site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफा विश्वकप–२०२२ : पोर्चुगललाई घानाको चुनौती 

काठमाडौं । फिफा विश्वपकमा आज (बिहीबार) हुने चार खेलमध्ये तेस्रो खेलमा ‘अन्डर डग’ पोर्चुगलले अफ्रिकी ‘पावर हाउस’ घानाविरुद्ध खेल्दै छ ।  

समूह ‘एच’ पोर्चुगल र घानासँगै उरुग्वे र दक्षिण कोरिया गरी चार बलिया टिम रहेकाले विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाउँन दुवै टिमलाई आज जितको दबाब छ ।

कतारको रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चार महादेशका बलिया टिम रहेकाले यो समूहलाई विश्वकपको ‘ग्रुप आफ डेथ’ को रूपमा चित्रण गरिएको छ । 

घानाविरुद्ध मैदान उत्रिँदा पोर्चुगल हालैमात्र म्यानचेस्टर युनाइटेडसँगको आफ्नो व्यवसायिक करियर टुंग्याएका फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहनेछ ।

पछिल्लो पटक सन् २००६ मा विश्वकपको सेमिफाइनल पुगेको पोर्चुगलले त्यसयता अन्तिम १६ भन्दा माथिको यात्रा तय गर्न सकेको छैन । तर, कतार विश्वकपका भने पोर्चुगललाई पनि सेमिफाइनल पुग्नसक्ने सम्भावित चार टिममध्ये एकको रुपमा लिइएको छ । विश्वकपमा आगामी यात्रा बलियो बनाउँन पनि आज पोर्चुगल जितको लक्ष्यमा हुनेछ । 

विश्वकपको लगातार चार संस्करणमा गोल गर्ने चार खेलाडीमध्ये रोनाल्डो पनि एक हुन् । रोनाल्डोले खेलको सन् २००६, २०२०, २०१४ र २०१८ गरी चारै विश्वकपमा गोल गरेका छन् । आज घानाविरुद्ध गोल गरे रोनाल्डो विश्वकपको लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो र एकमात्र खेलाडी बन्नेछन् ।

यता, घानालाई यो समूहकै सबैभन्दा कमजोर टिमको रूपमा चित्रण गरिए पनि अफ्रिकी ‘पावर हाउस’ विश्वकपमा जुनसुकै टिमलाई पनि हराउँन सक्ने क्षमता राख्छ । घानाले सन् २०१० मा अप्रत्यासित रुपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । विश्वकपको क्वार्टरफाइनल खेल्ने घाना पछिल्लो अफ्रिकी राष्ट्र हो । त्यससता अफ्रिकाका कुनै पनि टिम क्वार्टरफाइनल पुग्न सकेका छैनन् ।

पछिल्लो पटक सन् २०१४ को विश्वकप खेलेको घानाले त्यसबेला पनि पोर्चुगललाई समूह चरणमा प्रतिद्वन्द्वीको रुपमा पाएको थियो । जहाँ क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले घानालाई २–१ पराजित गरेको थियो ।

विश्वकपमा घानाको यो चौथो सहभागिता हो । घानाले चारै विश्वकप २१औँ  सताब्दीको सुरुआतपछि खेलेको हो ।

घानाले विश्वकपमा खेलेका पछिल्लो पाँच खेलमध्ये पाँचैमा गोल गर्न सफल भएको छ । आजको खेलमा पोर्चुगलविरुद्ध गोल गरे घानाले विश्वकपको लगातार ६ खेलसम्म गोल गर्ने अफ्रिकी राष्ट्रको कीर्तिमान बनाएका दक्षिण अफ्रिका र नाइजेरियासँग बराबरी गर्नेछ ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्