site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युक्रेनबाट घर फर्कन रुसी कमान्डरले आफ्नै खुट्टामा गोली हाने

किभ । युक्रेनी अधिकारीले एकजना रुसी सैनिकले फोनमा आफ्नी आमासँग गरेको चाखलाग्दो कुराकानीको अडियो सार्वजनिक गरेका छन् ।

“म आफैँ र अरु रुसी सैनिक पनि युक्रेनमा लड्न चाहँदैनन्,” ती सैनिकले भनेका छन् । उनकी आमाले उनलाई देशभक्तिको पाठ पढाउँदै उनले रुसको प्रतिरक्षाका लागि लड्नैपर्छ भनी दबाब दिन्छिन् । 

त्यसपछि ती सैनिकले आमालाई गजबका कुरो सुनाउँछन्, “घर फर्किने निहुँ बनाउन मेरो कमान्डरले आफैँले आफ्नो खुट्टामा गोली हानेका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘इन्टरसेप्ट’ गरिएको उक्त फोन संवादलाई युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको थियो । 

आफूलाई बीस वर्ष भएको बताउने ती सैनिकले आफ्नी आमालाई युक्रेनी युद्ध छिट्टै टुङ्गिने कुनै छाँट नभएको र आफूलाई त्यहाँ बस्न मन नलागेकाले घर फर्कन चाहेको बताएको सुनिन्छ । 
त्यसपछि आमाले उनलाई फौज भित्र युद्ध नत्याग्न देशभक्ति सिकाउने रुसी सैनिकहरू छन् कि छैनन् भनेर सोध्छिन् । 

छोरो भन्छन्, “युद्धको सुरुमै खुट्टामा गोली हानेर सेकेन्ड प्लाटुनका कमान्डर घर फर्के । उनी चेच्न्यामा लडेका योद्धा हुन् । अब हामी यहाँ कुरा पनि के गरेर बस्ने हो ?”

आमाले भन्छिन्, “यदि पश्चिमी मुलुकहरूले रुसतर्फ बढ्ने निर्णय गरे भने के होला ? उनीहरूले हामी सबैलाई मार्नेछन्, चौंथो विश्वयुद्ध सुरु हुनेछ र रुस त्यसमा हार्नेछ ।”

छोराले जवाफ दिन्छन्, “ठिक छ, त्यसो भए पुटिनले दुईचोटि सोच्नेछन् । हामीसँग गोलीगठ्ठा वा मान्छेहरू छैनन्, मस्कोबाट कुनै कमान्ड आएको छैन । हामीमाथि कसैले हमला नगर्दै पुटिनले आक्रमण गरेकाले पनि यो युद्ध भएको हो ।”

तर आमाले पुटिनको वकालत गर्दै उनले हमला गरेको नभई उनी  क्रेमलिन समर्थित पृथकतावादीहरूका राज्य दोनेत्स्क र लुहान्स्कतर्फ मात्र बढिरहेको भनेको सुनिन्छ ।

युद्धको सुरुवाती दिनमै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजको आत्मबल गिरेको र थाकेको बताएका थिए ।     
बिजनेस इन्साइडरबाट । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २३:५१
प्रतिक्रिया दिनुहोस्