
काठमाडौं । ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचको अन्तिम तथ्यांक निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार बुझायो । मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति भण्डारीलाई निर्वाचनसम्बन्धी सम्पूर्ण विवरण बुझाएसँगै नयाँ संसद्लाई काम गर्ने बाटो खुला भएको छ । तर, त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने हुन्छ । राष्ट्रपतिले आह्वान गरेपछि मात्र नयाँ संसद्को अधिवेशन सुरु हुन्छ ।
प्रदेशसभाका लागि भने यो बाटो खुल्ला भइसकेको छैन । सम्बन्धित प्रदेशमा पुस २ गते शनिबारमात्र निर्वाचनसम्बन्धी अन्तिम परिणाम बुझाइँदै छ । यसको अर्थ २ गतेपश्चात् मात्र सातवटै प्रदेशलाई प्रदेशसभा सञ्चालन गर्ने अधिकार प्राप्त हुन्छ । त्यसपश्चात् सम्बन्धित प्रदेशका सरकारबाट सिफारिस भएपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नेछन् र प्रदेशसभाका बैठक बस्नेछन् ।
यसको अर्थ बिहीबारदेखि केन्द्र र पुष २ गतेदेखि सातै प्रदेशलाई सरकार बनाउने बाटो खुल्नेछ । केन्द्रमा कसको र सात प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट चित्र बनिसकेको छैन । गठबन्धन गरेर चुनाव लडेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी केन्द्र र प्रदेशमा भागबण्डाको आधारमा सरकार बनाउने कसरतमा छन् । नेकपा (एमाले)ले भने केन्द्र र प्रदेशमध्ये कहाँ आफ्नो सरकार बनाउँछ भन्ने स्पष्ट पारिसकेको छैन ।
पहिले केन्द्रको सरकार बनेपछि मात्र प्रदेश सरकार कहाँ कसको बन्छ भन्ने चित्र स्पष्ट आउने अवस्था छ । सरकार बनाउने दौडमा दलका नेताहरु लागिरहेका छन् । प्रदेश जितेका सांसदहरु पनि आफ्नै दलको नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने भन्दै शीर्ष नेताको दैलोमा ‘डेलिगेसन’मा छन् । गठबन्धन दलहरुको आ–आफ्नै दाबी रहिरहँदा कांग्रेसका सात प्रदेश सभापतिहरुमध्ये तीन प्रदेश सभापति पनि मुख्यमन्त्रीको दौडमा लागेका छन् ।
मंसिर ४ मा सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा कांग्रेसका पाँच प्रदेश सभापतिहरूले चुनाव लडे । दुई प्रदेश सभापतिहरु भने समानुपातिक तर्फ एक नम्बरमा बसे । प्रत्यक्ष चुनाव लडेकामध्ये चारजना प्रदेशसभा एकजनाले प्रतिनिधिसभा सदस्यमा चुनाव लडे ।
कांग्रेसबाट मधेस प्रदेश सभापति कृष्ण यादव, वाग्मती प्रदेश सभापति इन्द्र बानियाँ, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले प्रदेशसभा सदस्यमा निर्वाचन लडे । सुदूपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर भने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडे । १ नम्बर प्रदेश सभापति उद्धव थापा र गण्डकी सभापति शुक्रराज शर्मा समानुपातिकतर्फबाट उमेदवार बनेका थिए ।
मुख्यमन्त्रीको दौडमा थापा, यादव र बानियाँ
पटक–पटक केन्द्रीय चुनाव लडेर निराश बन्नुपरेका १ नम्बर प्रदेश सभापति उद्धव थापा यसपटक प्रत्यक्ष चुनाव लडेनन् । उनी यसपटक १ नम्बर प्रदेशसभा सदस्य बने । समानुपातिक तर्फबाट सांसद बनेका उनी मुख्यमन्त्रीको दौडमा छन् ।
थापा पार्टीमा नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । उनले पार्टी महाधिवेशन पनि देउवा–सिटौला समूहबाट टिकट लिएर प्रदेश सभापति विजयी भएका हुन् । झापा जिल्ला सभापति दुई कार्यकाल थापाले चलाए । उनले १२ औँ महाधिवेशनमा तत्कालीन पार्टी नेता तथा वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई चुनाव हराएका थिए । उनले संविधानसभा सदस्यमा चुनाव क्षेत्र नम्बर ३ र ०७४ को निर्वाचनमा पनि झापा क्षेत्र नम्बर २ बाट पराजय हुनुपरेका थियो ।
“म प्रदेश सभापति पनि हो । मेरो राजनीतिक इतिहास पल्टाएर हेर्दा पनि म स्वभाविक हो,” थापाले बाह्रखरीसँग भने, “म संसदीय दलको तयारी गरिरहेको छु । नेताहरुसँग संवादमा छु । पुस २ गतेपश्चात् औपचारिक तयारी थाल्छु ।”
संसदीय दलको नेता बनेपछि मुख्यमन्त्री बन्ने तयारी थापाको छ । तर, थापालाई संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्न सोचेजस्तो सहज भने छैन । देउवा–सिटौला समूहबाट अन्य उमेदवार पनि छन्, जो संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्ने दौडमा छन् । समूहबाट संविधानसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्याल पनि मुख्यमन्त्रीको दौडमा छन् ।
यस्तै, सिटौला समूहबाटै विराटनगर महानगरका पूर्वमेयर तथा पार्टी केन्द्रीय सदस्य भीम पराजुली पनि दौडमा छन् । यता, शेखर कोइराला समूहबाट केदार कार्की पनि संसदीय दलको नेतृत्व गर्ने र गठबन्धनबाट कांग्रेसले भाग पाए सरकारको नेतृत्व गर्ने तयारीमा छन् ।
प्रदेशमा कांग्रेसको २९ जना सांसदहरु छन् । तर, प्रदेशमा कांग्रेस पहिलो शक्ति होइन । ४० सिटसहित एमाले पहिलो दल बनेको छ । यस्तै, माओवादी १३ र नेकपा (एस)को ४ सिट छ । राप्रपासँग ६ सिट छ । त्यसकारण यहाँ गठबन्धनलाई भन्दा एमालेलाई सरकार बनाउन सहज देखिन्छ ।
०००
मधेश प्रदेशमा पनि रौतहट निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट चुनाव जितेका कांग्रेसका प्रदेश सभापति कृष्ण यादव संसदीय दलको नेतृत्व गर्ने तयारीमा छन् । उनी पार्टीमा देउवा–सिटौला समूह निकट मानिन्छन् । रौतहट कांग्रेसका पूर्वसभापतिसमेत रहेका यादवले गठबन्धनमा रहेका पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरुसँग पनि छलफल गरेका छन् ।
“नेताहरुसँग संवाद भएको छ । उहाँहरुले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ,” यादवले भने, “म मुख्यमन्त्रीको स्वभाविक उमेदवार हो नि । पहिले संसदीय दलको चुनाव लड्छु, अनि मुख्यमन्त्री बन्ने विषयलाई अघि बढाउने हो ।”
यहाँ अन्य नेताहरु रामसरोज यादव र वीरेन्द्र सिंहलगायतको पनि संसदीय दलको चुनावमा चासो छ । रामसरोज अघिल्लो संसद्मा संसदीय दलको नेता थिए । उनी नेता विमलेन्द्र निधि निकट मानिन्छन् । मधेसमा पनि कांग्रेस पहिलो शक्ति होइन । २३ सिटसहित एमाले पहिलो र २२ सिटसहित कांग्रेस दोस्रो शक्ति हो । यहाँ १६ सिटको जसपा, १३ सिटको जनमत र ९ सिटको लोसपा निर्णायक शक्ति बन्ने देखिन्छ ।
कांग्रेसबाट निर्वाचित अर्का प्रदेश सभापति हुन् इन्द्रबहादुर बानियाँ । मकवानपुर २ ‘ख’बाट चुनाव जितेका बानियाँ संसदीय दलको नेतामा लड्ने तयारीमा छन् । पार्टी सभपाति देउवानिकट मानिने बानियाँ गएको पाँच वर्ष पनि संसदीय दलको नेता रहेका थिए । तर, अहिले उनको देउवासँग सम्बन्ध चिसिएको बताइन्छ ।
संसदीय दलको नेता बने पनि उनले अघिल्लोपटक मुख्यमन्त्री बन्न पाएनन् । नेकपा (एस)सँग आलोपालोमा सरकार बन्ने जेन्टलम्यान एग्रिमेन्ट भएको भनिए पनि बानियाँ मुख्यमन्त्री बन्न पाएका थिएनन् । यसपटक भने उनी मुख्यमन्त्री बन्ने तयारीसाथ अघि बढेका छन् । त्यसका लागि संसदीय दलको नेता बन्ने दौडमा बानियाँ रहेको उनीनिकट नेता तथा वाग्मती प्रदेश स्वास्थ्यमन्त्री निमा लामा बताउँछन् ।
“उहाँ अघिल्लोपटक पनि मुख्यमन्त्री बन्न पाउनुभएन । अहिले संसदीय दलको नेता बन्ने र मुख्यमन्त्री बन्ने तयारीमा इन्द्र दाइ हुनुहुन्छ,” बाह्रखरीसँग उनले भने ।
बानियाँलाई संसदीय दलमा पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद बहादुरसिंह लामा (तामाङ) ले चुनौती दिँदै छन् । संस्थापन समूहनिकट लामा निर्वतमान प्रतिनिधिसभा सदस्यसमेत हुन् ।
“मलाई यसपटक प्रदेशमा चुनाव लडाउनुको कारण पनि मुख्यमन्त्री बनाउन हो भनेर सभापतिज्यूले मलाई भनिसक्नुभएको छ । म संसदीय दलमा चुनाव लड्ने हो,” उनले भने ।
वाग्मती प्रदेशमा पहिलो दल कांग्रेस नै हो । यहाँ कांग्रेसका ३७ सांसाद छन् । यस्तै, दोस्रो स्थानमा रहेको एमालेका २७ सांसद छन् भने तेस्रो भएको माओवादीसँग २१, राप्रपासँग १३ र नेकपा (एस)सँग सात सांसद छन् । यहाँँ कांग्रेसले सरकार बनाउने सम्भावना दरिलो छ ।
समानुपातिकमा १ नम्बरमा बसे पनि सांसद बनेनन् शर्मा
कांग्रेसको गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा चुनाव लडेनन् । पार्टीको १४ औँ महाधिवेशनबाट गण्डकी प्रदेश सभापति बनेका उनी समानुपातिकतर्फबाट उमेदवार बने । खसआर्य पुरुषतर्फ एक नम्बरमा बसेका उनले सांसद बन्ने अवसर भने पाएनन् ।
यहाँ कांग्रेसले १८ सिट प्रत्यक्षमा जित्यो । नौ सिट समानुपातिक तर्फबाट पायो । नौ सिटमै महिला नेतृहरुले अवसर पाएर सांसद बने । सोही कारण समानुपातिकको एक नम्बरमा बसेका शर्मासहित अरू नेताहरू सांसद बन्नबाट बञ्चित भए ।
“समानुपातिक तर्फबाट सांसद बन्न पाइनँ, दुःख त लागेको छ नै । हामीले महिलाहरुलाई प्रत्यक्षमा टिकट सिफारिस गरेका थियौँ । तर, टिकट धेरै दिइएन । टिकट नमिलेका कारण पनि केही उमेदवारले हार्नु पर्यो,” उनले भने, “समानुपातिकतर्फ सबै महिला पठाउनुपर्ने भएर हामीले पठायौँ । दुःखेसोभन्दा पनि पार्टीलाई पहिलो बनाउनु सफलता मान्नुपर्छ ।”
शर्मा अब पार्टी राजनीतिमा थप सक्रिय भएर लाग्ने जिकिर गर्छन् । उनी भन्छन्, “अब अझ पार्टीमा सक्रिय भएर लाग्छु । म सभापति भएर प्रदेशमा कांग्रेसलाई पहिलो दल बनाउन सफल भएँ ।”
पुन र शाही चुनावी मैदानमा स्तब्ध, बलायर बने संघीय सांसद
लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले यसपटक पनि चुनाव हारे । ०७४ मा रोल्पाबाट माओवादीका वर्षमान पुनसँग प्रतिनिधिसभामा हारेका उनी यसपटक मुख्यमन्त्री बन्ने सपनासहित प्रदेशमा लडेका थिए । रोल्पा प्रदेशसभा ‘ख’ बाट माओवादीसहितको गठबन्धनमा रहेर चुनाव लड्दा पनि उनी माओवादीकै बागी उमेदवार दीपेन्द्र पुनसँग चुनाव हारे । हारसँगै उनको संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने सपना सकिएको छ ।
कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही पनि पराजित भए । शाही जुम्लाको प्रदेशसभा ‘ख’बाट निर्वाचन लडेका थिए । तर, स्वतन्त्र उमेदवार देवेन्द्रबहादुर शाहीसँग पराजित भए । विजयी शाही कांग्रेसकै बागी उमेदवार हुन् । विजयी देवेन्द्रले नौ हजार ६५४ मत प्राप्त गर्दा पराजित ललितले सात हजार ७५५ मत पाए ।
यता, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर भने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । बलायर कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भए । उनले एमाले नेता लेखराज भट्टलाई पराजित गरेका हुन् । बलायरले २६ हजार २७५ मत प्राप्त गर्दा भट्टले २२ हजार ६६३ मत प्राप्त गरे ।