पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गरेका हुन् ।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि छिन् । एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उनलाई पछ्याइरहेकी छिन् ।
महानगरको वडा नं १ मा एमाले विजय भएको छ । वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उमेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उमेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याएकी छन् ।
वडा नं २ मा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उमेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय भएका छन् । उनका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरे । रासस