1647966625.jpg)
मस्को । रुसको विपक्षी दलका नेता एलेक्सेई नाभाल्नीलाई ९ वर्ष लामो कारावास सजाय सुनाइएको छ । मंगलबार अदालतले जालसाजी र अदालतको अपमान गरेको अभियोगमा उनलाई दोषी ठहराएको हो ।
उनका समर्थकहरूले अदालतले नियतवश उनलाई दोषी ठहर गरेको बताउँदै फैसला अस्वीकार गरेका छन् ।
गत वर्ष स्वदेश फर्कना साथ नाभाल्नीलाई प्रहरीले गिरफतार गरेको थियो । उनले आफूलाई क्रेमलिनले विष सेवन गराएको आरोपसमेत लगाएका थिए ।
अस्पतालमा रहँदा जमानतको शर्त तोडेको अभियोगमा यसअघि नै उनले साढे तीन वर्ष लामो कैद सजाय भुक्तान गर्दै आएका थिए । वकिलहरूले उनीमाथि हाल प्रतिबन्धित अवस्थामा रहेको उनको भ्रष्टाचारविरुद्धको प्रतिष्ठानबाट ४७ लाख अमेरिकी डलर चोरी गरेको अभियोग लगाएका थिए । न्यायधीश मार्गारिटा कोतोभाले अदालतमा सजाय सुनाउँदै गर्दा नाभाल्नीको मुद्दा हेरिरहेका कसैले पनि आश्चर्य व्यक्त गरेका छैनन् ।
किनभने पहिले नै उनको एफबीके भ्रष्टाचार विरुद्धको प्रतिष्ठानलाई अतिवादी घोषित गरिएको थियो । उनलाई विष दिने र बन्दी बनाउने काम भइसकेको थियो । अब उनले झण्डै एक दशक सार्वजनिक जीवन बाँच्न नपाउने भएका छन् ।
नाभाल्नीले आफूलाई सजाय सुनाइएकोबारे अंग्रेजी र रुसी भाषामा ट्विट गरेका छन् ।
कारागारमा थुनिएकै अवस्थामा पनि उनले रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको विरोध गरेका छन् ।
बीबीसीबाट ।