site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
३८ रुपैयाँ तिरेर भारतबाट बिजुली आयात : अब मूल्य बढ्ने हो ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँ तिरेर भारतबाट विद्युत् आयात गरेको छ । प्रतियुनिट २० भारु परेको विद्युत् आज (बिहीबार) रातिदेखि आउने प्राधिकरणले जनाएको छ ।

२० भारु र अरू लागत समेत जोड्दा प्रतियुनिट ३८ रुपैयाँ पर्न आउने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सात हजार मेगावाट आवर प्रतियुनिट २० भारुमा खरिद गर्न ‘बिड’ गरेको हो ।

भारतीय ऊर्जा बजारमा विद्युत्को भाउ बढेपछि यसअघि दुईपटक गरेको बिड नपरेपछि २० भारु तिर्न बाध्य भएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए । “एक दिन आठ भारु र अर्को दिन १२ भारुमा खरिद गर्न बिड गर्दा कसैले बिक्री गरेनन् । सोही कारण तीन दिन औद्योगिक क्षेत्रमा समस्या आयो । त्यसैले २० भारुमा प्रतिस्पर्धा गरेका छौँ । आज रातिदेखि हामीले बिजुली पाउँछौँ होला,” बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज रातिदेखि औद्योगिक क्षेत्रमा पनि विद्युत् नियमित हुने उनले बताए ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले १२ हजार मेगावाट आवर भारतबाट आयात हुँदै आएकामा केही दिन मूल्यवृद्धिका कारण आयात हुन नसकेको बताए । अब डल्केबर–मुजफ्पुरबाट विद्युत् आयात गरिने उनले जानकारी दिए ।

आयातित मूल्यभन्दा कम मूल्यमा औद्योगिक उपभोक्तालाई दिँदा प्राधिकरणलाई नोक्सान हुने पनि उनले बताए । “नोक्सान नै हुने भए पनि उद्योगमैत्री वातावरण बनाउनका लागि नै प्राधिकरणले यस्तो गरिरहेको हो,” उनले भने ।

भारतबाट आयातित विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रलाई दिँदै आएको छ । यो मूल्यमा केही समयसम्म मात्रै खरिद गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

घिसिङले नेपालमा मात्रै नभई विश्वव्यापी रूपमा नै ऊर्जा संकट आएको बताए । “विश्व बजारमा कोइलाको मूल्य उच्च भएकाले कोइलाबाट विद्युत् उत्पादन गर्दा लागत बढेको हो । भारतले कोइलाबाट उत्पादित विद्युत् मात्रै निर्यात गर्ने गर्छ । सोही कारण हामीलाई बढी मूल्य परेको हो,” उनले भने, “यद्यपि, यस्तो समस्या बढीमा आगामी वैशाख अन्तिमसम्म मात्रै पर्न सक्छ ।”

जेठ/असारपछि स्वदेशी उत्पादनबाटै विद्युत् माग पूरा गर्न सकिने उनले बताए । प्राधिकरणका अनुसार हाल एक हजार ६५० मेगावाटसम्म विद्युत्को माग छ । नेपालको उत्पादन बढीमा ८०० मेगावाट छ । बाँकी विद्युत् आयात गर्नुपर्छ ।

घिसिङले बढी मूल्य परे पनि कसैलाई पनि विद्युत् महसुल भने नबढाउने स्पष्ट पारे । “हामीले औद्योगिक क्षेत्रलाई पनि महसुल बढाउने छैनौँ । तर, यस्तो बेलामा सहयोग गर्न उद्योगीलाई आग्रह गरेका छौँ,” उनले भने ।

लामो समय यस्तै समस्या भए अर्थ मन्त्रालयले समेत प्राधिकरणलाई सहयोग गर्ने अपेक्षा उनले गरे ।

भारतको सरकारी संस्था एनबीबीएनले १५० मेगावाट विद्युत् प्रतियुनिट ४.१६ भारुमा नेपाललाई बिक्री गर्ने सम्झौता गरेको छ । तर, भारतीय बजारमै ऊर्जाको मूल्य बढेपछि एनबीबीएनले सम्झौताअनुसार नेपाललाई विद्युत् दिएको छैन ।

यस्तै, पीटीसीले पनि ४.१५ भारुमा नेपाललाई बिक्री गर्ने सम्झौता गरेको थियो । त्यसले पनि सम्झौताअनुसार नेपाललाई विद्युत् नदिएको प्राधिकरणले जनाएको छ ।

घिसिङले भारतको नयाँ दिल्लीमा लोडसेडिङ हुन लागेको समेत बताए । श्रीलंकामा दैनिक सात घण्टा र पाकिस्तानमा १६ घण्टा लोडसेडिङ भइरहेको उनले बताए । विश्व बजारमा कोइलाको मूल्य बढेपछि चीनमा एक महिनासम्म उद्योगहरू बन्द भएको उनले उल्लेख गरे ।

“हामी पानीबाट विद्युत् उत्पादन गर्छौँ । हामीले जे गरिरहेका छौँ, ठिक गरिरहेका छौँ भन्ने पनि यसले पुष्टि गरेको छ । हाम्रो विद्युत् लागत पनि धेरै छैन,” उनले भने, “एक/डेढ महिनापछि त हामीले नै करिब ५०० मेगावाट विद्युत् भारतलाई बेच्छौँ ।”

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्