
न्युयोर्क । महान वैज्ञानिक चार्ल्स डार्बिनले आफ्नो विकासको सिद्धान्तलाई वकालत गर्दै लेखेको उनको हस्ताक्षर भएको सानो कागजको टुक्रा लिलाम गरिने भएको छ ।
डार्बिनको उक्त पाण्डुलिपि विश्व कीर्तिमान कायम गर्दै १० लाख पाउन्ड भन्दा बढी रकममा लिलाम हुने अनुमान गरिएको छ । सन् १८६५ मा एउटा प्रतिष्ठित पत्रिकामा प्रतिलिपिको रूपमा दिने उद्देश्यले डार्बिनले त्यो सानो दस्ताबेज तयार गरेको थियो ।
डार्बिनको आफ्ना महत्त्वपूर्ण कागजातको अभिलेख राख्ने बानी नभएकाले उनका थोरै मात्र सक्कली कागजातहरू अझैसम्म बचेका छन् ।
डार्बिनले आफ्नो पूरा नाम 'चार्ल्स डार्बिन' लेखेका दस्ताबेज निकै थोरै मात्र भेटिएका छन् ।
तर, डार्बिन अनलाइनमार्फत उनका अमूल्य चिजहरू संकलन र संग्रहित गर्दै आएका प्राध्यापक जोह्न भान वाइहिले ती महामानवले आफ्नो हस्ताक्षर सहित पृष्ठमा के राख्न खोजेका थिए भन्ने कुरा थप महत्त्वपूर्ण हुनपुगेको बताएका छन् ।
लिलाम हुन लागेको यो अमूल्य दस्ताबेज उनले 'दि अटोग्राफिक मिरर' नामक पत्रिकाका लागि तयार पारेका थिए ।
बीबीसीबाट ।