षड्यन्त्रका व्यापारी कहिल्यै चुप लागेर बस्दैनन् । उनीहरू कि त षड्यन्त्र गरिरहेका हुन्छन् नभए अरूले षड्यन्त्र गरे भनेर भ्रम फैलाइरहेका हुन्छन् । तिनका षड्यन्त्र बिरलै सफल भए पनि जनसाधारणलाई भ्रममा पार्न भने उनीहरू निकै सिपालु साबित भएका छन् ।
नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन गरेर चुनाव लडेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सुटुक्क नेकपा (एमाले)सँग मिलेर प्रधानमन्त्री बन्न पुगे । एमालेले गोल गर्यो । विश्वासको मत लिने बेला कांग्रेसलाई के लाग्यो कुन्नि दाहाललाई समर्थन गरिदियो ।
प्रधानमन्त्री दाहालले संसद्को लगभग सबै मत पाए । संसदीय अभ्यासमा सामान्यतः विपक्षले सरकारको समर्थनमा मत दिँदैन । कांग्रेसले सही गर्यो कि गलत बहसको विषय हुनसक्छ । तर, त्यसले एमालेका नेतालाई भने ज्वरो आयो ।
यति त भएकै थियो । सर्वोच्च अदालतले रवि लामिछानेले त्यागिसकेको नेपाली नागरिकता फेरि लिने प्रक्रिया पूरा नगरेको ठहर गरी उनको सबै सार्वजनिक पद खारेज गरिदियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको विधिको सर्वोच्चता कायम हुने ऐतिहासिक फैसलामा पनि केहीले षड्यन्त्र देखे ।
कांग्रेसको ‘हुस्सुपन’को लाभ उठाएर संसद्को दोस्रो दल भए पनि सत्तामा हालिमुहाली गर्न पुगेका एमाले नेताहरू कांग्रेसले दाहाललाई विश्वासको मत दिँदैमा झस्केका थिए । प्रधानमन्त्री दाहालले कांग्रेसप्रति कृतज्ञता प्रकट गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्न थालेपछि झस्के ।
त्यसपछि त एमालेका नेताहरू विशेषगरी अध्यक्ष, महासचिव, उपमहासचिवहरूले जताततै ‘षड्यन्त्रै षड्यन्त्र’ देख्न थाले । रविको नागरिकता वैध भएन भन्नु वा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजौँ भन्नु त एमालेका नेताहरूको आँखामा ‘मुलुकलाई अस्थिर बनाउने षड्यन्त्र‘ पो देखिँदो रहेछ ।
बाहिर बाहिर एमाले प्रतिपक्षमा बस्छ भन्ने भित्रभित्र कांग्रेससँग एउटा र माओवादी केन्द्रसँग अर्कै खिचडी पकाउनुलाई भन्न मन लागे षड्यन्त्र भने हुन्छ । यद्यपि, त्यो पनि संसदीय अभ्यासको विकृत पाटो नै हो । षड्यन्त्रै भए पनि त्यसले देशलाई अस्थिर बनाएको छैन । बनाउँदैन पनि ।
नेपालका राजनीतिक दलमा सम्भवतः अहिले जति ‘नालायक’ नेता पहिले भएका थिएनन् । नयाँ न पुराना, युवा हुन् कि पाका न कल्पनाशीलता छ, न नैतिकता छ वा इमानदारी नै छ । सिद्धान्त निष्ठा त सबै पोलेरै खाइसके ।
जनतालाई भ्रममा पारेर प्राविधिकरूपमा कब्जा गरेको पार्टीकाे शक्ति दुरुपयोग गर्नुबाहेक अहिलेका कथित नेताले देश वा समाजका लागि केही राम्रो गर्लान् भन्ने त आशा थिएन नै आफ्नै पार्टीका लागि पनि सिन्को भाँचेका छैनन् । पत्नी, प्रेयसी, बहिनीदेखि सम्धी सम्धिनीसम्मलाई पोस्नेबाहेक यिनले अरू गरे के ?
जसरी पनि सत्तामा टाँसिन संसारमा कतै नसुनिएको लाजमर्दो हर्कत यिनैले गरेका थिए । जनताले सजाय पनि दिए । सुध्रिनु नि मौका पाएका बेला ! कतिन्जेल उल्लु बनाउने हो कार्यकर्तालाई ?
पार्टीका कार्यकर्ता भ्रममा पर्नसक्छन् तर जनता अब सजग भइसकेका छन् । सही र गलत छुट्ट्याउन सक्छन् । एमालेको वा कांग्रेसको नेता राष्ट्रपति नहुँदैमा न देश अस्थिर हुन्छ न हुँदैमा तिनले केही लछारपाटो नै लाउँछन् ।
देशकै हकमा त एमाले र कांग्रेसमात्र किन अरू खुद्रा मसिना दलका नेता सबै एकैपटक राजनीतिबाट बिदा भए वा तिनले संसारै त्यागे पनि केही फरक पर्नेछैन । यी बेइमान नालायकभन्दा धेरै गुना इमानदार र योग्य व्यक्ति देशमा छन् । अहिलेभन्दा धेरै राम्ररी शासन चलाउनेछन् ।
यसैले षड्यन्त्रका व्यापारीहरूले हेक्का राखे राम्रो देशमा तिमीहरूको आवश्यकता छैन । सुध्रिने हो भने आँखामा लागेको षड्यन्त्रको जालो फाल । नभए धेरै बकबक गरेर जनतालाई भ्रममा पार्ने कोसिस नगर । अति भइसकेको छ । अब खती सहने पालो तिमीहरूको हो ।
र अन्त्यमा
परिवर्तनकामी युवाले त प्रेम आचार्यको विद्रोहको समर्थनमा जुलुस निकाल्नु पर्थ्यो । केहीले निकाले पनि । सरकारलाई राज्य संयन्त्रमा जमेर बसेको विकृति हटाउन बाध्य हुनेगरी दबाब दिनुपर्थ्यो । सर्वोच्च अदालतको फैसलाविरुद्ध जुलुस निकाल्नु र नारा लगाउनु त शक्तिको अपव्ययमात्रै हो ।
यसले रविका समर्थकहरूको लोकतान्त्रिक प्रतिबद्धता र बौद्धिक स्तर उजागर गरेको छ । लाग्छ, राष्ट्रिय स्वतन्त्र पार्टी ‘भाइ एमाले’मात्रै हो । एमालेका कार्यकर्ताले पनि त २०५२ सालमा मुद्दा हारेको झोँकमा तत्कालीन प्रधान न्यायाधीशलाई ‘फाँसी दे’ भनेर जुलुस जो निकालेका थिए ।