आमा, बिरानो संसारको फुस्रो दैनिकीसँग लापा खेल्दै ! जीवन बाँच्ने नाममा धैर्यको पिरामिड बनेर, लगनको नाइल नदी बनेर बग्दैछु । घडीको सुईसँग सरोकार राख्ने गरेको छु ! अटेरी म ! घुर्क्याउँदै, ढलिमली हल्लिदै अरुले पकाई दिएको खाना खान समय निकाल्न नसक्ने म ! आज आफैँले पकाएको खाना तोकेको सीमित समयमा खाएर भ्याउनु परेको पीडादायी क्षणको कुरा गरेर साध्य छैन !
यता जहाँ छु म ! चाड-पर्व, मेला महोत्सव भनेको झुक्किएर आउने सीमित सपनामा मात्रै हो । गर्मीमा ५०° कट्छ तापक्रम ! भाग्यमानीहरूको भागमा मात्रै पर्दोरहेछ 'इनडोर' काम ! मजस्तै खोटो कर्म भएकाहरू 'आउटडोर' कर्ममा भाग्य खोज्न विवश छन् । गर्मी याम सक्किँदै छ । शरद ऋतु लागे पनि यता म भएतिर सयपत्री फुल्दैनन् ! मखमली झुल्दैनन् ! दसैँ कहिल्यै आउँदैन । देउसीभैलो गाउने गर्दैनन् । मंगलधुन बज्ने मन्दिर छैन । ॐ माने पेमे जप्ने गुम्बा पाइँदैन । यहाँ मारुनी नाच्दैनन् । रोदी बस्दैनन् ।
चिनियाँहरूको उखानजस्तै सुनको पिर्कामा बसी भिख माग्ने भिखारी बनेका हामी । आफूलाई बेचेर आएको पैसामा खुसी खोज्दै छौँ । आमै स्नातकोत्तरको दीक्षान्त समारोहमा रमाउँदै हाँसीहाँसी हासिल गरेको शैक्षिक प्रमाणपत्रको खिल्ली उडाएको बिगो कल्ले तिर्ने हो थाहा छैन ? कैलाशकुटको छेउमा बसेको पण्डितले गरेको भविष्यवाणी तिमी लेखपढ गरी खान्छौ भनेको कुरालाई गैंची र बेल्चाले उठेको ठेलाले काटेको छ आमा । तिमी काठमाडौं आउँदा भेटियो भने ती बाजे सँग गर्नु कुरा ल !
आमा उता शरद ऋतुसँगै आमन्त्रित चाडपर्व बगैंचाभरी सयपत्री र मखमली बनेर फुलिसके होलान् । सेतो कमेरो माटोले रंगिएका घरका भित्ताहरू, लिङ्गेपिङको लागि सजिएको चौतारीको बरपिपल सपना भरी आइदिन्छ । मलाई थाहा छ - तिम्रो बुढ्यौलीले गलेको बूढो आँखा म फर्किने गोरेटोमा बिछ्याइएको । पोहोरसाल राखेको भाकालाई सकिन पूरा गर्न यसपालि पनि । पोहोर सालको आघौँ साल यो पाल म आउँछ भनेर तिमी खुसीले गद्गद् भएको क्षण हिजोजस्तो लाग्छ । आमा समयले एक सालको दूरी बनाइसकेछ ! फेरि एकपटक भाका राख्दैछु । आघौँ सालको दसैँमा चाहिँ पक्का आउनेछु ।
आमै जाती नै छु । प्रविधिको देनले दिनदिनैजस्तो भएको छ कुराकानी तिम्रो र मेरो । सुन्नेमात्रै होइन देखिने गरी ! टीकाको दिन छुट्टी मिले भिडियो कलमा म तिमीलाई मेरो निधार देखाउँला ! त्यसैमा भए पनि टीको लाएर तिमीलाई मन लागिन्जेल आशीर्वाद देऊ हैं आमा ! भौतिक रूपमा टाढा भए पनि म जिउँदैछ भन्ने कुराको पक्का प्रमाण धड्की रहेको मेरो मुटुको ढुकढुकी बनेर तिमी उफ्रिरहेको महसुस गर्छु । अरू भनेको त्यस्तै छ जस्तो थियो पहिला ! बरु तिमीचाहिँ अलि दुब्ली देखिएकी छौ ! ख्याल राख्नु आफ्नो ।
आमा तिम्रो आशीर्वादले तिम्रो छोरो जाती नै छ भनेर खबर लेख्दालेख्दै मजस्तै छोराछोरी दैनिक सयौंको संख्यामा अरूको देशमा भविष्य खोज्न गएको लर्कोको दृश्यले मुटुकलेजो घाइते भएको आभास हुन्छ ।
आमा स्वर्गजस्तै जननी जन्मभूमि अनि तिम्रो मायाको न्यानो काख छोडेर रहर नहुँदा नहुँदै टाढा छु ! आज तिमीबाट !
तिम्रो प्रेमले तिम्रो मायाले मात्रै बाँचेको छुजस्तो लाग्छ ! पराईको हैकम र हुकुमले तिमीले जतनले हुर्काएको मेरो ज्यान खिएर जाँदैछ । खिया लागेको फलामको पाइपजस्तै । यहाँ दसैँतिहार मनको क्लालेन्डरमा मात्रै आउँछ । यथार्थमा यहाँ फुँङ्ग उडेको मरुभूमिको तातो हावासँगै गाह्रो कामको भेल सुसाउँछ !
(हाल-लिमासोल, साइप्रस)