
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।
शनिबार बालुवाटारमा नेपाली कांग्रेसबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै उनले गठबन्धनलाई जनताले अनुमोदन गरेको जिकिर गरे ।
नेता कार्कीले संसदीय दलको नेता चुन्ने प्रक्रिया छिट्टै सुरु हुने पनि बताए । “संसदीय दलको नेता छिट्टै चुन्ने प्रक्रिया सुरु हुन्छ,” उनले भने ।
उनले संसदीय दलको नेता चयन नभई नयाँ प्रधानमन्त्री बन्ने अवस्था पनि आउन सक्ने बताए । “संसदीय दलको नेता चयन नभई प्रधानमन्त्री बन्न सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न,” उनले भने ।
कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सबै निर्वाचित सांसदलाई प्रभावकारी भूमिका निभाउन आग्रह गरेको उनले जानकारी दिए ।