site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतीय दुध आयात रोक्न माग
प्रतीकात्मक तस्बिर । स्राेत : पिक्सबे डटकम

चितवन । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दुध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् ।

राज्यले विगतको समयमा प्रतिबन्ध लगाएको दुग्ध आयातलाई पुनः सुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Himalayan Bank
Dabur nepal
Agni Group

सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले किसानको हितविपरीत काम गरेको भन्दै यो निर्णय तत्काल सच्याउन माग गरे । आयातित दुधका कारण नेपालमा किसान विस्थापित हुने स्थितिमा पुग्ने उनकाे भनाइ थियो । उनले भने, “नेपालका दुग्ध उत्पादक सहकारी एवं किसानसँग मोलमोलाई गर्नका लागि बिचौलियको पक्षमा सरकारले निर्णय गर्‍याे ।”

अहिले नेपालका दुग्ध उद्योगले किसानलाई तिर्नुपर्ने रकमसमेत नतिरेको बताउँदै उनले अहिलेसम्म नेपालको उत्पादनले पुगेको दुध अहिले नपुग्नुका कारण खोजिनुपर्ने बताए ।  सरकारको निर्णय नसच्चिए किसान आन्दोलनमा उत्रने उनकाे भनाइ थियो ।

Global bank

सरकारले विसं २०७५ बाट दुध आयातमा रोक लगाएको बताउँदै सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले सरकारबाट भएको गल्ती सच्चिनुपर्ने बताए । नेपालमा माग बढेको भए उत्पादनसमेत बढाउन लाग्नुपर्नेमा बिनाआधार आयात गर्न दिनु किसानको हितविपरीत भएको उनको भनाइ थियो ।

चितवन जिल्ला दुधमा आत्मनिर्भर जिल्ला घोषणा भइसकेको भन्दै उनले भारतबाट आयात गरिने दुधलाई रोक्नका लागि सडकमा बस्न तयार रहेको बताए ।

सङ्घका सचिव किशोर बगालेले सरकारले किसानको मर्म बुझ्नुपर्ने बताए । आफूहरूले यो विषयमा सरकार र केन्द्रमासमेत जानकारी गराउँदा गराउँदै किसानको हितविपरीत निर्णय गरिएको बताए ।

चितवनमा दुधालु गाईभैँसी ६८ हजार छ सय ११ वटा रहेको र दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको उनले जानकारी दिए ।

यसमध्ये ४५ प्रतिशत दुध बाहिरी जिल्ला जाने गरेको छ । यहाँ उत्पादित दुध काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की जाने गरेको सङ्घले जानकारी दिएकाे छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय