
काठमाडौं । भिनिसियस जुनियर र मार्को असेन्सियोले गरेको गोलमा रियाल मड्रिडले बिहीबार राति स्पेनिस ला लिगामा भ्यालेन्सियालाई २–० ले हराएको छ । जितसँगै रियालले बार्सिलोनासँगको दूरी पाँच अंकमा झारेको छ ।
घरेलु टोली रियालले पहिलो हाफको इन्जुरी समयमा एन्टोनियो रुडिगरको गोलबाट अग्रता लिएको थियो । रुडिगरले लुका मोड्रिचको क्रसमा गोल गरेका थिए । तर, भिडियो सहायक रेफ्रीले उक्त गोललाई मान्यता दिएन ।
असेन्सियोले ५२औँ मिनेटमा गरेको गोलमा रियालले अग्रता लिएको थियो । त्यसको दुई मिनेट वित्न नपाउँदै भिनिसियसले रियालको अग्रता दोब्बर बनाए । दुवै गोलमा करिम बेन्जेमाले गोलको अवसर सिर्जना गरिदिएका थिए । साथै भिनिसियसले रियालबाट २००औँ खेल सुखद बनाए ।
खुट्टामा चोटका कारण बेन्जेमाले ६०औँ मिनेटमा मैदान छाडेका थिए । रियाल मड्रिडले २१ फेब्रुअरीमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै छ । उक्त खेलमा बेन्जेमाको उपस्थितबारे गरिएको प्रश्नमा रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘‘उनको चोट सामान्य हो । प्रत्येक तीन खेलमा खेल्दा यस्तो समस्या प्राय हुने गर्छ ।’’
७२औँ मिनेटमा गाब्रियल पाउलिस्टाले रातो कार्डको सामना गरेपछि पाहुना टोली भ्यालेन्सिया दश खेलाडीमा सीमित भएको थियो ।