मोनिका कार्की
आवधिक निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष हो । नेपालमा यसलाई सुव्यवस्थित गर्न संवैधानिक निकायका रूपमा निर्वाचन आयोग रहेको छ । नेपालमा गत बैशाख ३० गते स्थानीय चुनाव भयो । अब यही मंसिर ४ गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको (प्रत्यक्ष र समानुपातिक तर्फबाट) चुनावमा मतदान हुनेछ ।
के हो भ्रामक-मिथ्या सूचना ?
सूचना वास्तवमै असत्य वा अर्धसत्य हो भन्ने जानेर वा नजानेर विभिन्न माध्यमबाट त्यस्तो सूचना सम्प्रेषण गरिन्छ । नियतवश वा अन्जानमा नै फैलने गलत सूचना नै भ्रामक र मिथ्या सूचना हो ।
यो कति बेला फैलन्छ ?
द्वन्द्व, प्राकृतिक प्रकोप, सङ्कट काल, चुनाव (राजनीतिक घटना) हुँदा मानिस प्राकृतिकरूपमा नै अलि ज्यादा सक्रिय र अधैर्य हुन्छ । यस्तो अवस्थामा गलत सूचना तीव्र गतिमा फैलिएको पाइन्छ ।
यसको उद्देश्य ?
जनमानसमा नकारात्मक प्रभाव पार्नु, परिस्थिति आफ्नो पक्षमा अनुकूल बनाउनु, विपक्षीको चरित्र हत्या गर्नु, भ्रम पैदा गरेर भए पनि चुनावमा मत आफूतर्फ आकर्षित गर्नुजस्ता गलत काम यसको मुख्य उद्देश्य हो ।
निर्वाचनमा यसले कसरी प्रभाव पारेको हुन्छ ?
निर्वाचनको प्रक्रियाबाट नै उम्मेदवारले राज्यमा आफ्नो प्रतिनिधित्व गराउन सक्ने हुनाले यसलाई प्रतिस्पर्धा मानिन्छ । त्यसैले प्रतिस्पर्धी उमेदवार वा पार्टीलाई नकारात्मक असर पर्ने गरी भ्रामक र मिथ्या सूचना तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाइन्छ ।
यसको सिकार कुन वर्ग हुनेगर्छ ?
मूलतः सामाजिक सञ्जाल र अनलाइन मिडिया युवावर्गले नै अत्यधिक प्रयोग गर्ने कारण तुलनात्मकरूपमा त्यही समूह भ्रामक, मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिको सिकार भएको र त्यस्तो सूचना फैलाउन प्रमुख भूमिका खेलेको पाइन्छ ।
यसबाट बच्ने उपाय?
सामाजिक सञ्जाल र अनलाइन मिडियाको प्रयोग गर्दा केही हदसम्म सचेत भए यसबाट बच्न सकिन्छ । सम्प्रेषित सूचनाको आधिकारिकता जाँच गर्नै, स्रोत, लेखक, प्रकाशक, प्रकाशन मिति र घटनाको विस्तृत विवरणमा ध्यान दिएर तुलनात्मक विश्लेषण गरे यसबाट बच्न सकिन्छ ।
निर्वाचनमा यसरी फैलने भ्रामक र मिथ्या सूचना र तथा द्वेष पूर्ण अभिव्यक्तिले मतदाताको मानसपटलमा नकारात्मक प्रभाव पर्छ । उनीहरूमा आफ्नो निर्णय क्षमतामै दुविधा उत्पन्न हुने र गलत व्यक्तिले यसको फाइदा उठाउँला गलत व्यक्ति निर्वाचित हुँदा यसबाट जोगिन जरुरी हुन्छ ।
यसका लागि निर्वाचन आयोगको समन्वयमा विभिन्न सङ्घसंस्थाले प्रशिक्षण दिने कार्यक्रम भइरहे पनि लक्षित वर्ग भने छुटेका हुन् कि भन्ने शंका अझै छ । सूचनाको हक, गोपनीयता र पहिचान सधैँ आवश्यक हुने र समाजलाई गलत प्रभावमा पर्नबाट रोक्नुपर्ने भएकाले जनचेतनामूलक सन्देश एवं कार्यक्रम सञ्चालन गरिनु आवश्यक देखिएको छ ।