बूढानीलकण्ठ । मंसिर ४ मा हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता गरियो ।
दलहरु गठबन्धनको सिट मिलाउन र व्यस्त भए । कांग्रेस नेता प्रदीप पौडेलेको चाहना तनहुँ २ बाट निर्वाचन लड्ने थियो ।
तर, पार्टीबाट रामचन्द्र पौडेलले जिल्लाको क्षेत्र नम्बर १ र शंकर भण्डारीले २ मा टिकट पाउँदा पौडेल ‘जिल्ल’ परे ।
पार्टीमा नेता कृष्णप्रसाद सिटौलानिकट उनलाई टिकटमा निराश भने हुनुपरेन । काठमाडौं क्षेत्र नम्बर ५ बाट उनको टिकट पक्का भयो र २३ गते गएर उमेदवारी दर्ता गराए ।
काठमाडौं–५ मा प्रदीपले सहज टिकट पाएका हैनन् । महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य नैनसिंह महर तथा अर्थविद् डा. स्वर्णिम वाग्लेसम्मको चर्चा यहाँ भयो ।
वाग्लेले सार्वजनिक सभामै टिकट दिए चुनाव लड्छु भने । तर, यो क्षेत्र नाम लेखिएका कसैको पनि क्षेत्र थिएन ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले यो क्षेत्रबाट ०७४ को निर्वाचन लडिसकेका छन् । त्यसअघि नरहरी आचार्यले चारतारे झण्डामय बनाएको इतिहास छ । महतले भने त्यो लिगेसी राख्न सकेनन् ।
महतले चुनावी समीकरण बुझेरै हुनुपर्छ गृह जिल्ला अर्थात् नुवाकोट फर्केर चुनाव लड्न चाहेको । टिकट महतको हातमा नपरेपछि उनले सहज बाटो अर्थात् समानुपातिकको अग्र स्थानमा नाम लेखाए । अनि नेता पौडेललाई टिकट पाउन असहज भएन ।
उमेदवारी दर्ता गराएसँगै चुनाव जित्नुपर्ने दायित्व पौडेलेको काधमा छ । उनी घरदैलो कार्यक्रममा व्यस्त छन् । जनतामाझ गइरहेका छन् । क्षेत्र नम्बर ५ का लागि भनेर १७ बुँदामा संकल्पपत्र जारी गरेका छन् ।
उनी आफ्नो एजेन्डा सोही संकल्पपत्रमार्फत जनतालाई बुझाउन लागि परेका छन् । उनले जति आक्रामक ढंगबाट प्रचार गर्न खोजिरहेका छन् त्यतिनै चुनौती मतदाता रिझाउनमा छ ।
काठमाडौंमै बसेर राजनीति गरे पनि प्रत्येक मतदातालाई परिचय दिनुपर्ने बाध्यता उनीमा छ । प्रतिष्पर्धी एमाले शीर्ष र प्रभावशाली नेता तथा पूर्व मन्त्री ईश्वर पोखरेल, स्वतन्त्र उमेदवार रञ्जु दर्शना, श्री गुरुङ चुनौतीको रुपमा उभिएका छन् । यहाँ ‘कोर दरबारिया’ भोट पनि निर्णायक फ्याक्टर हो । ‘राप्रपा उमेदवार भए पनि दरबारिया फ्याक्टर महत्वपूर्ण पाटो हो’ कांग्रेसभित्रै चर्चा छ ।
प्रदीप पौडेलसँगै बुढानीलकण्ठको उकालो चढ्दा
स्थलगत चुनावी कभरेजका लागि सोमबार बाह्रखरीको टोली पौडेलको घरदैलो तथा चुनावी सभामा सँगसँगै यात्रा गरेको थियो ।
बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा पौडेलको घरदैलो कार्यक्रम रहेको थियो । यात्रा बिहान करिब ७ः३० बजेबाट सुरु भयो ।
भौगोलिक रुपमा यो क्षेत्र तुलनात्मक रुपमा सुगम छैन । उकालो र असहज साँघुरो बाटो तथा घनाबस्ती छैन । पौडेल बूढानीलकण्ठ नगरपालिकाबाट बिहान ७ः३० बजे उकालो बाटो लागे । उनका साथमा कांग्रेस र माओवादीको झण्डासहित नेता कार्यकर्ता पनि अघि पछि लागे ।
“नमस्कार म प्रदीप पौडेल । भोट दिनुहोला है,” हात जोडेर नमस्कार गर्दै पौडेल अघि लागे ।
उनका सहयोगीहरुले पर्चा दिँदै ‘उहाँ प्रदीप पौडेल हो । यहाँबाट चुनाव लड्नु भएको छ रुखमा भोट हालेर जिताउनुहोला, युवा नेता हो उहाँ,’ भन्दै पौडेलको प्रतिवद्धता पत्र दिँदै भोट मागे ।
पौडेलको हिँडाइ रफ्तार सामान्य थिएन । उकालोमा हात जोड्दै, नमस्कार गर्दै हिँडिरहे । जनताले हामी भोट दिन्छौं भने कतिले कुनै ‘रेस्पोन्स’ गरेनन् । नमस्कारमात्र फर्काए । चुनावी प्रचारका लागि सबै स्थानमा पुग्नुपर्ने भएकाले पनि उनी छिटो–छिटो हिँड्नुपरेको उनको निकटस्थहरुले सुनाए ।
‘समय छोटो छ । धेरै हिँड्नुपर्ने छ । सकभर घरघर पुगेर जनतालाई कन्भिन्स गराउने हो,’ भीडबाट आवाज सुनियो ।
पौडेललाई हतार आफैँलाई चिनाउनु र भोट तान्नुमा थियो । उनको लागि ‘नयाँ अनुहार’ भन्ने भाष्यलाई ट्याकल गर्नुपर्ने चुनौती प्रस्टै देखिन्थ्यो ।
किनभने ०७४ को निर्वाचनमा तनहुँ २ बाट प्रदेशमा चुनाव लडेर पाँच मतको झिनो पराजय भोगेको अनुभव उनलाई छ । उनले यसको विरुद्ध अदालतमा मुद्दा पनि हाले । तर, फैसला भएको छैन ।
पौडेललाई लिएर वडा कमिटी, नगर कमिटी र क्षेत्रीय कमिटी चुनावी प्रचारमा हिँडेको थियो । माओवादी नेता कार्यकर्ता पनि सँगै थिए ।
घरदैलो सकिने बेला ‘कांग्रेसलाई मत माग्दामाग्दै हामी पनि कांग्रेस भइन्छ जस्तो छ’ माओवादी निकट एक महिला नेतृले ठट्टा गरिन् ।
मतदाताहरु कतिपय घरभित्रैबाट नमस्कार फर्काउँथे भने कतिपय भने चुपचाप बस्थे ।
उकालो हिँड्दै गएपछि पौडेल र उनको टिम ठूलागाउँमा रहेको चिसिनी बुद्ध गुठीमा पुग्यो । त्यहाँ सामान्य चियानास्ता गरेपछि कार्यक्रमलाई उनले सम्बोधन गरे ।
“यहाँ भोट किन्ने प्रयास हुन्छन् । मेरो विनम्र अनुरोध छ तपाईंहरु मत नबेच्नु होला । मत किन्न खोज्नुभनेको तपाईंको अपमान हो,” सम्बोधनका क्रममा पौडेलले भने, “म कुरा विनम्र अनुरोध गर्न चाहन्छु भोट हाल्ने बेलामा गम्भीर हुन जरुरी छ । भोट हाल्ने भनेको खाली कागजमा दस्तखत गर्ने हो । खाली कागजमा दस्तखत गरेर कसलाई दिइन्छ जसलाई सबैभन्दा बढी विश्वास गरिन्छ र धोका दिँदैन भन्ने लाग्छ हितमा काम गर्छ भन्ने लाग्छ ।”
उनले प्रतिष्पर्धी तथा एमाले उमेदवार ईश्वर पोखरेलप्रति इंगित गर्दै भोट दिए पनि निराश बनाउनेहरुलाई भोट नहाल्न अनुरोध गरे । साथै अरुबेला नेतालाई गाली गर्नेले चुनावबाट उपयुक्त पात्रको खोजी गर्ने विकल्प आएको भन्दै मतदातालाई भोट हाल्न अनुरोध गरे ।
“जनतलाई लुट्ने र आफ्नो हित हुन्छ भने जनतलाई दुःख दिनेलाई खाली कागजमा सिग्नेचर गरेर भोट नदिनुहोला,” पौडेलले भने, “भोटले मात्र परिवर्तन र विकास तथा सुशासन आउँछ । अब क्रान्तिबाट परिवर्तन हुँदैन निर्वाचनबाट परिवर्तन गर्नुपर्छ । नेताहरु बदमास भए भनिरहँदा त्यो कुरा सच्याउने समय चुनाव हो । विगत बुझेर मतदान गर्न अनुरोध गर्दछु ।”
उनले काठमाडौं मात्र होइन देशको राजनीति सफा गर्ने पनि मतदातामाझ कुरा राखे ।
चिसिनी बुद्ध गुठीबाट प्रचार टोली पुनः ओरालो झर्यो । एक फन्को मार्दै बाटोमा भोट माग्दै बजार एरियामा पौडेल आइपुगे र कसैलाई बाहिरबाटै त कसैलाई घरभित्रै पसेर मत मागे । पसल पसल छिरे । स्थानीय नेताले चिनाएको व्यक्तिहरुलाई हात जोड्न छाडेनन् । ६५ नाधेका एक मतादाताले आफूले भोट दिने बचननै दिए ।
“तपाईंको तलको भाषण मैले हेरेको थिएँ । म तपाईंलाई भोट हाल्छु । युवा पनि हुनुहुन्छ,” ती मतदाताले भने । प्रदीप अघि बढे ।
करिब ११ बजेतिर ३ नम्बर वडाको प्रचार सकियो । उनले पसल पसलमा मात्रै मत मागेनन् । बूढानीलकण्ठ मन्दिमा दर्शन गर्न लाइनमा उभिएकाहरुलाई समेत मत माग्न भ्याए ।
बीसीडीको कन्सेप्ट र १७ बुँदे प्रतिवद्धता
पौडेलले आफ्नो प्रचारसँगै १७ बुँदे घोषणापत्र बोकेर हिँडेका छन् । मतदातासँग पर्याप्त समय लिएर छलफल गर्ने समय नभएको उनीसँगै रहेका विद्यार्थी नेता वलदेव तिमल्सिनाले गुनासो गरे ।
प्रतिवद्धतापत्रमा सर्वसुलभ गुणस्तरीय शिक्षामा सीपमुलक व्यवहारिक ज्ञान, व्यस्थित पार्किङसहितको खुला र सुरक्षित सडक, सहज सुलभ र गुणस्तरीय स्वास्थ्य सेवासहित प्रणाली सवलता र सबैको स्वास्थ्य विमाको विषय प्राथमिकतामा छ ।
पौडेलले आफ्नो संकल्पपत्रमा कला संस्कृतिको पहिचान र संवद्र्धन, सबैको घरधुरीमा स्वच्छ खानेपानी, रोजगारीको व्यवस्था, युवा तथा खेलकुद, जनसहभागिता, दिगो विकासलगायत विषयलाई प्राथमिकता दिएका छन् ।
प्रतिवद्धतामा उनले नयाँ कन्सेप्टको रुपमा बी.सी.डीलाई राखेका छन् । अर्थात् ब्रेन ड्रेन अर्थात् प्रतिभा पलायन अर्थात् शिक्षित युवापुस्ता स्वदेश छाडी विदेश पलायन हुनु, करप्सन अर्थात् नेपालको अर्थ–राजनीति र सेवाप्रवाहमा भ्रष्टाचारले प्रश्रय पाउनु र विकासको रुपमा दिगो विकास नहुनु र समृद्धिको गति तीव्र बन्न नसक्नु विडम्वना भएको उल्लेख गरेका छन् ।
बीसीडी अन्तर्गत शिक्षा र स्वास्थ्यमा पहुँच, रोजगारीका अवसर वृद्धि, भ्रष्टाचार र बेथितिको अन्त्य तथा भौतिक, सामाजिक, मानवीय र साँस्कृतिक समुन्नतिका लागि पाँच वर्षको प्रस्ट कार्ययोजना ल्याउने उनले उल्लेख गरेका छन् ।
यस्तै विदेशमा रही विभिन्न पेशामा संलग्न कर्मशील व्यक्तित्वहरुसँग संवाद र सहकार्यमा गरि क्षेत्र नम्बर ५ को विकास साथै ‘नेपालमा नै भविष्य छ’ भन्ने विश्वास जगाउन बहुप्राविधिक र जीवनोपयोगी शिक्षाका लागि पूर्वाधारको थप विकास गरी उद्यम र बजारको समानान्तर प्रवद्र्घन गर्ने लक्ष्य राखिएको प्रतिवद्धता पत्र प्रदीपको छ । उनले आफू अहिलेसम्म कुनैपनि बेथितिमा संलग्न नरहेको स्वघोषणा गर्दै आगामी दिनमा पनि कुनै किसिमको अनैतिक लोभ–लालसामा नपर्ने र त्यस्ता गतिविधिमा संलग्न जो कोहीविरुद्ध शून्य सहनशीलतासहित प्रतिवाद दाबी गरेका छन् ।
पौडेलको प्रतिवद्धता हेर्नुस् :–