site stats
बाह्रखरी :: Baahrakhari
देश
कोभिड–१९ ले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरूमा ठूलो आर्थिक समस्या पारेको बताएका छन् । बुधबार काठमाडौंको चन्द्रागिरिमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रियस्तरबाट सहयोग भए मात्र नेपाललगायत हिमाली देशहरूको अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले पर्वतीय स्रोतहरूको संरक्षण गर्न अत्यावश्यक रहेको पनि बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालले पनि यो वर्ष हिमालका सम्भावनालाई उजागर गर्नका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न लागिएको उनले बताए । उनले अन्तर्राष्ट्रिय वर्षको अवसरमा मुस्ताङमा ‘माउन्टेन एड्भोकेसी समिट’ गर्न लागेको जानकारी दिए ।

“कोभिड–१९ महामारीले हामी सबैलाई पिरोलेको छ । सबै यसबाट अछुतो छैनन् । यसले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो असर गरिरहेको छ । पर्यटन उद्योग गम्भीर रूपमा अवरुद्ध भएको छ । अब नेपालसहितका हिमाली देशहरूले गुमेको अर्थतन्त्र पुनः पाउनलाई अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक पर्छ,” प्रधानमन्त्री देउवाले भने, “रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पूर्वाधारहरूको विकास सुनिश्चित गर्न आवश्यक छ । अध्ययनबाट पहाडी क्षेत्रहरूमा विश्वव्यापी रूपमा तापमान बढेको पाइएको छ भने औसतभन्दा धेरै छिटो न्यानो हुँदै आएको छ । हिउँ पग्लिनु, ग्लेसियर पछाडि हट्नु, खडेरी बढ्नु, बाढी–पहिरो आदिले समेत सावधानीको संकेत गरिरहेका छन् ।”

दिगो पर्वतीय विकासको एजेन्डा नेपालका लागि सधैँ प्राथमिकताको विषय उनले बताए । “हामीले यसको पक्षमा बेला–बेलामा आवाज पनि उठाएका छौँ । हामीले यही पर्वतीय अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मुस्ताङमा माउन्टेन एड्भोकेसी समिट गर्न लागेका छौँ,” उनले भने ।

प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्नका लागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको भन्दै त्यसको पक्षमा तत्काल कदम चाल्नुपर्नेमा जोड दिए । उनले पर्वतीय मुद्दाहरूलाई समाधान गर्न पहाडी देशहरूबीच छलफल हुन आवश्यक रहेको पनि बताए ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुईदिने सम्मेलनमा विभिन्न १३ मुलुकका करिब २०० जनाको सहभागिता छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्