
काबुल । अफगानिस्तानको तालिवान सरकारले अफगान छात्राहरूलाई विद्यालयमा पढ्न नपाउने निर्णय दोहोर्याएको छ । उनीहरूले लगाउने पोशाकबारे अझै निर्णय हुन बाँकी नै रहेको बताइएको छ ।
गत वर्षको अगस्टमा तालिवान लडाकुहरूले सत्ता कब्जा गरेयता महिनौँसम्म बन्द रहेका विद्यालयहरू खुल्ने तरखरमा थिए । तर शिक्षा मन्त्रालयले भने छात्राहरूको माध्यमिक विद्यालय बन्दै रहने घोषणा गरेपछि अन्यौल छाएको छ ।
अन्तिम समयमा फेरि विद्यालय बन्द राख्ने निर्णय गरिएकाले केही छात्राहरू रुने अवस्थामा पुगेका छन् । विद्यार्थी र अभिाभावकहरूले सरकारको यस निर्णयप्रति आक्रोश र असन्तुष्टि पोखेका छन् । उनीहरू पुन: कक्षा कोठामा फर्कन पाउने बुझेर निकै उत्साहित र खुसी भइरहेका थिए ।
शिक्षा मन्त्रालयले मुलुकभरिका छात्राहरूका लगायत सम्पूर्ण विद्यालय खुल्ने घोषणा गरेको एक सातापछि अचानक बुधबार छात्रा विद्यालय बन्द रहने अर्को सूचना प्रकाशित भएको हो ।
नयाँ सूचनामा भनिएको छ, “हामी सम्पूर्ण छात्रा उच्च विद्यालय र तथा कक्षा ६ देखि बालिकाले पनि अध्ययन गर्ने अन्य विद्यालयहरू पनि आगामी सूचना जारी नहुन्जेल बन्द रहने जानकारी दिन चाहन्छौँ ।"
छात्राहरूले लगाउने पोशाक इस्लामिक सरिया कानुन र अफगान परम्परा अनुसार बन्ने निर्णय भएपछि मात्र विद्यालयहरू पुन: खोलिने कुरा पनि सुचनामा उल्लेख छ ।
विगतमा अमेरिकी फौजी कारबाहीमार्फत तालिवान सरकार अपदस्थ गरिनु अघिसम्म पनि अफगानिस्तानमा छात्राहरूलाई यसरी नै शिक्षाबाट बन्चित गरिएको थियो ।
बीबीसीबाट ।