site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छाडेका सिट दिए टुलुटुलु हेर्नेवाला छैनौँ, बाँडफाँट सम्मानजनक हुनुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

४४औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले आज पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उहाँले प्रतिगमन रोक्न, संविधान र संघीयता जोगाउन पाँचदलीय गठबन्धन बनाएर चुनावमा जानुपरेको बताए।

Argakhachi Cement Island Ad

अध्यक्ष नेपालले निर्वाचनमा दलबीच सिटको बाँडफाँट भने सम्मानजनक हुनपर्नेमा जोड दिए ।

उनले भने, “अहिलेको गठबन्धन टुट्नेवाला छैन, आउने चुनावसम्म कायमै रहन्छ । तर निर्वाचनमा जम्मै सिट जति आफू लिउँला, बाँकी रहेका मात्र दिउँला भनेर कुनै पार्टी विशेषले सोच्छ भने हामी टुलुटुलु हेर्नेवाला छैनौँ, आफ्नो शक्तिमा भरोसा गरेर अघि बढ्नेछौँ ।”

कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता र जनजीविकाको झण्डालाई बुलन्द पार्न पुष्पलालका अनुयायीले उनीबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्न सक्नुपर्नेमा उनको जोड छ । पुष्पलालले अवलम्बन गरेको बाटोमा कहिल्यै पनि खोट नभएको बताउँदै अध्यक्ष नेपालले उनकै विचारबाट निर्देशित कम्युनिस्ट पार्टीले जनतामा प्रभाव जमाउन, जनताको विश्वास जित्न सफल भएको र कम्युनिष्ट जनमत नेपालमा बलियो बनेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य हरिबहादुर चुमान, अधिवक्ता तिलक पराजुली लगायतले नेपाली राजनीतिलाई उलटपुलट गर्ने पुष्पलालका विचारलाई परिर्वतनका अभियन्ताले आत्मसात गर्नुपर्ने र योगदान कहिल्यै बिर्सन नहुनेमा जोड दिएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्