काठमाडौंबाट पोखराका लागि उडेको यति एअरलाइन्सको एटीआर विमान आइतवार विहान अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य रहेका थिए ।
सरकारले हवाई दुर्घटनाको छानबिनका लागि समिति गठन गरेको छ । छानबिन र उद्धार कार्यमा सरकारले प्रतिबद्धता पनि प्रकट गरेको छ । प्रधानमन्त्री र गृहमन्त्री स्वयंले उद्धार कार्यको जानकारी लिएका छन् ।
यात्राका विभिन्न माध्यममध्ये हवाई यात्रा बढी सुरक्षित मानिने हुनाले हवाई दुर्घटनाको चर्चा यसै पनि धेरै हुने गर्छ । त्यसमाथि, भर्खरै सञ्चालनमा ल्याइएको विमानस्थलमा अवतरणका लागि आउँदा दुर्घटना भएकाले थप चर्चा हुनेछ ।
यसपटक छानबिन समितिले नयाँ विमानस्थलमा उडान र अवतरण कति सुरक्षित छ भन्ने विषयमा पनि चित्तबुझ्दो उत्तर खोज्नुपर्ने हुनसक्छ । पूर्वबाट गएको विमान किन पश्चिमबाट विमानस्थलमा ओर्लन खोजेको थियो भन्ने उत्तरले सायद दुर्घटनाको रहस्य फुकाउन सक्छ ।
हवाई दुर्घटनापछि गरिने छानबिनमा प्रायः दुर्घटनामै मरेका चालकलाई दोषी ठहर गरेको प्रतिवेदन बुझाएर औपचारिकता पूरा गरिन्छ । कुनै दुर्घटनापछि विमानहरूको भौतिक अवस्था वा विमानस्थलको सुविधामा सुधार गरिएको भने अहिलेसम्म थाहा भएको छैन ।
नेपालमा सञ्चालित अधिकांश विमानको भौतिक अवस्था मापदण्डअनुरूप नभएको, विमानस्थलको सुविधा पनि अद्यावधिक नगरिएको, विमानका चालकहरूको मानसिक र शारीरिक स्वास्थ्यको नियमित परीक्षण हुने नगरेकोजस्ता अनेकौं कमजोरी दुर्घटनाको कारण हुनसक्छ । तर, सामान्यतः यस्ता विषय सधैँ उपेक्षित हुन्छन् ।
अब हुने छानबिनमा यस्ता सबै विषयमा ध्यान दिइने अपेक्षा गर्नु पक्कै अन्यथा मानिनेछैन । विमानको भौतिक अवस्था, विमानस्थलको अवस्थािति, चालक दलको स्वास्थ्यको नियमित परीक्षणजस्ता विषयमा पनि छानबिन समितिले गम्भीर ध्यान देओस् ।
नेपालको भौगोलिक अवस्थितिका कारण हवाई सेवा जति उपयोगी छ यसको सञ्चालन उत्तिकै जोखिमपूर्ण पनि छ । यसैले हवाई दुर्घटनालाई नियमित आकस्मिकता मान्नुपर्ने नियतिबाट मुक्त हुन विशेष ध्यान दिएमा मात्र अहिले देखाइएको तदारूकता र संवेदनशीलता सार्थक हुनेछ ।
प्रचलित अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको पालना गराउने र नेपालका हकमा सुरक्षा सावधानीका थप उपाय अपनाउन राज्यले सुपरीवेक्षण र नियमन प्रभावकारी बनाएमात्र नेपालमा ढुक्कसँग हवाई यात्रा गर्न सकिनेछ । सरकार, वायुसेवा र नियामक निकाय सबैको ध्यान पुगोस् ।