site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनदेखि रुससम्म ग्याँस पाइपलाइन निर्माण हुने 

मस्को । सन् २०२४ मा चीन र रुसबीचको ग्यास पाइपलाइन निर्माण कार्य सुरु हुने भएको छ । द फाइनान्सियल टाइम्सकाअनुसार पावर अफ साइबेरिया दुई पाइप लाइनले मंगोलियाको भूभाग हुँदै चीनमा ग्यास आपूर्ति गर्ने छ ।

यसैबीच सोमबार युरोपेली संघ (ईयू) ले अजरवैजानसँग नयाँ ग्याँस सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । रुस र चीनबीचको ग्यास पाइपलाइनको निर्माण कार्य दुई वर्षभित्र पूरा गरिसक्ने लक्ष लिइएको छ । यी दुई गठबन्धन मुलुकबीच आर्थिक र ऊर्जा सम्बन्ध गहिरिँदै गइरहेको छ । 

Argakhachi Cement Island Ad

मंगोलियाका प्रधानमन्त्री ओयुन–एर्डेने लुभासान्नाम्सराइले फाइनान्सियल टाइम्सलाई बताएका छन्, “युक्रेनमा भइरहेको रुसी फौजको आक्रमणका कारण पावर अफ साइवेरिया पाइपलाइनको योजनामा केहि कठिनाइ आइरहे पनि यसको निर्माण कार्य २०२४ मै सुरु गरिनुपर्छ ।"

दुईहजार ६०० किलोमिटर लामो यो पाइपलाइनले सन् २०३० मा सेवा आरम्भ गर्ने आशा गरिएको छ । यस पाइपलाइनमार्फत पारवहन शुल्क र कर पाइने हुँदा कोरोना भाइरस महामारीको कारण नाजुक अवस्थामा पुगेको मंगोलियाको अर्थतन्त्रमा पनि सकारात्मक टेवा पुग्ने भएको छ ।

रुसबाट चीनमा ग्यास निर्यात गराउनेबारे सन् २०१९ देखि नै प्रसंग उठेको थियो । तर युरोपले आफ्नो ग्यास माथिको निर्भरता कम गर्न थालेपछि अहिले रुस यस विषयमा तातिएको हो । 

ईयूले आगामी २०२७ मा अजरवैजानबाट कम्तीमा २० अर्ब क्युविक मिटर प्राकृतिक ग्याँस आयात गर्ने नयाँ सम्झौतामा हस्ताक्षर गरेको हो ।

बिज्नेस इन्साइडरबाट ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०४:००
प्रतिक्रिया दिनुहोस्