धनगढी । तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउनेमा धनगढीका दुईजना रहेको पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १४ एच गाँउ फूलबारीका पुरुषोत्तम गोले र ईन्द्रदेवी तामाङ्ग रहेका छन् । उनीहरू श्रीमान् श्रीमाती हुन् ।
गलैंचा उद्योग संचालन गरी काठमाडौं बस्दै आएका पुरुषोत्तम गोलेले धनगढी उपमहानगरपालिका १४ एच गाउँ फूलबारीमा शिद्वार्थ आधारभूत विद्यालय स्थापना गरेका थिए । सामाजिक अगुवाका रुपमा पहिचान बनाएका गोलेले विद्यालय स्थापनका बखतमा विना पारिश्रमिक शिक्षक भएर सेवासमेत दिएका थिए । “फूलबारीको एच गाँउमा शिक्षाको विकासमा उहाँको निकै ठूलो योगदान थियो,” शिद्वार्थ आधारभूत विद्यालयका प्रधानाध्यापक तेजबहादुर पाख्रीनले भने, “म पनि उहाँकै शिक्षक हुँ । उहाँ सो विद्यालयका संस्थापक तथा शिक्षकसमेत हुनुहुन्थ्यो,” प्रधानाध्यापक तेजबहादुर पाख्रिनले भने ।
तत्कालीन फूलबारी गाविसको युवा संयोजक भएका पुरुषोत्तम गोले राजनीतिमा पनि सक्रिय थिए । उनी आफू राजनीतिमा सक्रिय रहेका बेला फूलबारीमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको स्थानीय मेहेश गोले तामाङ्ग बताउँछन् । पुरुषोत्तम गोलेको निधनले तमाङ्ग बस्ती रहेको फूलबारीको एच गाँउ नै शोकमा डुबेको बताउँछन् ।
तत्कालीन राजा वीरेन्द्रको कार्यकालमा २०३६ सालमा दुई बिगाहा पाँच कट्टा जमिन दिएर धनुषाबाट धनगढी स्थानान्तरण भएका थिए । उनीसँगै ९७ घर धुरी बसाई सरेर आएका थिए । उनी काठमाडौंमा जोरपाटीमा गलैंचा उद्योग संचालन गर्दै आएका थिए । उनका तीन छोरा र तीन छोरी छन् ।