site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोनाको नयाँ भेरियन्ट बीएफ ७ : छोटो समयमा धेरै व्यक्ति संक्रमित

काठमाडौं । छिमेकी देशहरूमा पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ को संक्रमण दर दिनानुदिन बढ्दै गएको छ । खासगरी चीन र भारतमा यसको संक्रमण वृद्धि भएकाले नेपालमा पनि जोखिम बढेको छ ।

बीएफ ७ ओमिक्रोनको सबभेरियन्ट हो । प्रारम्भिक प्रतिवेदनानुसार यो भेरियन्टले छोटो समयमा धेरै व्यक्तिहरूलाई संक्रमण गर्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर, यो नयाँ भेरियन्ट हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिम अझै कायम रहेको अवस्था छ । छिमेकी राष्ट्रहरूमा यसको नयाँ भेरीयन्ट बीएफ ७ को संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ,” मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ, “प्रारम्भिक प्रतिवेदनानुसार कोभिड–१९ को यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिहरूलाई संक्रमण गर्ने देखिएको छ । छिमेकी मुलुकहरूमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि भएको छैन ।”

खुला सिमाना र मानिसको आवतजावतका कारण नेपालमा पनि यो संक्रमणको जोखिम रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयलका अनुसार कोरोना पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट नेपाल भित्रिने यात्रीको ज्वरो नाप गर्ने, शंकास्पद व्यक्तिहरूको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्यहरू भइरहेको छ ।

कोभिड–१९ पोजिटिभ भएका तथा लक्षण देखिएका व्यक्तिहरूलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार होम आइसोलेसन र अस्पतालमा भर्ना गरी उपचार गर्ने कार्य पनि भइरहेको छ ।

मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेजस्ता जनस्वास्थ्यका मापदण्डहरू नियमित पालना गर्न/गराउन आग्रह गरेको छ ।

321749226_850831129488301_8357651733061209382_n1671877739.jpg

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्