साँखु(काठमाडौं) । गत वर्षको चैत १० मा थलीका स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरे । जोरपाटी–साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै उनीहरु बाटो अवरुद्ध गर्न बाध्य भएका थिए ।
वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्या समाधान नभएपछि उनीहरु सडक ठप्प पार्ने स्थितिमा पुग्नुपरेको थियो ।
बन्द सडक खुलाउन वाग्मती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाल पुगेका थिए ।
उनलाई जनताले घेरामात्र हालेनन् प्रश्नै प्रश्नको घेराबन्दी गरे । ठेकेदारलाई दोष देखाउँदै उनी त्यहाँबाट बाटो खुलाउन आग्रह गर्दै हिँडेका थिए ।
०७४ अघि यो सडक खण्डको अवस्था नाजुक थियो । चाबहिल वौद्धदेखि साँखुसम्म १३ किलोमिटर बाटोको अवस्था हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने बिडम्बना थियो ।
यात्रा, बन्द व्यापार, विद्यार्थी तथा पर्यटन व्यवसायमा नकारात्मक असर परेको थियो ।
सडक विस्तारको नाममा जनताले दुःख पाएका थिए । हिले साहित्य, धान रोपाइ कार्यक्रमदेखि जनताले विरोधको अनेक हतकण्डा अपनाएका थिए ।
०७९ मा आइपुग्दा अवस्था उस्तै त छैन तर सबै समस्या समाधान भइसकेको अवस्था पनि होइन । ठाउँ ठाउँमा समस्या ज्यूँका त्यूँ छ । थलीस्थित कान्तिपुर कलेजदेखि सोल्टीमोडसम्म बाटो बनेको छैन ।
चुनावी स्थलगत रिपोर्टिङमा आइतबार हामी यो सडकखण्ड हुँदै अघि बढेका थियौँ । काठमाडौं क्षेत्र नम्बर २ को स्थलगत चुनावका लागि अघि बढ्दा यहाँको जनताको गुनासो सुनियो ।
यो क्षेत्र २ नम्बर क्षेत्रमै पर्छ । एक दशकदेखि थलीमा इलेक्ट्रिक पसल गरिरेहका कृष्ण प्रसाद सापकोटाले यहाँ नेताभन्दा ठेकेदार बलियो भएको भन्दै बाटोले गर्दा पाएको दुखेसो पोखे ।
“आन्दोलन कति पो गर्ने, १५–१५ दिनमा आन्दोलन ग¥यो भोलीबाट बाटो बन्छ भन्छन् । अलि अघि आन्दोलन गरेपछि मंसिर ७ गते पिच गर्छु भन्थे,” उनले बाह्रखरीसँग गुनासो गरे,“मेयर, पूर्वप्रधानमन्त्री, सांसद सबैको बाटो छेकियो । तर, अहँ काम भएन । अहिले दिएको भाका पनि सबै चुनाव टार्ने विषय मात्र होला । मारमा हामी जनता परेका छौं । नेताहरु पनि नहिडाएको हैन । तर, यहाँको ठेकेदार नेता भन्दा बलियो भए ।”
काठमाडौंका उत्तरपूर्वी गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकालाई जोड्ने लाइफलाइन सडकको रुपमा चाबहिल–जोरपाटी–साँखु सडकखण्ड हो ।
सरकारले आव ०७२–७३ मा काठमाडौं उपत्यकाका मुख्य सडक विस्तार योजना अगाडि बढाएपछि सडक विभागअन्तर्गत सडक विस्तार आयोजनाले १४ देखि १६ मिटरका सडकलाई दायाँबायाँ विस्तार गरी चार मिटर फुटपाथ र ड्रेनसहित २२ मिटर चौडा बनाउन ठेक्का लगायो ।
तर, सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयवासी मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगे ।
स्थानीयवासीको मागअनुसार भत्किएका घर र प्रयोग भएको जग्गाकोसमेत मुआब्जा दिनुपर्ने सर्वोच्चको आदेशपछि सरकारले सडक निर्माणको वातावरण सिर्जना गर्न सकेन ।
असोज ०७२ मै ठेक्का सम्झौता गरे पनि साइट क्लियर नभएपछि ठेकेदार कम्पनीलाई काम नगर्ने सुविधा मिल्यो ।
०७४ सालमा ठेक्का सम्झौता सकियो । तर, जग्गाको मुआब्जाको विवाद मिलेन ।
“अझै पनि मुआव्जाको विवाद मिलेको छैन । सर्वोच्चको आदेश, जनताको माग र सरकारको कुरा मिलेको छैन भन्ने सुनिन्छ,” उनले भने ।
बाह्रखरीसँग उनको गुनासो यतिमै सीमित भएन । उनले बाटोकै कारण व्यापारले गति लिन नसकेको जिकिर गरे ।
“एक दशक भइसक्यो मैले यहाँ पसल सुरु गरेको । सधैँभरि धुलो हिलो रतिभर फरक आएको छैन । बिहान सध्ये आएको मान्छे बेलुका रुघा लागेर जानुपर्छ,” उनको दुखेसो छ,“जुनै नेता आएपनि यति बाटो त बनाउन सकेनन् भने देश विकास कसरी गर्छन् ? व्यापार खस्केको छ । बिहान सामान बाहिर निकाल्यो दिनभरिको धुलोेले बेलुका भित्र राख्दा धुलोले नचिन्ने हुन्छ ।”
अहिले यहाँका जनता बाटो बनाउनेलाई मात्र भोट दिने पक्षमा रहेको उनले सुनाएपछि हामी अलि अघि बढ्यौं ।
स्थानीय ‘रैथाने’ राजकुमार श्रेष्ठ पसलमै भेटिए । श्रेष्ठ विगत लामो समय देखि किराना र तरकारी पसल गर्दै आएका छन् । हामीसँगको संवादमा उनले यसपटक कसलाई मत हाल्ने भन्ने निर्णयमा पुगिनसकेको बताए ।
उनलाई पुरानो दलहरुप्रति सद्भाव छैन भने नयाँ उमेदवारप्रति पनि उत्साह दखिएन ।
आफू र आफ्नो परिवारसँग ५० हाराहारीमा मत भएको भन्दै उल्टै हामीसँग कसलाई मत हाल्दा उपयुक्त होला भन्दै प्रश्न गरे ।
“एमाले–कांग्रेस यी पार्टीहरुलाई पटक पटक भोट हालिसक्यो हाम्रो परिवारले । तर, हेर्नुस् त बाटोको अवस्था । व्यापार गर्न गाह्रो भइसक्यो, हामीले अरु हैन विकास पो मागेको हो त,” गुनासो मिश्रित स्वरमा उनले भने,“मेरो परिवारसँग करिब ५० भोट होला । यसपटक यी पुराना पार्टीलाई त भोट हाल्दिन । तपाईंहरु पत्रकार भन्नुस् त कसलाई भोट हाल्दा बाटोको समस्या हल गर्लान् ?”
हामीले मतदाताको गुनासो नेकपा(एस) का नेता भरतप्रसाद फुयालसँग राख्यौं ।
उनले माधव नेपालको क्षेत्रमा हुन लागेको विकास गर्न तत्कालीन ओली सरकार लागि परेको उल्टो आरोप लगाए ।
“यो माधव नेपालको क्षेत्र यहाँ ब्लक गर्नुपर्छ भन्ने प्रयास व्यापक भयो । समयमा काम लगाउनुपर्ने निकाय तँ कुटेजस्तो गर म रोए जस्तो गर्छु भने जस्तो गरी प्रस्तुत भयो,” उनले बाह्रखरीसँग भने, “अहिले गठबन्धनको साझा खाका बनाइरहेका छौं त्यसमार्फत केही समयभित्रै अघिल्ला योजना सम्पन्न गर्नेछौं भनेर हामीले जनतालाई भनिरहेका छौं । कतिपय काम विधिमार्फत् सम्पन्न गर्नेछौं । काम नगर्ने ठेकेदारमाथि एक्सन लिएर भने पनि सम्पन्न गर्नेछौं ।”
श्रेष्ठसँग संवाद पछि हामी अर्को चोक डाँची पुग्यौं । श्रेष्ठ किराना स्टोरका सञ्चालकसँग संवाद गर्यौं । आफू रैथाने बासी भएको बताउने उनले आफ्नो नाम भने खुलाउन चाहेनन् । तर, निर्वाचन प्रति रतिभर उत्साह उनमा रहेनछ ।
“हामीलाई चुनाव न सुनाव । नेता को आए गए मतलब हुँदैन । भोट दिनुमात्र त हो त्यसपछि फर्केर आउने पनि हैनन्,” उनले भने ।
थली, डाँची क्षेत्रमा सघन सहरीकरण भइसकेको छैन । मानिसहरु पसल मात्र होइन आफ्नो खेतबारी हुनेहरु खेतीकिसानी गरिरहेको देखिन्थ्यो ।
बाटोमा भेटिए ६३ वर्षीय अर्जुन घिमिरे । घिमिरेले आफूलाई कांग्रेसको पुराना कार्यकर्ता भएको बताए । ‘सुन्नुस् बाबु म ०३६ सालको कांग्रेस हो । अहिले कांग्रेस पनि कहाँ पहिलाजस्तो रह्यो र’ उनले भने ।
उनले आफूलाई कांग्रेस भनेर चिन्ने भएर होला भोट माग्न कोही पनि नआएको हुन सक्ने बताए । ०७४ को निर्वाचनमा पनि कांग्रेसलाई भोट हालेका उनलाई गठबन्धन भने पटक्कै मन परेको पाइएन ।
“टाउकोको मूल्य तोक्ने र मूल्य तोकिने दुवै एकअर्काको काखमा बसेका छन् । यस्तो पनि राजनीति हुन्छ र बाबु ?,” उनले प्रश्न गरे ।
अनि यसपटक रुखमा भोट हाल्न नपाउनुहुने भयो नि भन्दा उनले परिवर्तनको पक्षमा आफू उभिने बताए तर, भोट कसलाई हाल्ने भने उनले भनेनन् ।
“माधव नेपालले जितेर गएको भए यस्तो हुन्थ्यो र ? उता हेर्नु त त्यो एउटा पुल पनि बनाउन सकेको छैन । कसरी परिवर्तन हुन्छ र?,” उनको गुनासो सुनियो ।
कागेश्वरी मनोहरा १ मा भेटिएका कृष्णबहादुरलाई भने युवा पुस्ताको भविष्यप्रति गम्भिरता देखियो । ८६ वर्षीय उनमा अहिले आएका स्वतन्त्र उमेदवार र अन्य नयाँ दलप्रति पनि उत्साह भेटिएन ।
“खेती गर्ने बेला मल छैन । महँगी बढेको बढ्यै छ । कोही नेताले पनि जिताएर विकास गरेको होइन । आफ्नै मान्छेमात्रै हेरेको देखिन्छ काखी च्यापेका छन्,” उनले चिन्ता व्यक्त गरे, “नयाँ पनि उस्तै हुन यहाँ कोही पनि काम गर्न आएका हैनन् । सबै आफ्नालाई पोस्न आएका हुन् । हामी त जीवनको अन्तिमतिर छौं । तपाईंहरुको पुस्ताको भविष्य खै यसरी कसरी सुरक्षित होला र ?”
भौगोलिकरुपमा काठमाडौं क्षेत्र नम्बर २ ठूलो छ । अन्य क्षेत्रको तुलनामा विकासमा पनि यो क्षेत्र पछि परेको छ । ०७४ को निर्वाचन यहाँबाट नेकपा एमाले नेता माधवकुमार नेपालले जितेका थिए ।
खसेको ५३ हजार ४५ मत मध्ये ५१ हजार २५५ मत मात्र गणना भएको थियो । जसमा नेपालले २७ हजार ३६६ मत पाएका थिए । उनका प्रतिष्पर्धी कांग्रेसका दिपक कुईँकेलले १४ हजार ९०३ मत ल्याएका थिए ।
जबकि विवेकशील साझाका सूर्यराज आचार्यले ७ हजार ४३७ मत ल्याएका थिए । गएको चुनावमा वाम गठबन्धन गरेर एमाले माओवादी चुनाव लडेको थियो ।
पाँचवर्ष पश्चात् राजनीतिक समीकरण बदलिएको छ । एमाले सग्लो पार्टी छैन । माओवादीसँग उसको गठबन्धन छैन ।
०७४ मा जितेको माधव नेपाल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष छन् अर्थात् एमालेमा छैनन् ।
यहाँ कांग्रेस माओवादी नेकपा(एस) सहितको वाम–लोकतान्त्रिक गठबन्धन छ । गठबन्धनको तर्फबाट साझा उमेदवार माओवादी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्ती उमेदवार छन् ।
यस्तै नेकपा(एमालेबाट) मणिराम फुयाल, जसपाबाट गोपालबहादुर टन्दुकार, लोसपबाट मधुसुदन पुडासैनी तथा राप्रपाबाट कुन्तीदेवी पोखरेल उमेदवार छन् ।
यस्तै नेमकिपाबाट अनिल श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम उमेदवार छन् । यी उमेदवार मध्ये राप्रपा उमेदवार कुन्तिदेवी पोखरेल र स्वतन्त्र पार्टी उमेदवार सोविता गौतमको मतले गठबन्धन र एमाले उमेदवारलाई जितमा निकै चुनौती थप्ने विश्लेषण हुने भइरहेको छ ।
हामीले घरदैलो अभियानमा रहेका गठबन्धनकै तर्फबाट २(२) का प्रत्यक्ष उमेदवार भरत प्रसाद फुयालसँग संवाद गरेका छौं ।
उनी एकिकृत समाजवादीको तर्फबाट वाग्मती प्रदेश सभा सदस्य उमेदवार बनेका हुन् । प्रस्तुत छ संवादको सम्पादित अंश :–
घरदैलोमा हुनुहुन्छ चुनावी माहोल कस्तो छ?
माहोल उत्साहप्रद छ । समाजका नागरिक हाम्रा दाजुभाइ दिदीबहिनीले घर बाहिर निस्किएर घडा राखेर स्वागत गरिरहनुभएको छ ।
फूलमालाले हामीलाई स्वागत गरिरहुनभएको छ । जनतामा उल्लास देखिन्छ । हामीलाई साथ दिइरहनुभएको छ ।
यो माधव नेपाल निर्वाचित हुँदै आएको क्षेत्र हो । तर मतदाताको गुनासो पनि छन् नि !
हामी आशावादी थियौं । दुई तिहाइ नजिक मत पाएको पार्टीका नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्यो । त्यो सरकार जनचाहना विपरीत गयो, त्यो सरकारले गर्न नसकेको कामको असर अहिले परेको छ ।