काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाइन अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाइन अस्पतालमा स्वास्थ्यसम्बन्धी सुविधा लिदाँ १३ प्रतिशतसम्म छुट पाउनेछन् ।
जसअन्तर्गत फ्रन्टलाइन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरू ओपीडी बेड तथा सर्जरी, ल्याबलगायतका अन्य सेवाहरूको शुल्कमा न्यूनतम पाँच प्रतिशतदेखि बढीमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
फ्रन्टलाइन अस्पतालले हाल पुरानो बानेश्वर, काठमाडौंबाट सेवा प्रदान गर्दै आएको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउने बताइएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका सातवटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटीएममार्फत सेवा दिँदै आएको छ ।
