
काठमाडौं । नेकपा (एमाले)को बाँकी रहेका प्रदेश अधिवेशन स्थानीय तह निर्वाचनपछि गरिने भएको छ ।
पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय तह निर्वाचनकेन्द्रित हुनुपर्ने भएकाले प्रदेश अधिवेशन स्थगन गर्नुपरेको बताए ।
“निर्वाचनपछि आयोजना गर्ने गरी पूर्वनिर्धारित प्रदेश अधिवेशन केन्द्रीय सचिवालयबाट स्थगन गरिएको छ । त्यसैगरी, केही जनसंगठनका अधिवेशनहरू पनि निर्वाचनपछि नै सम्पन्न गरिनेछ,” प्रतिवेदनमा भनिएको छ, “यसबीचमा बाँकी जिल्ला अधिवेशनहरू तथा मिति निर्धारण भइसकेका जनसंगठनका अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गरेर सिंगो. पार्टीपंक्ति र जनसंगठनहरूलाई स्थानीय निर्वाचनकेन्द्रित गरिनु आवश्यक छ ।”