site stats
अर्थ व्यवसाय
साढे पाँच महिनामा १० अर्ब ३८ करोडको बिजुली बिक्री

काठमाडौं । बिजुली निर्यातबाट मुलुकले रु १० अर्ब ३८ करोड ९६ लाख बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो ।

देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो । यो गत कात्तिकसम्मको विवरण हो । 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । 

NMB Bank
Dabur nepal
Agani Group

भारतसँगको विद्युत् व्यापार भारतीय रूपैयाँ (भारु)मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । 

सुरुमा दुई विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि गत २७ जेठदेखि दैनिकरूपमा छ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै थियो ।

Global bank

गत १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युतकाे स्वीकृति क्षमता चार सय नौ मेगावाट पुगेको छ । 

खोलानालामा पानीको बहाव घट्दै गएकाले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

“उद्योगले अहिले स्वीकृति लोडअनुसार विद्युत् नै लिएका छैनन् । यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युत्को माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सकिने अनुमान गरिएको छ”, उनले भने । 

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रूपैयाँ २३ पैसा रहेको छ । 

थप २३.५ मेगावाट निर्यात अनुमति

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३ दशमलब पाँच मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत्  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब आठ जलविद्युत् केन्द्रबाट उत्पादित चार सय नौ  मेगावाट विद्युत् भारतीय आइएक्सको डे-अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ ।  

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९ दशमलव शून्य चार मेगावाटको लिखुखोला ‘ए’, २५ मेगावाटको काबेली ‘बी’-एक, २२ मेगावाटको माइखोला, १४ दशमलव नौ मेगावाटको हेवाखोला ‘ए’ र १० मेगावाटको तल्लो मोदी–एक, ४२ मेगावाटको मिस्त्रीखोला, २४ दशमलव दुई मेगावाटको लिखुखोला ‘ए’, २३ दशमलव पाँच मेगावाटको सोलुखोला र २२ दशमलव एक मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष पेश गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय