देउखुरी । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङका तीन क्षेत्रमा आठ महिला उमेदवार प्रतिस्पर्धामा छन् ।
दाङ क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)की शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन् । घोराही उपमहानगरपालिका–४, डाँडागाउँकी चौधरी पूर्वकमलरी हुन् । २५ वर्ष कमलरी जीवन बिताएकी चौधरी एमालेको सचेतक हुँदै संसद्को प्राकृतिक स्रोत समितिको संयोजक समेत भइन् ।
उनले कमलरी र गरिब किसानका हक, अधिकारबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । देउखुरी उपत्यकाको राप्ती नदी र अरू खोलामा तटबन्ध गर्ने उनको प्रतिबद्धता छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी सत्गौवा पनि चुनावी मैदानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिएका छन् ।
दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा छन् । देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाका १, २, ३ र ५ वडा दाङ क्षेत्र नम्बर–१ मा पर्छन् ।
दाङ–१ ‘क’ मा ७० हजार २६७ र ‘ख’ मा ६४ हजार ४६६ मतदाता छन् । क्षेत्र ‘क’ मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ । क्षेत्र नम्बर–१ ‘ख’ मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।
दाङ क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा मुख्य प्रतिस्पर्धी छन् । शर्माले आमाको नामबाट नागरिकता पाउनुपर्ने विषयलाई उठाएकी छन् ।
नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा छन् । दाङ–२ मा प्रतिनिधिसभातर्फ दुई महिला प्रतिस्पर्धीमा छन् । क्षेत्र नम्बर–२ ‘क’ मा ६३ हजार ३२२ तथा ‘ख’ मा ७० हजार ४२६ मतदाता छन् । क्षेत्र नम्बर–२ ‘क’ मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र तथा क्षेत्र नम्बर–२ ‘ख’ मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको छ ।
दाङ क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली, सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा छन् । दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ ।
पूर्वसञ्चारकर्मी एवं गायिका वली २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर–३ बाट समानुपातिक सांसद चुनिएकी थिइन् । क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फ महिला उमेदवार वली मात्र हुन् ।
क्षेत्र नम्बर–३ ‘क’ मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नम्बर–३ ‘ख’ मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
दाङमा चार लाख १९ हजार ९२४ मतदाता छन् । १५३ मतदानस्थलमा ४६५ मतदान केन्द्र तोकिएको छ । रासस