
बर्लिन । थुप्रै साता लामो आनाकानीपछि अन्ततः जर्मनीले युक्रेनलाई लियोपर्ड २ ट्यांकहरु उपलब्ध गराउने सहमति जनाएको छ । किभले यसको कारण युद्ध भूमिमा कायापलट हुने आशा लिएको छ ।
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा १४ वटा ट्यांक पठाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिमण्डलको बैठकमा स्कोल्जले अन्य मुलुकहरुलाई पनि लियोपर्ड २ ट्यांक युक्रेन पठाउन अनुमति दिने बताएका बीबीसीले लेखेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले पनि युक्रेनमा कम्तिमा ३० वटा एम १ अब्राम्स ट्यांक पठाउने योजना घोषणा गर्ने अनुमान गरिएको छ । यता क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, “सम्पूर्ण ट्यांक अन्य ट्यांक जस्तै जलेर ध्वस्त हुनेछन् । यी ट्यांकहरुले युक्रेनी फौजमा के के न गर्लान् जस्तो बढाइचढाइ भइरहेको छ । यो असफल कदम हो ।”
तर, त्यसविपरीत युक्रेनी अधिकारीहरुले आफूहरुलाई तत्काल हेभी टैंकहरुको आवश्यकता रहेको र यसले किभका फौजलाई रुसी फौजबाट भूभाग फिर्ता लिन मद्दत गर्ने बताउँछन् । एकजना जर्मन सरकारी प्रवक्ताले युक्रेनलाई सकेजति सहयोग र समर्थन गर्ने राष्ट्रिय नीतिअन्तर्गत नै ट्यांक उपलब्ध गराइन लागेको बताएका छन् ।
अमेरिका र जर्मनी दुवैले केही समयसम्म युक्रेनलाई आफ्ना ट्यांकहरु दिइनुपर्दछ भन्ने आन्तरिक र बाह्य दबाबलाई प्रतिवाद गरेका थिए ।