site stats
बाह्रखरी :: Baahrakhari
खेल
मैत्रीपूर्ण खेल : थाइल्यान्डविरुद्ध खेल्दै नेपाल 

काठमाडौं । नेपाली फुटबल टिमले आज थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डको गर्मी टिमको प्रदर्शनमा बहाना बन्न नहुने बताएका छन् । 

नेपालले आज थाइल्यान्डविरुद्ध चोनबुरीमा नेपाली समयअनुसार साँझ ५ः४५ बजे खेल्नेछ । थाइल्यान्ड नेपालभन्दा गर्मी मुलुक हो । नेपाली टोली सोमबार मात्र थाइल्यान्ड गएको थियो । 

‘‘यसअघि हामीले कुवेतको गर्मीमा खेलीसकेका छौं । थाइल्यान्डको गर्मीमा हामीलाई केही फरक पर्दैन । टिमको प्रदर्शनमा यहाँ गर्मीलाई कारण बनाउन सकिँदैन,’’ बुधबार थाइल्यान्डमा सम्पन्न पत्रकार सम्मेलनमा अल्मुताइरीले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थाइल्यान्ड फिफा वरीयाताको ११२औँ स्थानमा छ । नेपाल अहिले १६७औँ स्थानमा छ । ११ भर्सेस ११ का अनुसार नेपाल र थाइल्यान्ड अहिलेसम्म तीनपटक आमने सामने भएका छन् । तीनै खेलको नतिजा थाइल्यान्डको पक्षमा गएको छ । १९८२ मेमा सम्पन्न किङ्स कपमा नेपाल ३–१ ले पराजित भएको थियो भने १९९८ नोभेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पाजित भएको थियो । त्यस्तै २००८ को मैत्रीपूर्ण खेलमा नेपाल ७–० ले पराजित भएको थियो । 

यसपटक नेपाल अर्को वर्ष चीनमा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि थाइल्यान्डसँग खेल्न लागेको हो । त्यसैले नेपालका प्रशिक्षक अल्मुताइरीले थाइल्यान्डविरुद्धको खेल नेपालका लागि अनुभव बटुल्न निकै उपयोगी हुने बताएका छन् । 

एएफसी कप खेल्ने तयारीमा रहेका मछिन्द्र फुटबल क्लबका खेलाडी राष्ट्रिय टोलीमा छैनन् । विमल घर्तिमगर, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, मनिष डाँगी, सुनिल बल, देबेन्द्र तामाङ राष्ट्रिय टोलीमा छैनन् । महत्वपूर्ण खेलाडी नहुँदा टोलीमा व्यापक परिवर्तन हुने सम्भावना छ । प्रशिक्षक अल्मुताइरीले पनि आफूले नयाँ रणनीति अपनाएको बताएका छन् । सोही कारण पनि यसपटक युवा खेलाडीले अवसर पाउने सम्भावना बलियो छ ।

थाइल्यान्डसँगको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुई मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड पुगेर दुई दिन प्रशिक्षण गरिसकेका छन् ।

नेपाली टोलीः

किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दीप कार्की, दीनेश राजवंशी, गौतम श्रेष्ठ,  नवीन गुरुङ, पुजन उपरकोटी, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी,दर्शन गुरुङ, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढामगर, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्