
आख्यान क्षेत्रमा विशिष्ट उचाइ कायम गरेका डा. ध्रुवचन्द्र गौतमलाई उनको ८०औँ जन्मदिनका अवसरमा ‘आविष्कारी आख्यानकार’ उपाधिबाट सुशोभन गरिने तयारी पूरा भइसकेको थियो । बस्, हलमा स्वागत गर्न मात्र बाँकी थियो प्रसिद्ध आख्यानशिल्पीको ।
वसन्त चौधरी फाउन्डेसनका अध्यक्ष तथा लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरका संस्थापक बसन्त चौधरी डा. गौतमको प्रतीक्षामा हलअगाडि उभिएका थिए । भित्र दर्शकदीर्घामा बसेकाहरू पनि प्रतीक्षा गरिरहेका थिए, नेपाली आख्यानका महारथी गौतमको ।
पोडियममा उभिएर कवि राजेन्द्र शलभ डा. गौतमका कृतिहरूका बारेमा जानकारी दिँदै थिए । उनले १० वर्षको उमेरदेखि साहित्य सिर्जना गर्दै आएका डा. गौतमका कृतिहरूको नाम लिँदै गए । नाट्यकृति ‘भस्मासुरको नलीहाड’ पनि त्यो सूचीमा पर्यो ।
यो नाम उच्चारणसँगै म तरंगित भएँ । मैले सम्झिएँ, २०४२/०४३ सालमा ‘भस्मासुरको नलीहाड’मा अभिनय गरेको त्यो क्षण । आफू पनि नाटकमा आबद्ध भएको क्षण । अभिनयको भूतले ठाउँठाउँ पुर्याएको क्षण ।
म काठमाडौंको मञ्चमा ओर्लिएको पहिलो नाटक नै आख्यानकार डा. गौतमको थियो । नाटक निर्देशक थिए, बद्री अधिकारी ।
नाटकमा सरोज खनाल, रवि अधिकारी, किशोर डंगोल, शान्ति सुवेदी, नेत्र वियोगी, सुभाष गजुरेल, सुरेन्द्र नकर्मी र अरू पनि केही कलाकारको अभिनय थियो । एउटा सानो भूमिकामा थिएँ म पनि ।
डिल्लीबजारस्थित बालवाटिका स्कुल परिसरमा नाटकको रिहर्सल हुँदै थियो । चैत महिनाको मध्य समय । साँझपख हरेक दिन त्यहाँ कलाकारको जमघट हुन्थ्यो । र, दुई–तीन घण्टा रिहर्सलमा व्यस्त हुन्थे । सबै आफ्नो भागमा परेको संवाद भट्ट्याउँदै अभिनय गर्थे ।
नाटकका लेखक डा. गौतम रिहर्सल हेर्न आफ्नो स्कुटर (सम्भवतः बजाज चेतक) चढेर बेलाबेलामा आइपुग्थे । बडो चाख लिएर रिहर्सल हेर्थे ।
नाटक रिहर्सलको प्रारम्भिक चरण थियो । भूमिकाहरू सही रूपमा बाँडफाँट भइसकेको थिएन । मेरो भागमा कहिले लामो भूमिका पथ्र्यो त कहिले छोटो । अझ जाबिड कलाकारहरू आइसकेपछि एउटा सानो भूमिका मात्र बाँकी रह्यो ।
म त्यसैमा पनि सन्तुष्ट थिएँ । किनभने, आखिर थियो त त्यो डा. गौतमको नाटक । त्यसमाथि काठमाडौंको स्टेजमा उत्रिन पाउने मौका । मजस्तो देहातको ‘छौँडा’का लागि यो ठूलो अवसर थियो ।
नाट्यकर्मकै दौरान सरोज, सुरेन्द्र, खेम शर्माहरूसँग नजिक भइयो । किशोर र रवि दाइ पूर्वपरिचित थिए । साथै, नजिक भइयो बद्री अधिकारी दाइसँग । तर, त्यतिखेर नाटक लेखक डाक्टर साहबसँग नजिक हुन सकिनँ । जबकि, मेरो बसोबास चाबेलतिरै थियो । डाक्टर साहबको सायद मैजुबहालतिर ।
अचेल डाक्टर साहबसँग बेलाबखत गफगाफ हुन्छ । एक दिन डा. गौतमसँग यस विषयमा कुरा पनि गरेको थिएँ । डाक्टर साहब आफ्नो स्वभावानुसार ‘ए होर !’ भन्दै फिस्स हाँसे मात्र ।
निर्देशक अधिकारी तिनताक नाटकका क्षेत्रमा स्थापित भइसकेका थिए । बद्री–सुनील (पोखरेल)को निर्देशनमा धेरै नाटक मञ्चन गरिन्थ्यो । ‘भस्मासुरको नलीहाड’ भने बद्री दाइको एक्लो निर्देशनमा तयार भएको थियो ।
नाटकमा अभिनय गर्ने रुचिले मलाई त्यो समयमा धेरै नाट्य समूहहरूको संगतमा पुर्याएको थियो । युवा नाट्य मञ्च (युनाम), सर्वनाम, शुभ समूह, युवा नाट्य परिवार (युनाप), आरोहण, रंगकर्मी जमात यस्ता थुप्रै समूहमा मेरो जाउआउ थियो । तर, ‘भस्मासुरको नलीहाड’ खेल्ने मौका जुरेको थियो, मित्र किशोर डंगोलका कारण ।
अग्रवाल भवनको प्रेक्षालयमा ३७ वर्षअघिको यो प्रसंग सम्झिइरहँदा म त्यस भीडमा खोजिरहेको थिएँ, बद्री दाइ, किशोर, सरोज र रवि दाइलाई । निकैपछि देखापरे मात्र किशोर ।
आख्यानकार डा. गौतम र उनकी धर्मपत्नी स्वस्तिका गौतम हलभित्र प्रवेश गरिसकेका थिए । पुष्पवृष्टिका साथ डा. गौतमको स्वागतपछि मञ्चको कार्यक्रम प्रारम्भ भयो । डा. गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सुशोभन गरियो । विशेष अभिनन्दन गरियो । ‘आविष्कारी आख्यानका सात दशक’ कृति पनि विमोचन गरियो । र, डा. गौतमको आख्यानकारिताको चर्चा गरियो ।
खैर, यतिखेर मेरो फ्ल्यासब्याकले मलाई ‘भस्मासुरको नलीहाड’तिरै लैजाँदै छ । त्यस नाटकमा अभिनय गर्नुभन्दा अगाडि सर्वनामको अड्डा मेरो गन्तव्य थियो । प्रायः त्यहाँ गइरहन्थेँ । रामकृष्ण निराला दाइले मलाई सर्वनाममा पहिलोपटक प्रवेश गराएका थिए । डिल्लीबजारस्थित सर्वनामको अड्डामा छिरे पनि नाटक गरिनँ । कामै गरिनँ भन्न मिल्दैन । गरेँ, तर नाटकको प्रचार गर्ने काम मात्र ।
त्यतिखेर अशेष मल्ल दाइको नाटक ‘सडकदेखि सडकसम्म’ सभागृहमा लामो समय मञ्चन गरिएको थियो । त्यसको प्रचारका लागि म तीनपांग्रे टेम्पोमा कुद्थेँ, महाराजगन्जदेखि सातदोबाटोको सडकसम्म । त्यसपछि नै हो, म नलीहाडमा टाँस्सिन पुगेको ।
‘भस्मासुरको नलीहाड’पछि युनापको युद्धनाटक ‘जब बादल पन्छिन्छ’मा अभिनय गर्ने मौका मिल्यो । हास्यकलाकार खेम शर्माले साइकलको क्यारियरमा बोकेर निर्देशक श्रीओम श्रेष्ठ ‘रोदन’सामु पुर्याएका थिए । खेमले धेरैलाई त्यसरी क्यारियरमा बोकेर निर्देशक निर्देशककहाँ ढुवानी गरेका छन् । सरोज खनाल पनि बेलाबखत खेमले क्यारियरमा ढुवानी गरेको सम्झिन्छन् ।
श्रीओम र पूर्ण थापाको संयुक्त निर्देशनमा ‘जब बादल पन्छिन्छ’ मञ्चनको प्रारम्भिक काम हुँदै थियो । कलाकारहरू प्रशस्त चाहिने भएकाले मजस्ता नाटकमा रुचि भएकाहरू आउँदै थिए ।
युद्धनाटक भएकाले सैनिकको भूमिकामा जति कलाकार राखे पनि हुने । संवाद नभए पनि अभिनय गर्न पाइन्थ्यो । त्यसैले मेरो भूमिका सैनिकका रूपमा निश्चित भयो । पछि एक–दुई संवाद मेरो भागमा परेको थियो ।
युवा नाट्य परिवारले गरेका थप केही नाटकहरूमा मैले अभिनय गरेँ । ‘युद्ध र शान्ति’, ‘घरज्वाइँ’लगायत अरू पनि केही । एउटा नाटक लिएर त हामी लखनऊ हुँदै दिल्लीसम्म पुगेका थियौँ । त्यो यात्राको नियात्रा आजसम्म आएको छैन, श्रीओमबाट । आउँछ होला ।
यसरी चार–पाँच नाटकमा अभिनय गरेँ । ०४७ सालतिर श्रीओम–पूर्णकै निर्देशनमा एउटा अर्को नाटकमा खेलेँ । त्यसपछि भने नाटक खेल्न छोडेँ । नाटक खेल्ने मोह घटेको होइन, सायद आफ्नै अभिनयप्रति विश्वस्त हुन सकिनँ । नाटक खेल्नुभन्दा संस्थाको बाहिरी काम गरेरै रमाउन थालेँ ।
केही समयअघि पुराना नाट्यकर्मीहरूलाई समेटेर फेरि तिनलाई मञ्चमा उतार्ने सोचका साथ किशोर अगाडि बढेका थिए । एकताका रंगमञ्चमा धमाका मच्चाउने अभिनेता, निर्देशक सबै सुस्त रहेको परिस्थितिमा तिनलाई लेखन, निर्देशन र अभिनयमा पुनः सक्रिय गराउने एउटा बाटो तयार हुँदै थियो ।
त्यही समय कोरोना कहरले निम्त्याएको लकडाउन किशोरको बाटोमा तगारो भएर उभियो । बद्री अधिकारी, राजेन्द्र शलभ, मोहन निरौला, रवीन्द्र खड्का, रमेश बुढाथोकी, भुवन चन्द, मदनदास श्रेष्ठ, हरिबहादुर थापा, रचना सिंह, रमण घिमिरे, श्रीओम, सरोज, किशोरलगायत सबै नाटक गर्ने मनस्थितिमा थिए । वीरेन्द्र हमालले एउटा ऐतिहासिक नाटक गर्ने कुरो पनि उठाएका थिए ।
पुराना नाट्यकर्मीहरूको त्यस जमघटमा नाटकको चर्चा हुँदै गर्दा म सानै भूमिकामा भए पनि रंगमञ्चमा फेरि ओर्लने सपना देख्दै थिएँ । तर, सर्वत्रको बन्दाबन्दीले त्यो अभियानमा पूर्णविराम लगाइदियो ।
यतिखेर किशोर के सोचिरहेका छन् कुन्नि ! अभियान फेरि थाल्ने कि नथाल्ने, उनले केही भनेका छैनन् । पुराना रंगकर्मीहरू सबै मौन छन् । व्यस्त छन् आ–आफ्नै दिनचर्यामा ।
र, म स्मरण गरिरहेको छु, आविष्कारी आख्यानकार डा. गौतमको नाटकमा अभिनय गर्दाका केही रमाइला क्षणहरू ।