
स्थानीय तह निर्वाचनको संघारमा नायक भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरे । गएको मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई फूलमाला लगाएर पार्टीमा भित्र्याए । यसअघि नेकपा (एमाले)मा रहेका उनी प्रतिबद्धता पूरा नगरेका कारण पार्टी परिवर्तन गर्नुपरेको बताउँछन् । कांग्रेसले चलचित्रसँगै नेपाली कला क्षेत्रमा देखिने गरी काम गर्ने आश्वासन दिएको भुवनको भनाइ छ । आफूले कुनै पदका लागि कांग्रेससँग बार्गेनिङ नगरेको पनि बताएका छन् । यद्यपि, कांग्रेसले कुनै न कुनै जिम्मेवारी दिने उनको विश्वास छ । दलहरूको मात्रै भर पर्दा देशको विकास नभएका कारण हरेक क्षेत्रका व्यक्तिले अब राजनीतिमा प्रवेश गर्नुपर्ने समय आएको उनको धारणा छ । राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह नगरेसम्म देश र जनताको विकास नहुने भएकाले आफू र अरू कलाकारहरू यस क्षेत्रमा आएको उनको तर्क छ । उनै नायक भुवन केसीसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :
एमाले छोडेर कांग्रेस प्रवेश गर्नुको कारण ?
म मुख्य त कलाकार हुँ । ४० वर्षदेखि कलाकारितामा छु । सयभन्दा धेरै चलचित्रमा अभिनय गरेको छु । ८/१० वटा चलचित्र आफैँ बनाएको छु । म चलचित्र क्षेत्रमा प्रवेश गर्दा एउटा अँध्यारो जंगलमा प्रवेश गरेको थिएँ । प्रवेश त गरेँ, तर उता के छ र कहाँ निस्किन्छ भन्ने पनि थाहा थिएन । पाँच वर्षमा एउटा फिल्म बन्थ्यो । मेरा साथीहरू कोही बिजनेसमेन बने । कोही आर्मीका जर्नेल भएर रिटायर्ड भए । कोही सिनियर पाइलट भएका छन् । कोही डाक्टर भए । मैले चलचित्र क्षेत्र रोज्नुको कारण म आम नेपाली नागरिकको मनमा बस्न चाहन्थेँ । त्यस्तो क्षेत्र के होला भनेर सोच्दा चलचित्र भएकाले यो क्षेत्रमा प्रवेश गरेको थिएँ । मेरो उद्देश्यअनुसार देशभरका दाजुभाइ तथा दिदीबहिनीले मलाई आजसम्म माया दिइरहनुभएको छ ।
म आर्यघाटसम्म नपुग्दाको मेरो सपना म संलग्न रहेको कला, साहित्य, संस्कृति, संगीत र चलचित्र अन्तर्राष्ट्रिय क्षेत्रमा पुगोस् भन्ने छ । विश्वभर नेपाली चलचित्र तथा कला, संस्कृति पुग्यो भने मेरो आत्माले शान्ति पाउँथ्यो भन्ने लाग्छ । तर, यो मेरो एकल प्रयासले सम्भव छैन । म आज जहाँ छु, त्यो मेरो एकल प्रयासले छु ।
कांग्रेसले चलचित्र क्षेत्रको विकासको प्रतिबद्धता जनाएको छ ?
मेरो एकल प्रयासले नेपाली चलचित्र विश्व बजारमा पुग्दैन । सरकारको साथ र सहयोग नभई सम्भव छैन । यो विषय मैले उच्चपदस्थ कर्मचारी र विभिन्न दलका नेताहरूलाई नभनेको होइन । तर, जनाइएका प्रतिबद्धताहरू आश्वासनमा मात्रै सीमित भए । त्यही कारण केही गर्नका ठाउँमा पुग्नै पर्नेरहेछ भन्ने बोध भयो । मैले यो कुरा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग राखेँ । नेपाली चलचित्र अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने मसँग भिजन पनि छ भन्दा उहाँले तपाईं हाम्रो पार्टीमा आउनुस्, तपाईंका कुरा मलाई मनपर्यो भन्नुभयो । कांग्रेसमा गएको खण्डमा आफूले चाहेको काम गर्न सकिने देखेँ ।
म कलाकार हुँ । कला क्षेत्रको विकास कसरी र कहाँ हुन्छ त्यसमा मेरो ध्यान जानु स्वाभाविक हो । निश्चय नै मेरो पहिलो प्राथमिकता कलाकारिता क्षेत्र नै हुनेछ ।

कलाकारले देश चलाउन सक्दैनन् भन्ने नै होइन । अवसर पाएको खण्डमा हामी पनि काम गरेर दखाउन सक्छौँ । कलाकारले पाएको खण्डमा देश चलाएका धेरै उदाहरण छन् ।
अहिलेसम्म कलाकार गहना मात्रै हुन् भन्ने छ । राजनीतिक दलको प्रचारको साधन मात्रै हुन् भन्ने मानक बसेको छ । यसलाई अब बदल्नुपर्छ । अवसर पाए देश चलाउन सक्छन् । सच्चा दिलले जनताको सेवा गर्छन् भन्ने प्रमाणित पनि गर्नुछ ।
गाउँ–गाउँ घुमेर देशको अवस्था र जनताका दुःख बुझेका छौँ । कतिपय यी कुराहरू हामी चलचित्रमा पनि देखाइहेका हुन्छौँ ।
कलाकारले राजनीति गर्नु हुँदैन भन्ने भनाइ पनि सुनिन्छ । ठिक हो, कलाकारले कलाकारिता गर्नुपर्ने हो । डाक्टरको काम बिरामीको उपचार गर्नु हो । सुरक्षाकर्मीको काम देश र जनताको सुरक्षा गर्नु हो । खेलाडीको काम मेडल जितेर देशको नाम विश्वमा राख्नु हो । हामीले आजसम्म देश बनाउने राजनीतिज्ञको काम हो भन्ने सोच्यौँ । देश बनाउने जिम्मा राजनीतिज्ञको मात्रै हो भनेर सोच्नु नै वास्तवमा हाम्रो गल्ती भयो । त्यसैले अहिलेसम्म देश बनेन ।
म त भन्छु, हाम्रो देशमा अब हरेक क्षेत्रको व्यक्तिले राजनीतिमा चासो देखाएर सहभागी हुनुपर्छ । जो जुन क्षेत्रको व्यक्ति हो, उसले त्यसमा जिन्दगी बिताएको हुँदा त्यो क्षेत्रबारे जानकारी हुन्छ । त्यसैले आफ्नो क्षेत्रको विकासका लागि सम्बन्धित ठाउँमा पुगेको अवस्थामा योगदान पुर्याउन सक्छ । कतै सही ठाउँमा गलत व्यक्ति त पुगेको छैन ? आज राजनीतिक दल र नेताप्रति जनतामा वितृष्णा छ । काम गर्न नसकेकै कारणले हो ।
राजनीतिज्ञले बनाउन नसकेको अथवा नचाहेको देश कलाकार राजनीतिमा गएर बनाउनेछन् भन्न खोज्नुभएको हो ?
सबै क्षेत्रका व्यक्ति मिलेर बनाउनुपर्छ भन्ने मेरो धारणा हो । राजनीतिज्ञले मात्रै बनाउँनछन् भन्ने होइन । देश बनाउने ठाउँमा राजनीतिज्ञ छन् । कसैले देश बनाउँछु भनेर मात्रै बन्दैन । त्यसका लागि नीति निर्माण तहमा पुग्नुपर्छ । नीति निर्माण तहमा पुग्न राजनीति नै गर्नुपर्छ । यही कारण पनि म कांग्रेस प्रवेश गरेको हुँ ।
आ–आफ्नो आस्था र विचार मिल्ने पार्टीमा लाग्दा हुन्छ । सबै दल र व्यक्ति नराम्रा छन् भन्ने पनि होइन । सबै राम्रा नरहेको पनि हामीले देखिसकेका छौँ । तर, आ–आफ्नो पेसा र व्यवसायका मान्छेले राजनीतिमा लागेर देशको सेवाचाहिँ गर्ने समय आइसकेको छ ।
चासो देखाउनु र राजनीति गर्नु त फरक कुरा होला नि ?
राजनीतिमा जानु नै पर्ने अवस्था आयो । नेताहरूले गर्नुहोला गर्नुहोला भनेर त हामीले धेरे हेर्यौँ, पर्ख्यौँ । तर, गर्नु भएन । मैले ४० वर्ष दुःखसुख गरेर बसेको चलचित्र क्षेत्र हो । यसलाई अझ राम्रो बनाउन के गर्न सकिन्छ भन्ने मसँग भिजन छ भने मैले बाहिर बसेर कराएर मात्रै हुँदैन । अन्तर्वार्ता दिएर मात्रै हुँदैन । हस्तक्षेप गर्ने तहमा पुग्नुपर्छ । नीति निर्मातालाई प्रभावित पार्ने ठाउँमा वा बनाउने ठाउँमा पुग्नुपर्छ । यही जरुरी देखेर म राजनीतिमा आएँ । यसका लागि कांग्रेस मलाई उपयुक्त लाग्यो । कांग्रेसले मेरो भिजन कार्यान्वयनमा सहयोग गर्छ भन्ने लाग्यो ।
राजनीतिमा खास के छ, जसले गर्दा केही दशकयता अग्रज कलाकारहरू राजनीतिमा प्रवेश गरिरहनुभएको छ ?
मलाई लाग्छ, हामी कलाकारहरू कोही पनि कुनै पद वा झन्डावाला गाडीमा चढ्नका लागि गएका छैनौँ । त्योभन्दा धेरै हामीले असंख्य दर्शकको माया पाइसकेका छौँ । योभन्दा ठूलो सम्पत्ति अरू केही हुनै सक्दैन । कुनै पावर र पैसाले किन्न नसकिने सम्पत्ति हामीले पाइसकेका छौँ । आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि नै हामी राजनीतिमा प्रवेश गरेका हौँ ।
कुनै पनि क्षेत्रमा आमूल परिवर्तनका लागि राजनीतिको नेतृत्व तहमै पुग्नुपर्छ । उमेरको एउटा कालखण्डमा राजनीतिमा प्रवेश गरेर त्यसको नेतृत्वमा पुग्न सहज छ ?
पक्कै पनि छैन । नेतृत्वमा पुग्न निकै कठिन छ । तर, कठिन छ भन्दैमा प्रयास नै नगरी पनि हुँदैन । कोसिस गरेको खण्डमा नेतृत्वमा नपुगिने होइन । नेतृत्वमा नपुगे पनि माथिल्लो तहमा धेरै क्षेत्रका विज्ञहरू पुगेको अवस्थामा नेतृत्वलाई घच्घच्याउन सकिन्छ । राम्रो गर्न सकिन्छ भन्ने मेरो बुझाइ छ ।
अग्रज कलाकारहरू कुनै न कुनै पार्टीमा नगई बस्नै नसक्नेजस्तो अवस्था देखियो । किन ?
कुनै न कुनै पार्टीमा नगई चलचित्र क्षेत्रको विकास नै नहुने भयो । त्यही भएर विभिन्न पार्टीमा कलाकारहरू हुनुहुन्छ । कतैबाट आफ्नो क्षेत्रका विकासको सुनुवाइ नभएका कारण सम्बन्धित पार्टीलाई दबाब दिन राजनीतिक दलमा क्रियाशील हुनुभएको हो भन्ने लाग्छ । तर, मौका मिलेको खण्डमा मन, वचन र कर्मले जनताको सेवा गर्न पनि सक्षम हुनुहुन्छ भन्नेमा म ढुक्क छु ।
पार्टी प्रवेशका बेला सबैले आश्वासन दिन्छन् । एमालेले पनि दिएकै थियो होला । एमालेले जस्तै कांग्रेसले पनि प्रतिबद्धता बेवास्ता नगर्ला भन्नेमा कसरी विश्वस्त हुनुभयो ?
एमालेमा रहँदा मैले सकेको योगदान गरेँ भन्ने लाग्छ । एमालेबाट मैले केही लिएको छैन । म गुटका लागि गएको थिइनँ । त्यसैले मैले गुटका लागि नभएर सिंंगो पार्टीका लागि केही न केही योगदान दिएँ । बदलामा मैले केही मागिनँ र लिइनँ । त्यसबाट पनि पुष्टि हुन्छ, मैले निःस्वार्थ काम गरेँ । चलचित्र क्षेत्रका लागि जति काम गर्छु भनेको थियो, त्यति गरेन भन्ने मलाई महसुस भयो । हेरौँ, अहिले कांग्रेसले जे भनेको छ त्यो गर्ला ।
संघीय संसद्, प्रदेशसभा अथवा चलचित्र विकास बोर्डको अध्यक्षका लागि आश्वासन पाउनुभएको छ रे, हो ?
म त्यसरी बार्गेनिङ गरेर गएको छैन । मलाई विश्वास लागेर गएको हुँ । पार्टीमा प्रवेश गरिसकेपछि जे जिम्मेवारी दिन्छ त्यसलाई पूरा गर्ने गरी अगाडि बढ्छु । अहिले मलाई यो वा त्यो अश्वासन दिइएको छैन । तर, मलाई विश्वास छ कुनै न कुनै जिम्मेवारी दिन्छ ।
एमालेले जनाएको प्रतिबद्धता पूरा नगरेका कारण कांग्रेसमा जानुपर्ने अवस्था आएको हो ?
वाचा पूरा गरेनभन्दा पनि चलचित्र क्षेत्रका विकासका लागि जति कुराहरू हुनुपर्ने थियो, त्यति भएनन् भन्ने मलाई लाग्यो ।
राजनीतिक दलहरूले कला, साहित्य, संगीत तथा चलचित्र क्षेत्रलाई वास्तै गर्दैनन्, यसबारे पार्टीलाई बुझाउन कठिन छ भनिन्छ । कतै यही संघर्ष पार्टीमा गर्दागर्दै कांग्रेसप्रति पनि मन मर्ने पो हो कि !
यो सही कुरा हो । शतप्रतिशत सत्य हो । सबैले माया गरेर कलाकारलाई गहना भन्नुहुन्छ । माया गरेर हामीलाई चुनावको प्रचारप्रसारमा पनि लैजानुहुन्छ । तर, कलाकार भनेको मनोरञ्जन गर्ने व्यक्ति भन्ने बुझाइ धेरैमा छ । यद्यपि, कलाकारिताबाट देशको पहिचान संसारभर फैलाउन सकिन्छ । हाम्रो भाषा, संस्कृति संसारभर पुर्याउन सक्छौँ, पर्यटनको प्रवर्द्धन गर्न सक्छौँ । यस्ता कुरा कैयौँ छन्, जो कलाकारितामार्फत गर्न सकिन्छ । आज हामी जन्मिँदै हिन्दी बोल्न जान्ने भएर आएका होइनौँ । तर, अधिकांशलाई हिन्दी आउँछ, कारण हिन्दी सिनेमा हो । यसको अर्थ यो माध्यम कति शक्तिशाली छ भन्ने हो । नेपाली चलचित्र संसारभर फैलाउनु भनेको हाम्रो भाषा, संस्कृति र टुरिजम संसारभर फैलाउनु हो । हाम्रो देशबाट करोडौँ रूपैयाँ विदेश लगेका छन्, हिन्दी चलचित्रले । तर, नेपाली चलचित्रले विदेशबाट डलर नेपाल ल्याउन सकेको छैन । यो कुरा दलहरूलाई बुझाउनुपर्नेछ । यो बुझाउन सकेको खण्डमा देशलाई नै राम्रो हुनेछ । चलचित्र सानो उद्योग होइन ।
तपाईंको उद्देश्य कांग्रेसमार्फत चलचित्र क्षेत्रको विकासका लागि सकारात्मक पहल गर्न सकियोस् भन्ने मात्रै हो त ?
म कलाकार थिएँ र आजीवन कलाकार नै रहनेछु । मलाई कलाकार भुवन केसी भनेर नै चिन्ने हो सबैले । पहिलो प्राथमिकता नेपाली कला, साहित्य, संस्कार, संस्कृति र चलचित्र क्षेत्रको विकास नै हुनेछ । पढेलेखेको छु, देश तथा विदेश घुमेको छु । जनताको समस्या देखेको छु, त्यसैले अवसर पाए सच्चा मनले देश र जनताको सेवा गर्नेछु ।
एमालेले गरेन, त्यसैले कांग्रेसमा आउनुपरेको छ । भोलि यो पार्टीले पनि मेरो कुरा नसुन्ने हो कि भन्ने डर कत्तिको छ ?
अहिले त डर लागेको छैन । नेपाली कांग्रेस राम्रो पार्टी हो भन्ने विश्वास लिएको छु ।
राजनीतिमा क्रियाशील हुँदा सिनेमा कर्म छायामा पर्ने हो कि !
पहिलो प्राथमिकता चलचित्र नै हो । राजनीतिमा क्रियाशील हुँदा मैले अग्रजहरूबाट धेरै कुरा सिक्दै जानुपर्छ । यद्यपि, आफूले जानेको क्षेत्रमा योगदान दिनु वा काम गर्न कसैले सिकाउनै पर्दैन भन्ने लाग्छ । मैले जानेको राजनीति भनेको सच्चा मन र कर्मले जनताको सेवा गर्ने हो । चतुर्याइँपूर्ण भाषण गरेर जनतालाई झुक्याउनु राजनीति होइन भन्ने लाग्छ ।
नेपाली कांग्रेसले पनि काम गरेन भनेर पार्टी परिवर्तन गर्ने अवस्था नओस् भन्ने कामना नै त होला, हैन ?
यो अवस्था आउँदैन भन्ने लाग्छ । कलाकारहरूले पनि थुप्रै देश चलाएका छन् । युक्रेन नै हेर्नुस् । युक्रेन कलाकारले चलाएको देश हो । असहज अवस्थामा पनि त्यहाँ संवेदनशील भएर देश चलाइरहेका छन् भन्ने उदाहरण युक्रेनका राष्ट्रपति हुन् । उनमा देशभक्ति कति छ भन्ने विश्वले देखिरहेको छ । कलाकारले राजनीति गर्नुपर्छ, किनभने उनीहरू अरूभन्दा संवेदनशील हुन्छन्, देशको माया झन् धेरै हुन्छ भन्ने मेरो बुझाइ छ ।
निर्वाचनको सम्मुखमा पार्टी प्रवेश गराउनुले राजनीतिक दलहरूले आफ्नो प्रचारका रूपमा प्रयोग गरिरहेका छन् भन्ने बुझिँदैन ?
यो समयमा नै पार्टीमा आबद्ध हुने भन्ने पूर्वनिर्धारित कार्यक्रम थिएन । संयोग नै यस्तै जुर्यो ।