसहित दुई मन्त्री दाबी गरेका छौँ । भौतिक पूर्वाधार र एक संसदीय समितिको सभापति दिए पनि सहमत हुन्छौँ । यदि भौतिक पूर्वाधार नदिए दुई मन्त्रीमा दाबी रहन्छ ।"

८७ सदस्यीय प्रदेश सभामा ५८ सांसदको सरकारलाई समर्थन छ । एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसहित दुई स्वतन्त्र सांसदले सरकारलाई समर्थन गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro