site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
सांसदमात्रै होइन भोलि मुलुकको नेतृत्व गर्न मैदानमा उत्रिएको हुँ 

आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापा क्षेत्र नम्बर–१ बाट प्रमुख सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा संघीय संसद् सदस्यका लागि चुनाव लड्दैछन् । उनको यहाँबाट यो तेस्रो चुनाव हो । 

दुईपटक यही क्षेत्रबाट चुनाव लडेका शर्माले जित भने निकाल्न सकेका छैनन् ।   ०७० को संविधानसभा सदस्य र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा पराजित भए । 
 

यसपटक भने चुनाव जित्ने उनको योजना छ । २१ वडा रहेको उनको निर्वाचन क्षेत्रमा प्रचार प्रसार तिव्र छ भने उनी दैनिक ७ वटा वडामा प्रचार गर्दै हिँडिरहेका छन् । 
 

पार्टीको घोषणापत्र लेखन कार्यलाई समापन गरेर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा व्यस्त रहेका शर्मासँग उनकै निर्वाचन क्षेत्र पुगेर बाह्रखरीले कुराकानी गरेको छ । 
 

प्रस्तुत छ, महामन्त्री शर्मासँग बाह्रखरीका रोमन आचार्यले उनकै निर्वाचन क्षेत्र पुगेर गरेको संवादको सम्पादित अंश :

घरदैलो कार्यक्रम र चुनावी सभा गरिरहनुभएको छ । माहोल कस्तो बन्दै छ ? 

उत्साहपूर्ण छ । ऊर्जा भरिएको छ । लोकतन्त्रको एउटा अत्यन्तै महत्वपूर्ण यो अभ्यासलाई स्वस्थ्य ढंगले हामीले व्यवहारमा ल्याउन जरुरी छ । 

देशभर कतिपय ठाउँमा कमिकमजोरी देखिएको छ, त्यसलाई हामीले अन्त्य गर्दै जाने हो । 

लोकतान्त्रिक संस्कृतिका साथ परिणामलाई ग्रहण गर्ने हृदय बनाएर जानुपर्छ । हामी झापा १ मा विजयको नजिक पुगेका छौं ।
 
०७० मा थोरै मतान्तर र ०७४ मा भारी मतान्तरले चुनाव हार्नुभयो । तेस्रो प्रयासमा विशेष रणनीति के छ ? 

मान्छेले घोडा चढ्न सिक्दा पहिलो पटक नसिक्न र लड्न पनि सक्छ ।  अर्को पटक घोडा दगुराएर गन्तव्यमा जाँदै गर्दा पुनः लड्न सक्छ । 

जब मानिस अनुभवी हुन्छ, तब त्यसलाई राम्ररी कुदाउन सक्छ । ०७० को निर्वाचन मेरो परिचय र ०७४ को निर्वाचन अनुभवको निर्वाचन भयो । ०७९ को निर्वाचन परिणामको निर्वाचन बन्दै छ ।
 
राष्ट्रिय राजनीतिमा विश्वप्रकाशको नाम सबैतिर आउँछ । तर, तपाईंकै क्षेत्रका मतदाताले भने अवसर दिएर काम गराउन किन चाहेका रहेनछन् ? आफ्नै विश्लेषण के छ यसमा ?  

०७० सालमा मेरो आफ्नै कमजोरी रह्यो होला । झापामै जन्मिएँ, हुर्के । पढेँ बढेँ मात्र होइन जेलजीवन बिताएँ । र, विद्यार्थी हुँदै पार्टी राजनीति गरेँ । 

तर, गाउँमा मेरो कम परिचय भयो होला । ०७४ मा एकखालको परिचय बनेर सुदृढिकरण पनि भएको थियो । 

तर, एकाएक एमाले र माओवादी मिलेका थिए । त्यो अनपेक्षित परिणाम मात्रै थिएन स्वाभाविक पनि थियो । तर, अहिले परिदृश्य बदलिएको छ । 

म ०७० जस्तो अपरिचित पनि छैन । र, ०७४ सालमा जस्तो विपक्षमा गठबन्धन भएको र हामी कमजोर भएको अवस्था पनि छैन । अहिले एक्लै पनि छैनौँ । कमजोर पनि छैनौँ ।
 
दुई पटक पराजित भएको व्यक्ति समानुपातिक बस्छ कि भन्ने अनुमान पनि थियो । त्यो अफर पनि आएको थियो होला । संसद् छिर्ने त त्यो विकल्प पनि थियो होला नि ? 

समानुपातिकबाट पनि संसद् जाने प्रकृया हुन्छ । तर, दुई निर्वाचन हारेको कारणले पनि यो निर्वाचनमा म समानुपातिक बस्न हुँदैन थियो । 

पार्टीको महामन्त्री देशभरको मत लिएर बन्ने । तर, सांसद बन्ने कुरा चाहिँ मुल ढोकाबाट नगएर झ्यालबाट किन जाने भन्ने मैले सोचेँ । 

सुरुमै म समानुपातिक गएको भए एउटा कुरा हुन्थ्यो । तर, एउटा उचाइमा पुगेर समानुपातिक जानु तार्किक र उपयुक्त हुँदैन थियो । 

सुरक्षित ढंगले बस्न घोषणापत्रको संयोजक पनि थिएँ नै । देशभर भाषण गर्न जाने निम्तो थियो । निर्वाचन आयोगमा पार्टीको तर्फबाट तोकिएको व्यक्ति हेलिकोप्टरमा उड्ने नाम विश्वप्रकाशको पनि हुन्थ्यो होला । 

तर, बाँझो जोतेरै अन्न फलाउनु पर्छ, हरियालीमा उभिनु पर्छ । 

सांसद बन्ने मात्र होइन भोलि मुलुकको नेतृत्व गर्न जानुछ । त्यसैले म प्रत्यक्षतर्फनै जानुपर्छ भनेर चुनावी मैदानमा आएको हुँ । 
 
निर्वाचन क्षेत्र परिवर्तनको कुरा आयो । काठमाडौं ५ मा त निकै प्रचारनै गरियो । तर, तेस्रो प्रयास भन्दै तपाईं यतै आउनुभयो । जन्मभूमिको माया कि सेन्टिमेन्टल भोटको अपेक्षा हो ? 

संसारको जति रंगिन नागरिकता उपलव्ध भए पनि हामी किन फिक्काफिक्का रंगको कमसल कागजमा छापिएको नागरिकता रोज्छौँ भने आफ्नो देश, परिवार, जिल्ला, समुदाय, भूगोल वडा र घरको माया हुन्छ । 

दुई पटक हार्दै गर्दा पनि मलाई मत जनताले नदिएको त हैन । 

पहिलो पटक पनि मत पाएकै हो । दोस्रो पटक पनि समानुपातिकमा २४ हजार केही सय मत आउँदा प्रत्यक्षमा मलाईं ३३ हजार ३१० मत आएकै हो । 

त्यसकारण यतिधेरै माया गरेको भूगोललाई मैले छोडेर जानुहुँदैन । म अन्त गएर चुनाव जितौँला । तर, मैले मेरो क्षेत्र हारे पनि छोड्नु हुन्न । 

म यहाँ हात्तिको समस्याबाट प्रताडित नागरिकलाई कसरी छोड्न सक्छु ? भूमिहीनहरूको व्यापक समस्या छ । 

त्यो समस्या टुलुटुलु हेरेर कसरी जानु । चियाबगानमा पत्ति टिप्ने भाउजूहरू, चारआली काकरभिट्टा धुलाबारीमा इटाभट्टामा रिक्सा चलाइरहेका श्रमिक दाजूभाइ तथा ददीबहिनीहरू सबैलाई कसरी बिर्सनु ? मैले गर्नुपर्ने कर्तव्य राष्ट्रियरुपमै छ । 

‘थिंक ग्लोवल्ली वर्क लोकल्ली’ भनिन्छ । त्यसकारण म यहाँ चुनाव लड्न लागेको हुँ । जन्मेको भन्ने मात्र होइन कर्म गरेको ठाउँ पनि हो । व्यवहारमा देश जम्मै बुझ्छु भनिरहँदा अब धेरै कहाँ बुझ्छु भन्दा झापा क्षेत्र नम्बर १ बुझ्छु । 

परिस्थिति र भूमिका फेरिँदै छ । पक्कै संसदीय यात्राको रोडम्याप बनाउनु भएको होेला ?  

मैले हिजो राजनीतिक परिवर्तन भन्ने एजेन्डा उठाएको थिएँ । म त्यसलाई संसद्मा पुर्याउने छु ।  दलहरूको गतिविधि नियाल्दै कहाँकहाँ चुकेका छौँ, करेक्स गरेर दबाव दिन मेरो भूमिका हुनेछ । 

गठबन्धन दलहरूले जनताको बिचमा गएर गठबन्धन गरेर बहुमत लिएर आउने । 

तर, कतै दुर्घटनामा पर्ने हो कि भन्ने आशंकालाई चिर्न खबरदारी गर्ने कुराको भूमिका निर्वाह गर्ने काम पनि म बाट हुनेछ । 

आफ्नाले गरेको सही र अर्कोले गरेको गलत भन्ने प्रवृत्तिबाट मुक्त रहेर आफ्नाले गल्ती गरे पनि औँला ठड्याउने र अर्काले सही गरे समर्थन गर्नेमा मेरो पूर्ण समर्थन रहनेछ । 

विवेक पूरा गर्ने कर्तव्य निर्वाहमा म लाग्नेछु । त्यो परिपक्वताले मलाई व्यक्तिगत रुपमा मात्रै होइन लोकतन्त्र र संसदलाई बलियो बनाउन सहयोग गर्नेछ । 

जनताको बिचमा बलियो बनाउन कसिलो एजेन्डा र सरकार सफल बनाउन भूमिका हुन्छ । 

यो समग्रताको कुरा भयो । मैले बोल्दै गर्दा झापा १ को पनि कुरा उठाउँछु । 

कर्णालीको कुरा पनि बिर्सिन्नँ । मधेसको जटिल विषय पनि उठाउँछु । तर, मेरो भूगोल र माटो झापा १ उच्च प्राथमिकतामा हुन्छ । 

सांसदको कुरा अलवा आवश्यकताअनुसार पार्टीको महामन्त्री भएको र जिम्मेवारीमा बसेको मान्छे भएकाले राजकीय जिम्मेवारीमा जाने कुरामा पनि म तयार हुनुपर्छ ।
 
मैले जोड्न खोजेको पनि यही हो, तपाईंले सार्वजनिक फोरममा गगन थापा प्रधानमन्त्री बन्दा प्रस्तावक विश्वप्रकाश हुन्छ भन्नुभएको छ । गगनलाई प्रधानमन्त्री बनाएर तपाईं चाहिँ कार्यकारी भूमिकामा जाने कि नजाने ?

हरेकले म प्र्रधानमन्त्री बन्छु भन्न जति सजिलो छ, अर्कोलाई प्रधानमन्त्री बनाउँछु भन्न त्यति नै गाह्रो छ । सँगैको सहयात्री भरसक कम उमेरको सहयात्रीलाई तिमी बन्नुपर्छ या ऊ बन्नुपर्छ भनेर प्रस्तुत् गर्ने उदाहरण अरु पनि होलान् ।

तर, मलाई सम्झना भएन । मैले मेरो भाइ साथीलाई भन्ने मात्र होइन भाइ साथी अरु थुप्रै होलान् । तर, देखिएकोमध्ये योग्य कोहो भन्ने प्रश्न बलियो हुन्छ । तर्क कसको पछि हुन्छ । कसलाई बनाउँदा त्यो विश्वसनीय, भरपर्दो, टिकाउ हुन्छ । 
र, म आफैँ त्यो पोष्टमा भएको अनुभूति गरेर जान्छु भन्ने कारणले मैले गगनको नाम प्रस्ताव गरेको हुँ ।  गगन प्रधानमन्त्री बन्नु भनेको विश्वप्रकाश प्रधानमन्त्री बन्नु हो भन्ने मेरो बुझाइ छ । 

त्यसो भन्दा मेरो उमेदवारी कतै छैन । दावा कतै गर्दिनँ, आकांक्षारहीत छु भनेर म भन्दिनँ । अहिले गगन बन्नु भनेको विश्वप्रकाश बन्नलाई बल पुर्याएर जानु हो, बलियो र प्रमाण भएर आउने कुरा हो ।
 
पटक–पटक नेतृत्व लिन चाहे पनि झापा क्षेत्र नम्बर १ बाट अवसर पाउनु भएको छैन । ०७९ को निर्वाचनले अवसर दिए यो क्षेत्र बनाउने योजना के–के छन् ? 

कतिपय कुरा राष्ट्रिय रुपमा मिल्छ भने कतिपय विषय स्थानीय तहसँग मात्र सम्बन्धित छन् । 

भूमिको समस्याको कुरा गर्दा यो देशको विभिन्न भागमा समस्या छन् । यो समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग बनेपछि भूमि वितरण भएको झापामै हो । अहिले पनि आयोग अध्यक्ष केशव निरौलालाई थप आग्रह गर्ने हो । 

बुद्धशान्तिको, प्यारिभिट्टाको, मेचिनगरको या १५ नम्बर वडाको भाङ्गा खोलाको या १३ नम्बर वडामा जाँदा पाउँ पाथिभरा नजिकको विषयको समाधान खोज्नुपर्छ । 

वडा नम्बर ५ मा माङ्गीम टोल एरियामा होस्, वडा नम्बर १० मा आउँदा टिमाई किनारको सन्दर्भमा होस् यो हल गर्ने विषय देशव्यापी विषयसँग मिल्छ र हल गर्नुपर्छ । 

हात्तीको समस्याको कुरा आउँदा देशव्यापी छैन निश्चित ठाउँमा मात्र छ । चितवन, सर्लाही बारातिर समस्या होला ।

यसको दीर्घकालीन समाधान गरेर जानु छ । तटबन्ध भन्दै गर्दा मेरो ठाउँमात्र होइन डुवानमा पर्ने गरेका तराईका सबै क्षेत्रलाई सम्बोधन गरेर जानुपर्छ । 

बेरोजगारी समस्या समाधान गर्छु भन्दा म सँगै प्रचारमा हिँडेका मेरो साथीको अनुहार आउँछ । 

तर, मैले के विर्सनु हुँदैन भने रोजगारीको खोजीमा भौतारिँदै विदेश जान लाइन लागेका मानिसको समस्या पनि सम्झनु पर्छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro