site stats
बाह्रखरी :: Baahrakhari
देश
निर्वाचनअघि सबै नागरिकले पाउलान् कोभिड–१९ विरुद्धको खोप ?

काठमाडौं । सरकारले यही चैत मसान्तसम्म ५ वर्षमाथिका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य राखेको छ । निर्वाचन आयोगले पनि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख १० गतेसम्म लक्षित सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइसक्न सरकारलाई आग्रह गरेको छ । 

विश्व बजारमा खोपको उपलब्धता सहज भइरहँदा र नेपालमा खोप आयात पर्याप्त हुँदा हँदा निर्वाचन अगाडि नै लक्षित सबै नागरिकले खोप पाउनुपर्ने सरोकारवालाहरूको जोड छ । १८ वर्षमाथिका ८१ प्रतिशत नागरिकले पूर्ण खोप लगाइसकेकाले चुनावअघि नै सबैले खोप पाउने दाबी सरकारी अधिकारीहरूको छ । ।

यस्तो छ अहिलेसम्मको खोपको तथ्यांक 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा ०७७ माघ दोस्रो सातादेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । १४ महिनाको अवधिमा ४ करोड ७८ लाख ८२ हजार ८०० डोज खोप भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको तथ्यांकमा १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४ जना नागरिक कोभिड १९ विरुद्धको खोप लगाउने सूचीमा छन् । 

तीमध्ये आजसम्म ८१.५ प्रतिशतले दुई डोज र ९३ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । १२ देखि १७ बर्षसम्मका ३४ लाख ५ हजार ४५५ जना किशोरकिशोरी खोप लगाउने सूचीमा छन् । तीमध्ये ६८ प्रतिशतले दुई डोज र ९१ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । 

हालसम्म १९ लाख १३ हजार २७२ जनाले बुस्टर डोज खोप लगाएका छन् ५ देखि ११ वर्षसम्मका ४२ लाख बालबालिका खोप लगाउने सूचीमा छन् । उनीहरुका लागि ८४ लाख डोज फाइजर खोप खरिद प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । देशभरका कोल्डचेनमा अहिले ८४ लाख डोज खोप भण्डारणमा रहेको स्वास्थ्य सेवा विभागअन्तरगत आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए ।

निर्वाचनसम्म सबैलाई खोप दिइसक्छौं  

निर्वाचन आयोगको आग्रह अनुसार निर्वाचन अगावै लक्षित नागरिकलाई खोप दिइसक्नेगरी खोपको गति अघि बढाइरहेको खोप शाखा प्रमुख सागर दाहाल बताउँछन् । “हामीले निर्वाचन अगाडि नै सबै नागरिकलाई खोप दिइसक्नेगरी काम गरिरहेका छौं । यदि, नसकिएको खण्डमा पनि निर्वाचनलाई खोपका कारण असर गर्न दिँदैनौं,” दाहाल थप्छन्, “पहिलो डोज खोपको कभरेज लक्ष्यअनुसार नै अघि बढिरहेको छ । दोस्रो डोज लिन तोकिएको समयमै नागरिक आउनेछन् । यो पनि चुनावअघि लक्षित नागरिकलाई खोप दिइसक्ने आधार हो ।”
 
५ देखि ११ वर्षका बालबालिकाई दिने खोप अझै ‘नेगोसिएसन’ प्रक्रियामा

५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको खोप आउनेबारे अझै टुंगो लागेको छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गत डिसेम्बरदेखि नै यो उमेरका बालबालिकालाई खोप छिट्टै ल्याउने बताउँदै आएका थिए । तर, सरकारले फाइजर कम्पनीसँग ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइरहेको भए पनि खोप यही मितिमा आउँछ भनेर यकिन नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

सरकारले यसअघि नै १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई दिन ६० लाख डोज फाइजर खोप खरिद गर्नेे तयारी गरेको थियो । तर, कोभ्याक्स सुविधामार्फत् ४० लाख डोज मोर्डना खोप पाउने भएपछि फाइजर खोप खरिद प्रक्रिया पछि धकेलिएको थियो । अहिले सोही ६० लाखमा थपेर ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइएको विभागका एक अधिकारीले बताए । जसअन्तरगत अहिले शुल्कमा नेगोसिएसन भइरहेको उनले बताए । 

“विभागबाट सबै प्रक्रिया पुर्याएर कागजात मन्त्रालयमा पठाइएको छ, मन्त्रिपरिषद्बाट अन्तिम निर्णय हुनुपर्ने हो,” ती अधिकारी भन्छन् । पहिले खरिद गर्ने भनिएको ६० लाख डोज खोपको ठाउँमै बालबालिकाका लागि ८४ लाख डोज फाइजर खोप ल्याउने भनिएपछि फाइजर कम्पनीसँग शुल्कबारे नेगासिएसन लम्बिएको ती अधिकारीले संकेत गरे । 

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०७:३०
प्रतिक्रिया दिनुहोस्