वैशाख ३० गते देशभर एकसाथ भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणना कार्य जारी छ । पालिकाहरूको नतिजा आउने क्रम जारी छ । उपमहानगरपालिका र महानगरपालिकाको मतगणना सुस्त गतिमा भइरहेको छ । देशभर कसले कहाँ र कति ठाउँमा जित्छ भन्नेमा जनचासो देखिन्छ ।
आफ्नो वडा, पालिका र नगरमा चासो हुने नै भयो । त्यसबाहेक अहिले देशभरको आँखा काठमाडौं महानगरपालिकामा छ ।
धिमा गतिमा मतगणना भइरहेको यस महानगरको निर्वाचन परिणाममा जनचासो भने तीव्र छ । कसले जित्छ भन्ने आकलन र बहस भइरहेको छ ।
काठमाडौं महानगरमा देशभरको आँखा जानुको मुख्य कारण बालेन शाहको उमेदवारी हो । उनको स्वतन्त्र उमेदवारी अर्को कारण हो । संघीय राजधानी रहेको काठमाडौं महानगरमा कसले बाजी मार्छ भन्नेमा धेरैको ध्यान खिचिनु नौलो होइन । तर, दलहरूको हालीमुहाली रहेको महानगरमा स्वतन्त्र उमेदवारलाई मतदाताले कसरी हेर्छन् भन्नेमा पूरै देश उत्सुक छ ।
त्यसो त मतगणना सुरु भएपछि एकाएक काठमाडौंले पूरै नेपालको ध्यान खिचेको होइन । जब बालेन शाहले काठमाडौं महानगरपालिकाको प्रमुखमा आफूले उमेदवारी दिने घोषणा गरे त्यही बेलादेखि उनी को हुन् र यो आँट किन गर्दैछन् भन्ने कुराले धेरैको ध्यान खिचेको थियो । कारण बलियो दलगत संगठन लिएर बसेका दलहरूलाई चुनौती दिन त्यति सहज छैन । त्यो पनि राजधानी सहरमा जहाँ रैथाने नेवार समुदायको मुख्य बसोवास छ । जातीय र क्षेत्रीय राजनीतिको ‘गन्ध’ पसेपछि दलहरूले उमेदवार छनोट गर्दा जात र भुगोल सुहाउँदो व्यक्ति छान्दै आएका छन् । ताकि चुनौती कम होस् । सहजै जितको झन्डा फहराउन पाइयोस् ।
बालेन सिभिल इन्जिनियरिङको पृष्ठभूमिबाट आएका हुन् । त्यसभन्दा पनि उनलाई ‘र्यापर’का रूपमा चिन्नेहरू धेरै छन् । तर, बालेन त्यस्ता र्यापर पनि होइनन् जसलाई देश दुनियाले चिनेको होस् । भिटेन, लाहुरे, यमबुद्धजस्ता नेपाली युवा पुस्ताले चिन्ने छवि बनाइसकेका र्यापर होइनन् बालेन । र्याप संगीतमा रमाउने र यसलाई खोजीखोजी सुन्नेहरूमाझ मात्रै परिचित थिए बालेन । संगीतकै अन्य विधामा मात्रै रमाउनेहरूले पनि सायद उनलाई चिनेका थिएनन् ।
त्यसैले जब उनले उमेदवारीको घोषणा गरे धेरैको आ–आफ्नै विश्लेषण र बुझाइ रह्यो । त्यसमध्ये पनि धेरैले भने – निर्वाचनमा ‘नोटिसमा पर्न’का लागि हरेकजसो चुनावमा चुनावी ‘स्टन्ट’ कसै न कसैले गर्छ । त्यस्तै पात्रमध्येका एक होलान् बालेन पनि ।
बालेन आफ्ना कुरा राख्दै गए । सञ्चारमाध्यमले उनलाई प्रसस्तै कभरेज दिँदै गए । मिडियामा सधैँ उनले रटान लगाइरहे – मेयर पद राजनीतिक पद होइन । यो त व्यवस्थापकीय क्षमता प्रदर्शन गर्ने ठाउँ हो । जहाँ राजनीतिक तिकडम र छलछाम गर्ने व्यक्ति होइन, विकासको मोडलहरूबारे खुद ज्ञान र सीप भएको व्यक्ति हुनुपर्छ । जो आवश्यकता परे स्वयं फित्ता बोकेर सडक र पुल नाप्न फिल्डमा निस्कियोस् ।
संघीय गणतान्त्रिक नेपालमा पहिलोपटक झन्डै पौने लाख मतदाताको रोजाइमा परेका मेयर विद्यासुन्दर शाक्यले अपेक्षित काम नगरेपछि आजित भएका काठमाडौंवासीले उनका कुरामा कान ठाडा बनाए । हरेक अन्तर्वार्तामा विकासका कुरा गर्ने इन्जिनियर बालेनका कुरा सुन्न थाले । उनलाई सुन्नेहरूको संख्या बढ्दै गयो । सामाजिक सञ्जालमा उनलाई लाइक र कमेन्टहरूको संख्या बढ्दै गयो ।
अन्ततः निर्वाचन कार्यक्रमअन्तर्गत उमेदवार मनोनयनको दिन आयो । बालेनले स्वतन्त्र उमेदवारी दिए । त्यसपछि सुरु भयो चुनावी प्रचार । धेरै कलाकार उनको पक्षमा उभिए । सामाजिक संजालमा उनलाई समर्थन गर्ने ठूलो समूह देखियो । ‘सेलिब्रिटी’हरूले भोट माग्न थाले । यो क्रम बाक्लिँदै गयो ।
घरदैलो कार्यक्रममा दलहरू केन्द्रित भए । बालेनको दल थिएन । उनी व्यक्तिमात्रै थिए । त्यसैले घरदैलोभन्दा पनि उनी सञ्चारमाध्यमबाट काठमाडौंको विकासको मोडलबारे बताउँदै गए । सेलिब्रिटीहरूको उनलाई साथ रह्यो ।
विपक्षी दलका उमेदवारहरू चर्को आलोचना गर्दै उनलाई गालीगलौजमा व्यस्त भए । जातीयदेखि क्षेत्रीयतासम्मको गाली गरे । तर, उनले त्यसलाई हाँसीहाँसी जवाफ दिए । उनलाई सत्तोसराप गर्ने प्रतिस्पर्धी उमेदवारलाई बालेन बाबुको संज्ञा दिइरहेका थिए । उनको गालीलाई आशीर्वचन भन्दै ग्रहण गरिरहेको बताइरहे । छोराछोरी बिग्रिएलान् भनेर बाबुआमाले सचेत गराएझैं आफूले गालीलाई पनि आशीर्वचनका रूपमा लिएको बताइरहे । लाग्थ्यो, बालेनमा न रिस छ न क्रोध । उनी त शान्त तलाउ हुन् । तलाउमा किनारामा आउनेले ढुङ्गा हान्छ, जान्छ । त्यसमा तलाउले कुनै प्रतिक्रिया जनाउँदैन ।
बालेनलाई भोट दिएर के गर्ने ? उनी अपेक्षित रूपमा अगाडि बढेनन् भने जवाफदेही को ? जवाफ दिने दल नभएपछि उनले खुट्टो छोडे भने जिम्मेवार को ? उनका विपक्षीहरू प्रश्न गरिरहेका थिए । न टेक्ने न समाउने हाँगो छ ।
बालेनले जवाफ दिनै परेन । उनका समर्थक तथा शुभेच्छुकले भने– विद्यासुन्दर पाँच वर्ष सुतेर बस्दा एमालेले के गर्यो ? जनताप्रति एमाले कसरी जवाफदेही भयो ? उनले काम नगर्दा एमालेलाई विश्वास गरेका मतदाताले के पाए ? त्यसको भरपाई एमालेबाट कसरी लिए ?
हालसम्मको मतपरिणामअनुसार काठमाडौं महानगरमा बालेनले स्पष्ट अग्रता कायम गरेका छन् । मतान्तर दोस्रो स्थानका एमाले उमेदवार केशव स्थापितभन्दा फराकिलो छ । र, फराकिलो बनाउँदै लगेका छन् । तर, यसले अहिले नै बालेनको विजयको स्पष्ट चित्र देखाउँदैन । कारण करिब दुई लाखको हाराहारी मतदान भएकाले अहिलेको नतिजाले उनको जितको चित्र कोर्दैन । तर, उनले सुरुआती क्षणदेखि निरन्तर अग्रता कायम गरिरहेका छन्् । यो भने उनका समर्थक तथा शुभेच्छुकका लागि सुखद् पक्ष हो ।
चुनाव प्राविधिक पक्ष हो । जसले बढी भोट ल्याउँछ उसले जित्छ । बालेनले प्राविधिकरूपमा चुनाव जित्छन् वा जित्दैनन् त्यो अबको केही दिनमा थाहा हुनेछ । तर, उनले मन जितिसके । चुनाव हारे भने पनि उनले काठमाडौंका मतदाताको मन जितिसके ।
बालेनप्रतिको आकर्षण उनीप्रतिको भरोसाभन्दा पनि धेरै राजनीतिक दलहरूप्रतिको वितृष्णा हो । दलहरूले जनताप्रति देखाएको गैरजिम्मेवारपनको नतिजा हो । दलहरूले जनताको विश्वास गुमाइसकेको स्पष्ट संकेत हो ।
अहिले अग्रता लिइरहेका बालेन काठमाडौंको नेवार समुदायको बाहुल्य रहेका क्षेत्रको मतगणना हुँदा पछि पर्ने पो हुन् कि भन्ने धेरैमा चिन्ता देखिएको छ । उनका पक्षमा खसेका भोट वास्तवमा राजनीतिक दलप्रति जनताको बढ्दो अविश्वास हो ।
बालेनको पक्षमा अरूको तुलनामा धेरै भोट आउँछ कि आउँदैन त्यो अबका केही दिनमै देखिनेछ । तर, उनले निर्वाचन जितुन् वा हारुन् बालेनले जनताको मन जितिसके ।
उनले निर्वाचन जिते भने मतदाता भनेका ‘भेडै हुन्’ भन्ने गणेशमानको वचन करिब तीन दशकको अन्तरालमा विफल खाने छ । यो यस्तो संयोग पनि पर्नेछ, उनकै बुहारी मेयरमा प्रतिस्पर्धा गरिरहेका बेला मतदाता सचेत भएको प्रमाण काठमाडौं महानगरबासीले दिनेछन् । यो प्रमाण मतदाताले पेस गरिरहँदा दलहरूको मनोमानी र राम्राभन्दा आफ्नालाई काखी च्याप्ने खराव प्रवृत्तिविरुद्धको झापड हुनेछ ।
बालेनले जित्छन् अथवा जित्दैनन् थाहा छैन । तर, जिते भने यो जित काठमाडौं र स्थानीय तहमा मात्रै सीमित रहने छैन । यसको तरङ्ग आउने संघीय निर्वाचनमा पर्नेछ । संघको निर्वाचनमा स्वतन्त्रबाट ठूलो संख्यामा उमेदवारी पर्नेछ । राजनीतिक दलप्रति जनताको चर्को असन्तुष्टि चालपाएर त्यसको तीतो पोख्ने ठाउँको खोजीमा मतदाता रहेको सुइँको पाएपछि स्वतन्त्रमा उमेदवारी दिनेको संख्या बढ्नेछ । राजनीतिप्रति साइनो सम्बन्ध नभएका बालेनजस्ता पात्रमात्रै होइन समाजसेवी तथा फरकफरक पेसा व्यवसायबाट उमेदवारी पर्नेछ ।
यतिमा मात्रै पनि सीमित रहनेछैन । टिकटका आकांक्षी जो जिल्लामा बसेर जनताका बीचमा रहेर काम गरेका छन् र, जनताको विश्वास आफूमा छ भन्ने पूर्ण आत्मविश्वास छ तिनलाई नदिएर पार्टीले अर्कैलाई टिकट दिए उनीहरूले विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिनेछन् । यसको लहर नै चल्नेछ ।
चुनावी घोषणापत्रमा जनतालाई आश्वासनको भारी बोकाएर सत्ताको तालाचावी हात पारेपछि सत्ता र शक्तिको दुरुपयोग गर्दै जनताका पीरमर्का बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेता अब आफ्नै विगत सम्झिएर पछुताउनुको विकल्प रहनेछैन ।
जनताले ‘नो भोट’को माग गरिरहेका छन् । भलै निर्वाचन आयोगले अहिलेसम्म यसको व्यवस्था गरिसकेको छैन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसपटकलाई ‘नो भोट’ सिस्टमको व्यवस्था गर्न सकिएन, अर्कोपटक गर्छौं भनेका छन् । राजनीतिक नेताविशेष कृपाबाट आयोगमा पुगेका आयुक्तले दलको इसाराबाहिर गएर यस्तो ‘बोल्ड’ निर्णय गर्छन् भन्नेमा धेरैलाई आशंका छ । ‘नो भोट’को व्यवस्था हुने हो भने राजनीतिलाई पेसा बनाएर कमाइ खाने भाँडो बनाएका दलप्रति जनाताको असन्तुष्टिको पारो कति माथि चढिसकेको छ भन्ने प्रष्ट देखिन्छ । त्यसैले आयोगलाई दलहरूले सहजै ‘नो भोट’को व्यवस्था गर्न देलान् भन्नेमा शंका छ । दलहरूको चिसो विगत हेरेर थुप्रै ‘बालेन’हरू स्वतन्त्र रूपमा आउनेछन् । र, छलछामको राजनीतिबाट वाक्क भएका नागरिकले स्वतन्त्र उमेदवारलाई भोट दिएर दलप्रतिको तीतो पोखिरहनेछन् ।