site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
ईश्वर पोखरेलको घरदैलोलाई पच्छ्याउँदा...

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५, काठमाडौंको रानीबारी चोक । सोमबार बेलुकीपख घरदैलो अभियानमा थिए नेकपा एमालेका उमेदवार ईश्वर पोखरेल ।

‘नमस्कार, भोट हालौं है’ भन्दै पुगेका पोखरेललाई एक मतदाताको जवाफ थियो– बल्लबल्ल ढिम्किन आउनुहुन्छ । अरू बेला वास्ता छैन, अहिले किन आउनुभएको ?”

पोखरेलले पनि जवाफ दिए– म यहाँ तीन पटक आइसकेँ । 

मतदाताले अर्को कुरा सक्न नपाउँदै पोखरेलसँगै रहेका अर्का एक नेताको जवाफ थियो– उहाँ किन सधैँ चाहियो, म छु नि यहाँ ।

ish21667877723.jpg

मतदाताको कुरा नसकिँदै अर्का एक नेताले ईश्वर पोखरेललाई ‘अब उहाँ भावी प्रधानमन्त्री हो’ भन्दै तान्छन् । 

पोखरेल त्यहाँबाट केही तल झरेर अर्का मतदाता भेट गर्न । उनीहरुको पनि गुनासो थियो– नेता चुनावका बेलाबाहेक आउँदैनन् । बाटो पिच भएको छैन । फेरि पनि पिच नभए मत नदिने उनीहरुको धारणा थियो ।

यो दृष्य सोमबार साँझ रानीबारी चोकको हो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य उमेदवार हुन् । 

उनले ०७४ को निर्वाचन पनि यहीँबाटै जितेका थिए । निर्वाचन जित्दै केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानसहित रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

पाँच वर्ष पश्चात् मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि पुनः अर्को जितको खोजीमा उनी पूरानै निर्वाचन क्षेत्रमा पुगेका हुन् ।

ish11667877723.jpg

पोखरेल निर्वाचन आयोगले कात्तिक १७ गतेबाट चुनाव प्रचारप्रसार गर्न दिएपछि निरन्तर प्रचारप्रसारमा व्यस्त छन् । 

घरदैलो गरिरहेका छन् भने क्षेत्रभित्र पर्ने अनेक कार्यक्रममा अतिथि भएर पुगेका छन् । 

बाह्रखरीले उनलाई पछ्याउँदा प्रदेशसभा उमेदवार दीपक निरौलालाई साथ लिएर काठमाडौं महानगरपालिका वडा नम्बर ३ को रानीबारीमा घरदैलोमा थिए । 

पहिलो चरणमा  जनताहरुमा अन्तरिक्रिया गरेपछि दोस्रो चरणको कार्यक्रम  अन्तर्गत घरदैलोमा हिडिँएको पोखरेलले सुनाए । 

“पहिलो चरणमा अन्तरक्रियामा व्यस्त भएँ । आयोगको अनुमति पाएपछि दोस्रो चरणमा चाहिँ मत माग्न घरदैलोमा छु,” उनले बाह्रखरीसँग भने ।

पोखरेलको घरदैलो प्रचार शैली नौलो देखियो । सामान्यतया पार्टीका कार्यकर्ता या मतदाताले उमेदवारलाई माला, खादा लगाइदिन्छन् । उनलाई पनि कार्यकर्ताहरुले माला खादा लगाएर स्वागत गरिरहेका थिए । 

ईश्वरको नौलो शैली के थियो भने घरदैलोमा आफूलाई स्वागत गर्न बसेका मतदतालाई आफूले लगाएको खादा निकालेर लगाइदिँदै हिँडे । 

उनले आफ्नो प्रतिवद्धता र चुनावपछिका योजनाहरु बाँड्दै मतदातालाई आफ्नै गलामा लगाएको खादा झिक्दै लगाउँदै गरिरहेका थिए । 

ish41667877724.jpg

रानीबारी क्षेत्रमा घरदैलो गर्ने क्रममा उनले मतदाताबाट भोट नपाउने भन्ने जवाफ त सुन्नु परेन । तर, प्रश्नै प्रश्नको घेराबाट बाहिर निस्किन चाहिँ सहज भएन । 


“हजुर मेरो घर यो हो । म एमालेकै भोटर हुँ । अघिल्लो पटक पनि भोट हालेको हो,” एक महिला मतादाताले भनिन्,“तर, यो बाटो हेर्नु त ।” 

ईश्वरले जवाफ फर्काउँदै भने, “म तीन पटक आएर अनुगमन गरेको छु ।” 

पोखरेल त्यहाँ रोकिएनन् । ती महिलाले भोट भने आफूले एमालेलाईनै हाल्ने प्रतिवद्धता जाहेर गरिन् । 

सोमबार साँझ बाह्रखरीले पोखरेलको चुनावी घरदैलोलाई करिब ३ घण्टा पच्छ्यायो । एमालेको पकड भोटर भएको भनिने यहाँ पोखरेलले रानीबारीको तिमलिङटार मार्गको सडक लामो समयदेखि नबनेकोमा मतदाताहरु रुष्टता मज्जाले खेप्नुपर्यो । 

घरदैलोकै क्रममा एक महिलाले सडक निर्माण नभएकोमा व्यंग्य हानिन् । 

“ए ! हजुर आइपुग्नुभएछ । झण्डै लड्नुभएन यो बाटोमा हिँड्दा?,” उनले भनिन्,“५ वर्षपछि आजै हो देखेको ।”

उनको व्यंङ्ग्यमा पोखरेल अवाक् भए । ए हजुर पनि फेरि.. भन्दै फिस्स हासे । 

पछि बाह्रखरीले उनको गुनासोबारे सोध्दा ती महिलाले भने थप बताउन चाहिनन् । आफू एमालेलाई निरन्तर भोट हाल्ने सच्चा मतदाता भएको स्वीकार गरिन् । तर, अब पार्टी भनेर चुप नबस्ने, जसले काम गर्ने क्षमता राख्छ उसैलाई भोट दिने भन्दै शान्त भइन् । 

ish31667877724.jpg

“पुराना नेता हुन् । उहाँ त माथि बस्ने मान्छे । यहाँकाले पनि गरेनन् । २–३ वर्षदेखि बाटो बिजोग छ ,” उनले बाह्रखरीसँग भनिन् । 

रानीबारी हुँदै बसुन्धारा ( चक्रपथ) जोडिने सडक नबनेकोमा यहाँका मतदाताको गुनासो सुनियो । केही स्थानीयहरु भने चुनाव जितेपछि नफर्किएको भन्दै असन्तुष्ट देखिए । 

तर, पोखरेलले आफू सोही क्षेत्रमा बस्ने भएकाले मतदातामाझ पुगिरहेको सुनाए । 

“म यही क्षेत्रमा बस्छु । मतदातामाझ नपुग्ने कुरा नै छैन । मेरा बारेमा फण्डा चलाइएको हो,” उनले बाह्रखरीसँग भने । 

मतदाताको गुनासोबारे प्रदेशसभाका उमेदवार दीपक निरौलाले ठेकेदारले समयमा नै काम नगरेको बताए । 

“सडकको दूरी धेरै होइन । ठेकेदारको लापरबाहीका कारण काम ढिलाई भएको हो,” उनले भने,“ ठेक्का लिने नगर्ने गर्नाले बाटो बन्न ढिला भयो । बाटो नबनेकाले गुनासो त गर्नु स्वाभाविक नै हो नि ।”

के छन् उनले बाँड्दै हिँडेको पर्चामा ? 

प्रचार सामग्रीमा क्षेत्र नम्बर ५ को दिगो विकासका लागि मतदान गर्न आह्वान गरिएको छ ।  उनले २८ बुँदे प्रतिबद्धता पनि मतदातामाझ पुर्‍याएका छन् । 

प्रतिबद्धतापत्रमा संविधानको रक्षा गर्नेदेखि स्थानीय समस्याहरु सम्बोधन गर्दै विकास गर्ने उल्लेख छ । 

युवालक्षित प्राविधिक तालिम सञ्चालन गर्ने, प्राविधिक शिक्षालय स्थापना गर्ने, प्राविधिक शिक्षालय स्थापना गर्नेलगायतका विषय समावेश छन् । 

ish51667877725.jpg

त्यस्तै बूढानीलकण्ठलाई ऐतिहासिक, धार्मिक क्षेत्रका रुपमा पर्यटकीय गन्तव्यस्थल बनाउनेलगायतका प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल उमेदवार छन् । यो क्षेत्रमा अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौं महागरमा मेयर उमेदवार बनेकी रञ्जु दर्शना, श्री गुरुङलगायत अन्य उमेदवारको पनि चर्चा उत्तिकै छ ।

तस्बिर : सुनिल प्रधान/ बाह्रखरी 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०८:५९
प्रतिक्रिया दिनुहोस्