काठमाडौं । गजलकार डा. प्रदीपकुमार मैनाली केही महिनाअघि तिलकसिंह पेलाकोमा पुगे । संगीतसाधक तिलककोमा मैनालीसँगै पुगेका थिए, गजलकार भोजराज घिमिरे र भुवन बोहोरा । प्रदीपले खोले गजलको डायरी । र, सुनाउन थाले गजल । उनले तीन गजल सुनाएपछि तिलकले भने– मलाई यो गजल मन पर्यो । संयोग भनौँ अथवा अरू केही, प्रदीपलाई पनि त्यही गजल मन परेको रहेछ । त्यो गजल हो, अहिले धेरैले मन पराएको– के लत बस्यो...।
तिलक तिनै संगीतसाधक हुन्, जो सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा सुशील गर्तौलालाई लिएर ‘ब्लाइन्ड राउन्ड’मा पुगेका थिए । सुशील भित्र शास्त्रीय संगीतको आलाप लिइरहँदा बाहिरबाट उनको गायकीलाई घोरिएर स्क्रिनमा हेरिरहने तिनै व्यक्ति हुन्, तिलक । जसको गायकीको अहिले संगीतप्रेमीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
भ्वाइस अफ नेपालमा देश–विदेशबाट सुशीलको तारिफ भयो । तिनका पनि गुरु तिलकको कण्ठको जादुको के कुरा ! संगीतका असली शुभेच्छुकको दिलमा उनको स्वरले राज गर्ने नै भयो । गर्यो ।
गजल आफ्नै घरमा आइपुग्यो । संगीत भर्नै पर्यो । अक्सर उनी व्यावसायिक रूपमा कम्पोज गर्दैनन् । तर, कोही आफूलाई सम्झिएर आउँछ भने निराश बनाउनु हुँदैन भन्ने उनको मान्यता छ । त्यसैले प्रदीपको गजलमा उनले लय भर्नुपर्ने भयो । यस्तै लय भर्नुपर्छ भन्ने कहीँ कतै सूत्र छैन । सूत्र हुन्थ्यो त रटान लगाएर प्रदीप आफैँ भर्थे होलान्, किन जानुपर्थ्यो तिलकलाई खोज्दै !
गजल हात पर्यो, उनी गुनगुनाउन थाले । कसैको कस्तो तरिका, कसैको कस्तो । तिलक भने शब्द हात परेपछि गुनगुनाउन थाल्छन्, संगीतको लय पक्रन । यसमा पनि त्यस्तै गरे । लय बनाउँदै गरे । तानपुरामा बसे । धुन खोजे । अन्तिममा हार्मोनियममा बसे । यो उनको संगीत खोज्ने तौरतरिका हो ।
डेढ महिना बित्यो शब्दमा लय भर्न । कहिले कुन रागमा, कहिले कुन रागमा । थुप्रै लय भरे । चित्त बुझेन । माया मारे । अर्को रागमा लय भरे । फेरि उस्तै । जब उनले राग मालकौँसमा लय भरे, तब आफैँलाई चित्त बुझ्यो ।
प्रदीपलाई बोलाए । सुनाए । उनले एकै श्रवणमा लय मन पराए । प्रदीपले भने, ‘यसलाई अब रेकर्ड गराउनुपर्छ ।’ डेढ महिनाको अथक प्रयासले जन्मिएको लय रेकर्ड गर्नु त राम्रै हो ।
उनैले प्रस्ताव गरे, कमल विष्ट । उनको स्वर राम्रो छ, यो लयमा कमलले न्याय गर्छन् । उसैलाई गाउन लगाउनुपर्छ । कमलले गएको साउनमा काठमाडौंमा भएको एक कार्यक्रममा यो गजल गाएका थिए । उपस्थितहरूले मन पनि पराएका थिए ।
तर, प्रदीपले अर्कै प्रस्ताव गरे । तिलक अचम्ममा परे । प्रदीपको प्रस्ताव थियो– तपाईं आफैँले गाउनुपर्छ ।
अर्थात्, तिलकले गाउनुपर्छ । उनले कल्पना पनि नगरेको प्रस्ताव । अपेक्षा त परको कुरा । प्रस्ताव आयो, गाउने व्यक्ति नै हुन्, कसरी भन्नु नाइँ ? प्रदीपलाई निराश नबनाउँदा गजलका शब्दमा लयसँगै स्वर मिसिने भयो, तिलककै । रिदम कडेँलको स्टुडियोमा स्वर भर्ने कुरा भयो । रिदम तिलककै शिष्य हुन् । उनकै स्टुडियोमा गजल रेकर्ड भयो ।
आजकाल धेरैले भन्छन्– संगीत हेर्ने भइसक्यो । भन्छन् मात्र होइन, गर्छन् पनि । त्यसैले त गीतको भिडियो बनाइन्छ ।
तर, तिलकको स्वभाव र विचार अलि फरक छ । गीत अडियोमा बलियो हुनुपर्छ । भिडियो त त्यसपछिको तपसिलको विषय हो । त्यसैले यसमा उनीहरूले अडियोमा जोड दिए ।
युट्युब अहिले गीत सुन्ने सबैभन्दा आकर्षक प्लेटफर्म हो । यसलाई बाइपास त गर्नै सकिँदैन । त्यसैले भिडियो त चाहियो । मोबाइलमा रेकर्डिङ गर्दै गरेको भिडयो खिचे । त्यसैलाई केही सम्पादन गरे । अर्थात्, गीत बलियो अडियोले हुन्छ, भिडियोले होइन भन्ने उनको विचार यसको भिडियोले पनि पुष्टि गर्छ ।
तिलकको स्वरमा गजल आयो । स्रोता/दर्शकले मन पराए/पराइरहेकै छन् । प्रतिक्रिया राम्रो आइरहेको छ । तर, उनी आफूलाई चित्तै बुझेको छैन रे !
“मलाई मेरो स्वर चित्त बुझेको छैन । यो गीतमा मात्रै होइन, मलाई कुनै पनि गीतमा म पूर्ण छु, मेरो स्वर पूर्ण छ भन्ने लाग्दैन,” अहम् होइन, तिलकले आफ्नो कुरा सुनाए, “स्वर सुर र तालमा पक्कै पनि छ । सुर र तालमा म खुस्किएको छैन । तर, हरेक लाइनलाइनमा अझै राम्रो गर्न सकिन्थ्यो भन्ने लागिरहेको छ ।”
उनी खासमा आफूलाई गायक होइन, संगीतका शिक्षकका रूपमा लिन्छन् । आफ्नो होइन, अरूको स्वर सुनेर रमाउँछन् । त्यसमै खुसी हुन्छन् । सायद इमानदार शिक्षकमा हुनुपर्ने गुण पो हो कि यो !
अरूलाई मन्त्रमुग्ध बनाउने संगीत कसरी जन्मिन्छ ? सायद धेरैको जवाफ रहला– संगीतको साधनाले । यसमा तिलकको धारण अलि फरक छ ।
“सवकन्सस् माइन्डमा हरेक व्यक्तिको संगीत हुन्छ, त्यसलाई साधनामार्फत अझ मार्धुय बनाएर प्रस्फुटन गर्ने काम मात्रै हाम्रो हो,” तिलक भन्छन्, “हामी त गाइड गर्ने व्यक्ति मात्रै हो । आत्मामै संगीत हुन्छ, त्यसलाई देखाइदिने मात्रै हो ।”
शब्दमा लय र धुन मिसिएपछि त्यसको गुणात्मकताका आधारमा व्यक्तिको ध्यान खिच्छ । यसरी ध्यान खिच्ने धुनचाहिँ कसरी सिर्जना हुन्छ ?
उनको छोटो जवाफ– साधना नै हो । अगाडि थप स्पष्ट पार्दै भन्छन्, “शब्दअनुसार धुन खोज्ने हो । शब्दको गहिराइमा पुगेर स्वर भर्ने हो । जसले यी दुई कुरामा न्याय गर्छ, त्यो संगीत राम्रो हुुन्छ ।”
त्यसैले त तिलक साधनामा तल्लीन रहन्छन् । के दिन के रात संगीतमा डुब्नु उनको रहर हो । रहर साधनामा परिणत भएपछि त्यसको प्रतिफल गीतमा देखिन्छ । उनका गीतको संख्या मात्र ४० हो । तर, उनले गीत नगाएको दिन हुँदैन । संगीतको साधना नगरेको समय हुँदैन । मात्र रेकर्ड पातलो संख्यामा हुने हो । अरूलाई सिकाइरहने तिलक सिकाउँदा गाइरहन्छन् । त्यसमै उनी रमाइरहन्छन् । गायनमा उनी खासै लोभ गर्दैनन् । केही समय पहिले उनले २३ वर्षपछि सांगीतिक एल्बम ‘निर्जन किनार’ ल्याएका थिए ।
उनले आठ वर्ष बनारसमा देवासिस देवबाट शास्त्रीय संगीतको ज्ञान लिएका थिए । नेपालमा धनबहादुर गोपालीबाट संगीत सिकेका थिए । “संगीत त म अहिले पनि सिकिरहेको छु । कहिले अग्रजबाट कहिले आफ्नै शिष्यहरूबाट पनि संगीत सिकिरहेकै हुन्छु,” तिलक भन्छन्, “यो कहिल्यै नसकिने अनन्त प्रक्रिया हो । सिक्दै निखार्दै जाने हो ।”
स्कुल पढ्दादेखि नै संगीतका सौखिन तिलक संगीतमा डुब्थे । विद्यालय र स्थानीयस्तरमा हुने कार्यक्रममा गाउँथे । आफ्नै घरमा दाइ कृष्णसिंह पेला गीत लेख्थे । उनै कृष्णले तिलकमा हौसला भरिदिएका थिए– तँ गाउन सक्छस्, गाउनुपर्छ भनेर । दाइकै प्रेरणामा औपचारिक रूपमा ०५३ बाट उनले गायनमा स्वर भर्न थालेका थिए । कालान्तरमा उनी गायक त छँदै छन्, त्योभन्दा बढी संगीतका गुरु छन् । स्टेजको चमकदमकभन्दा पर्दा पछाडिको योगदान नै उनलाई प्रिय छ । त्यसमै उनको मन रमाइरहेको छ ।
संगीतका धुनसँग मित लगाउने तिलक गायकले शब्दसँग पनि खेल्नुपर्ने बताउँछन् । अन्यथा, त्यसको भाव मर्ने र संगीत र शब्दबीचको तादात्म्यता नमिल्दा समग्र गीतले नै न्याय नपाउने उनको अनुभव छ । यही गजलभित्र रहेर उनले एउटा उदाहरण दिए– यो गजलको अन्तिमको लाइनमा खोला, नदी र समुद्र भन्ने शब्द छ । यो गाउँदा त्यसको भावअनुसार गाइएन भने त्यसले स्रोतामा प्रभाव पार्न सक्तैन । यो गीत सुन्दा विचार गर्नूस्, खोला सबैभन्दा माथि हुन्छ, त्यसैले त्यसको उच्चारण पनि हाइमा छ । बीचमा नदी हुन्छ र सबैभन्दा तल समुद्र हुन्छ । त्यसैले मिडमा नदी र समुद्र शब्द लो उच्चारणमा गाइएको छ ।”
तिलकको एउटा विशेषता छ, त्यो हो – खासै गीत नसुन्ने । उनले सानोमा जति गीत सुने, सुने । अहिले त्यति धेरै सुन्दैनन् । त्यसैले बजारका चलेकै गायक/गायिकाको नाम लियो भने पनि उनी खासै खुट्ट्याउन सक्तैनन् ।
किन ?
“शास्त्रीय संगीत आफैँमा संगीतको समुद्र हो । गीत त समुद्रको एउटा थोपा मात्रै,” तिलक भन्छन्, “संगीतको समुद्रमै तपाईं हुनुहुन्छ भने थोपा त त्यसको एक अंश मात्रै भयो, होइन र ?”
त्यसो त अरूको संगीत सुन्नु हुँदैन भन्ने उनको तर्क होइन । तर, समुद्रभित्र पसेर त्यसको रसपान गर्दै गर्दा त्योभन्दा सानो कुरामा सायद कोही रोकिँदैन कि भन्ने उनको निष्कर्ष हो । यद्यपि, उनी संगीतका शिक्षक भएकाले अधिकांश समय शिक्षणमै बिताउँछन् । अरूका गीत सुन्ने समय कमै हुन्छ ।
अहिलेको सांगीतिक बजारमा तिलकका शिष्य को–को हुन् ? “अहिलेको बजारमा शास्त्रीय संगीत कहाँ चल्छ र ? अहिलेका बजारका चल्तीका कलाकारभन्दा पनि साधना गरेर अब्बल गायक/गायिका अवसर नपाएर बसिरहेका छन्,” तिलक भन्छन्, “तपाईं सुशील गर्तौलालाई चलेको गायक भन्नुहुन्छ कि हुन्न ? ऊभन्दा पनि अब्बल धेरै संगीतका साधक अवसर नपाएर बसिरहेको अवस्था छ । सायद कुनै दिन उनीहरूको पनि समय आउला ।”
चमकदमकभन्दा पनि क्वालिटी म्युजिकको समयको पर्खाइमा धेरै संगीतसाधक छन् भन्ने तिलक उनीहरू उचित समयको पखाईमा साधनारत रहेको सुनाउँछन् । र, भन्छन्, “त्यो समय पनि आउँछ, जहाँ क्वालिटी म्युजिकको माग हुन्छ ।”