
काठमाडौं । कर्णाली प्रदेशका २८ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणामअनुसार कर्णालीमा १२ वटा स्थानिय तहमा जितेर कांग्रेस पहिलो भएको छ ।
माओवादी केन्द्रले ९ पालिकामा जित हासिल गरेर दोस्रो स्थानको हैसियत बनाएको छ । एमाले र एकीकृत समाजवादीले ३/३ पालिकामा जित हासिल गरेर तेस्रो हैसियत बनाएको छ ।
कांग्रेसले डोल्पाको ठूलोभेरी नगरपालिका, कालिकोटको तिलागुफा नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सोही जिल्लाकै भैरवी गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, सल्यानको कुमाख गाउँपालिका, सल्यानको सिद्धकुमाख गाउाँपालिका, सल्यानकै त्रिवेणी गाउँपालिका, जुम्लाको कनकासुन्दरी गाउँपालिका जुम्लाको हिमा गाउँपालिका र मुगुको मुगूम कार्मारोङ गाउँपालिकामा जित हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका, दैलेखकै भगवतीमाई गाउँपालिका, हुम्लाको ताँजाकोट गाउँपालिका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिका, कालिकोटको पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा जित हासिल गरेको छ ।
एमालेले दैलेखको गुराँस गाउँपालिका, सोही जिल्लाकै डुङ्गेश्वर गाउँपालिका र डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा जित हासिल गरेको छ ।
कर्णालीका १० जिल्लामा कुल ७९ स्थानीय तह छन् । अब ५१ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।