
न्युयोर्क । एक १९ वर्षीया अमेरिकी महिलाले आफ्नो पितालाई दिइने मृत्युदण्ड हेर्न नपाउने भएकी छन् । मिसौरी राज्यको कानुनअनुसार यस्तो दृश्य हेर्नका लागि उनको उमेर नपुगेको एक न्यायाधीशले भनेका बीबीसीले लेखेको छ ।
केभिन जोन्सन नामक व्यक्तिलाई सन् २००५ मा एकजना प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा मंगलबार मृत्युदण्ड दिइँदै छ । उनले १९ वर्षको उमेरमा प्रहरीको हत्या गरेका थिए । जोन्सनले आफूलाई मृत्युदण्ड दिइने बेला आफ्नी छोरी खोर्री रामीको पनि उपस्थिति रहोस् भनेर अनुरोध गरेका थिए ।
अमेरिकी नागरिक स्वतन्त्रता संघले राज्यको कानुनले खोर्रीको संवैधानिक अधिकार उल्लंघन गरेको भन्दै उनको तर्फबाट एक आपतकालीन प्रस्ताव दर्ता गराएको छ । सो संघका सदस्यहरुले २१ वर्ष उमेरभन्दा कमका कसैले पनि मृत्युदण्ड दिइएको हेर्नुहुन्न भन्ने मिसौरीको कानुनले कुनै सुरक्षा उद्देश्य पूरा नगरेको गुनासो गरेका छन् ।
छोरी दुई वर्षकी छँदादेखि ३७ वर्षीय जोन्सन कारागारमा थिए । अहिलेसम्म बाबु र छोरीबीचको सम्बन्ध कारागार भ्रमण, फोन कल, पत्र र इमेलमा सीमित रहेको थियो । गत महिना मात्र खोर्रीले आफ्नो भर्खर जन्मेका छोरोलाई कारागारमा लगेर आफ्नो बुबालाई देखाएकी थिइन् ।
खोर्रीले एक विज्ञप्तिमार्फत भनेकी छन्, “अन्तिम क्षणमा आफ्नो बुबासँग हुन नपाउने भएपछि मेरो साह्रै चित्त दुखेको छ । आफूलाई पुनःस्थापित गर्नका लागि मेरो बुबाले काराबासमा ठूलै मिहेनत गर्नुभएको थियो । मिसौरी गवर्नरले उहाँलाई क्षमादान देओस् भनेर म प्रार्थना गरिरहेको छुं ।”
जोन्सनलाई तीन सन्तानका पिता तथा मिसौरी प्रहरी विल्लियम म्याकएन्टीलाई गोली हानी हत्या गरेको अभियोगमा दोषी ठकर गरिएको छ ।