
काठमाडौं । धादिङको बन्चरेडाँडास्थित फोहोर विसर्जनस्थलमा स्थानीयको अवरोध कायमै छ । स्थानीयको विरोधबीच बाटोमा फालिएको फोहोर सफा गर्न टोली त्यसतर्फ जाने भएको छ ।
बुधबार स्थानीयले फोहोर बोकेका केही ट्रकमा तोडफोड गरेका थिए । सो क्रममा खसेको फोहोर सफा गर्न बिहीबार टोली जाने तयारी गरिएको छ ।
बन्चरेडाँडा ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारविद श्रेष्ठले बाटोमा फालिएको फोहोर सफा गर्न टोली जान लागेको बताए । “बुधबार ट्रक तोडफोड र विरोध प्रदर्शनका क्रममा बाटोमा फालिएको फोहोर सफा गर्न जाँदै छौँ,” उनले भने ।
उनका अनुसार फोहोर विसर्जनका विषयमा महानगरपालिकाका अधिकारी र प्रभावित क्षेत्रका बासिन्दाबीच वार्ता भइरहेको छ ।
बुधबार ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिइँदा ट्रकहरू फोहोरसहित काठमाडौं फिर्ता भएका थिए । त्यसअघि, प्रहरी र बन्चरेडाँडाका स्थानीयबीच झडप भएको थियो । फोहोर बोकेर गएका ट्रकमा तोडफोड गरिएको थियो । प्रहरीले स्थिति नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो ।